coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डुबेको उद्योग फर्काएको भन्दै उदयपुर सिमेन्टका जिएम र अध्यक्ष सम्मानित

उदयपुर – समय दिउँसोको ४ः३० हुँदै थियो, कार्यालय समय सकिदै गएकाले कर्मचारीहरू कार्यकक्षबाट बाहिँरिदै थिए, मजदुरहरु पनि ‘वर्क एरिया’ बाट हुलका हुन बाहिरिने क्रम चलिरहेको थियो। १५–२० मिनेटभित्र प्रशासनिक भवन अगाडिको फराकिलो आँगनमा कर्मचारी मजदुर बाक्लो जमघटमा परिणत भए। प्रशासनिक भवन प्रवेशद्वारअगाडि लहरै कुर्सीहरू राखिए, बीचमा एउटा टेबल पनि र टेबलमाथि कागजले छोपिएका केही सामान।

कार्यक्रमबारे थाहाँ नपाउने धेरैले लख काटे, ‘अब फेरी मजदुर आन्दोलन हुने भएछ, शान्त उद्योग फेरी आन्दोलनमय बनाउन लागेछन्, के के माग उराल्ने हुन्, जिएम र अध्यक्षको राजीनामा माग्ने होलान् ?’

गैंडा सिमेन्टको उत्पादक पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) बिगत ४ वर्षयता मजदुर आन्दोलनविहीन छ। त्यसअघि ज्यालादारीलाई स्थायी, तलबभत्ता वृद्धि, सरुवा–बढुवा, कर्मचारी व्यवस्थापन, कमिशनमा फसेको, विदा स्वीकृत नगरेको, विपक्षी दलनिकट मजदुरलाई सौताको व्यवहार गरेको आदि कारण देखाउँदै मजदुर संघ–संगठनहरु महिनौ आन्दोलित हुन्थे र बन्द हड्तालमा उत्रिन्थे। अहिले आन्दोलनको नाम सुन्न नपाएकै यतिका वर्ष भइसक्यो, सारा मजदुर उद्योग फस्टाउन मिलेर काममा लागेका बेला यो अनुमान कतिपयको विचारमा सही थियो।

तर, जब महाप्रवन्धक (जिएम) र अध्यक्षलाई सम्मान गर्न आयोजना गरिएको खुलासा जब सञ्चालकले गरे अनि सबैको अनुमान गलत सावित भयो। शुक्रबार साँझ उसीउलीको आधिकारितक ट्रेड युनियन राष्ट्रिय कारखाना श्रमिक संघ र बिभिन्न दलनिकट मजदुर संघ–संगठनको संयुक्त आयोजनामा जिएम सुरेन्द्रकुमार पौडेल र अध्यक्ष अक्रुर खड्का, सञ्चालक सदस्यलगायतलाई सम्मानार्थ कार्यक्रम आयोजना गरिएको हो।

टाट पल्टेर चल्नै नसक्ने भएपछि ४ वर्षअघि उद्योग मन्त्रालयले उसीउलीलाई नीजिकरण गर्ने निर्णय गरिसकेको थियो। भर्खरै नियुक्त भएर आएका जिएम पौडेलले उद्योगकै मजदुर संघसंगठनका नेतालाई लिएर मन्त्रालयको निर्णय खारेज गर्न लगाए, उद्योगलाई सही नेतृत्व दिए र उचित मर्मत सम्भार गरेपछि कात्तिक पहिलो सातादेखि पूर्ण क्षमतामा गैंडा सिमेन्ट उत्पादन भइरहेको छ। पौडेलको यही कदमप्रति आदरभाव व्यक्त गर्न प्रतिष्ठानस्तरका मजदुर संघ–संगठनले जिएम र अध्यक्षलगायत पदाधिकारीलाई सम्मान कार्यक्रम राखेको मजदुर नेता राधेकुमार कोईरालाले बताए।

कार्यक्रममा मजदुर संगठनका अध्यक्षले पालैपालो जिएम पौडेल र अध्यक्ष खड्कालाई खादा, माला लगाइदिए, मायाको चिनो दिँदै सम्मान गरे। उनीहरूसँगै सञ्चालक सदस्यहरू शसीकुमार राई, देवनारायण चौधरी, मोहनसिंह बस्नेत र राजेन्द्र थापालाई पनि सम्मान गरियो।  

‘लगातारको मजदुर आन्दोलन, विचौलिया र ठेकेदार, सरकारी उदासिनता र स्थानीयको अपनत्व अभावमा उद्योग धरासायी भएर चल्नै नसक्ने भएपछि नीजिकरण गर्ने निर्णय सरकारले गर्याे’ आधिकारिक ट्रेड युनियनका अध्यक्ष देबेन्द्र झाले भन,े ‘यस्तो जर्जर उद्योगले जिएम पौडेलको सही नेतृत्व पाएपछि अहिले पूर्ण क्षमता अनुसार दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुन थालेको छ।’ दिनदिनै एकअर्काबीच झगडा गर्ने मजदुर संगठनहरू एक ढिक्का भएर उद्योग फस्टाउन लागेको भन्दै झाले सबै मिलेर गर्दा उदयपुर सिमेन्ट उद्योगले अहिले राष्ट्रिय छवी कायम राख्न सफल भएको उनले बताए।

सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले सबै मजदुरहरू एकताबद्ध भएर सहयोग गरेकै कारण उद्योगले पुनर्जीवन पाएको बताए। आफू २०५४ सालअघि पनि उद्योगमा कार्यरत रहेको र त्यसबेला दैनिक मजदुरले आफू र तत्कालीन जिएमको कार्यकक्ष घेर्दै  काम गर्न नदिएको स्मरण गर्दै खड्काले मजदुर, कर्मचारी र व्यवस्थापनपक्षको सामुहिक प्रयास भए उद्योग नाफामा जाँदो रहेछ भन्ने प्रमाणित भएको बताए। मजदुर युनियनहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै पौडेलले सञ्चालक र महाप्रवन्धकलाई मजदुरले सम्मान गरेको यो घट्ना सायद नेपालकै उद्योगहरूको इतिहासमा पहिलो हुनसक्ने आँकलन गरे। जापान सरकारको सहयोगमा निर्मित उद्योगले २०४४ सालदेखि गैंडा ब्राण्डको सिमेन्ट उत्पादन थालेको हो।

प्रकाशित: ९ मंसिर २०७५ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App