खेतीयोग्य जग्गा जोखिममा

धानबाली खडेरी र बाढीकाे चपेटामा

आइतबार, ०९ मङि्सर २०७५, ०९ : १८ निर्मल घिमिरे

बर्दिया - यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ। तथ्याकंले  खेतीयोग्य जग्गाको क्षेत्रफल घट्दा धान उत्पादन ह्रास भइरहेको पुष्टि गर्छ।

१० वर्षअघि ७५ हजार हुने धानखेती यस वर्ष ४५ हजार पाँच सय हेक्टरमा रोपाई भएको पाइएको छ। यस वर्ष पनि धान उत्पादन घटेको किसानको अनुमान छ। क्षेत्रफल घटे पनि धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक कमल तामाङले बताए। ‘यस वर्ष बाढी आएन,’ उनले भने, ‘डुवानमा नपरेकाले धान उत्पादन बढ्ने हाम्रो अनुमान छ।’

कहिले धान खेत डुवानमा पर्ने समस्या त कहिले सिँचाइ नहुँदा खेत सुक्खा हुने। यो विडम्बना मुलुककै अन्न उत्पादन हुने क्षेत्र भनेर चिनिने बर्दिया जिल्लाको हो। बेमौसममा पर्ने अधिक वर्षाका कारण आउँने बाढी प्रकोपले यहाँका किसान तनावमा हुने गरेको खैरीचन्दनपुरका पूर्वगाविस अध्यक्ष   देवीप्रसाद घिमिरेले बताए।

‘सातासम्मको फरकमा असार र साउन महिनामा झरी पथ्र्र्योे,’ उनले भने, ‘यस वर्ष लामो समय खडेरी प¥यो, रोपाइका बेला बाढी आउने त्रास भयो परम्परागत खेती गर्ने किसान प्रतिकुल मौसमका कारण चपेटामा परे।’ उनका अनुसार एक दशक अघिदेखि नगदे बालीमा आत्मनिर्भर भएका किसान वैकल्पिक पेसामा संलग्न छन्। बर्सेनि धान उत्पादन ह्रास हुनुमा मौसम परिवर्तलाई उनी दोस दिन्छन्।
‘मौसममा देखिने स्थिरताले उत्साहित किसानले सयौं बिघामा खेती गर्थे,’ उनले भने ‘यतिबेला अधिक वर्षा र समयमा पानी नपर्दा नगदे बालीको उत्पादन घट्दो क्रममा छ।’

२०७१ देखि लगातार २०७४ साउन अन्तिममा कर्णाली र बबई नदीमा आएको बाढीले एक हजार बिघाभन्दा बढी खेत डुवानमा परेको प्रशासनमा तथ्याकं छ।

कृषि पेसामा आश्रित उनी मौसम प्रतिकूल नहुँदा खेतीयोग्य जग्गा वैकल्पिक काममा प्रयोग गर्न बाँधय भएका हुन्।

पानी नपरे धानको बीउ राख्न आकासतिर हेरेर बस्नुपर्छ । धेरै परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ ।  वर्षा भए गाउँका सबै घर डुवानमा पर्छन्। धानखेती मात्र होइन, बेमौसी वर्षाका कारण स्थानीयले गहुँखेती गर्दा पनि डुबानको समस्या झेल्नु परेको उनले स्मरण गरे।

किसानको  बसोबास रहेको यस क्षेत्रमा बाढीको डुबान र कटानका कारण जीवनयापन झन् कष्टकर बन्दै गएको उनले बताए । ‘पानी नपर्दा सिँचाइ गर्न बोरिङ गरेर रोपाई गर्नुपर्छ, कहिले अधिक वर्षाले धान बाली नष्ट गर्छ,’ किसान छोटलाल थारुले भने।

जिल्ला भएर बग्ने कर्णाली र बबईमा आउँने बाढीले यहाँका किसान पीडित भएको शिक्षक माधव निगमले बताए। ‘साउन अन्तिम नजिँकिदा डर लाग्छ, बर्सेनि आउँने बाढीले खेतीयोग्य जग्गा बगरमा परिणत गरिरहेको छ,’ उनले भने।

‘यहाँका एक बिघा खेतमा मनग्य धान फल्छ, यसैगरी हिउँदमा गहुँ, मसुरो, तोरी प्रशस्त उत्पादन हुन्छ,’ उनले भने, ‘प्रतिकूल मौसमले किसान समस्यामा पर्छन्।’ दुवै सिजनमा नगदेबाली हुने खेत बगरमा परिणत भइरहेकोे उनले सुनाए।

२०५८ मा पहिलो पटक मकवानपुर जातको धान राजापुर क्षेत्रबाट सुरुआत भएको हो। यस धानबाट चिउरा बन्ने हुनाले मकवानपुर धानको उच्च माग छ। तर, उर्वर भूमि हुँदाहुँदै पनि यहाँ किसान लाभान्वित हुन सेकेका छैनन्। मकवानपुर जातको धान अधिकांश किसानले लगाए पनि विस्तार गर्न नसकेको उनको भनाइ छ।

सडक सञ्जालले नजोडिनु, नदी कटान, सरकार हेर्ने विभेदकारी दृष्टिकोण कृषिमा यो क्षेत्रपछि परेको स्थानीयले औल्याउँछन्।

कृषि विकास कार्यालयका अनुसार बर्दियामा धानखेती हुन योग्य जमिन ७५ हजार हेक्टर हो। तर, ४५ हजार पाँच सय हेक्टर मात्र धानखेती भइरहेको छ। एक दशकअघिसम्म धान उत्पादन गर्ने किसान अन्य खेतीतर्फ आकर्षित भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक तामाङले बताए।

उनका अनुसार बर्खे धानमा सिँचाइ र डुवान हुँदा किसान उत्साहित हुन नसकेका हुन्। ‘डुवान र सिँचाइ नहुने समस्या किसानलाई छ,’ उनले भने, ‘डुवानमा पर्दा किरा लाग्ने समस्या उत्पादमा ह्रास आइरहेको छ, मनसुन बेलैमा सुरु नहुँदा बोरिङ लगाएर रोपाई गर्दा किसानको खर्च बढिरहेको छ ।’ बाढीकै कारण रोग भित्रिएको उनले जानकारी दिए। विकासका दृष्टिकोणले निकै पछाडि रहेको तराईको यो जिल्ला कृषिजन्य बस्तु उत्पादनका हिसाबले अब्बल मानिन्छ।

बर्सेनि बबई र कर्णाली नदीमा बाढी आउँन थालेपछि उर्वर भूमि बगरमा परिणत हुँदा पनि राज्यको विभेदकारी नीतिका कारण पछाडि परेको किसानको आरोप छ। बर्सेनि नदीमा आउँने बाढीले खेतीयोग्य जग्गा कटान गर्दा उत्पादमा ह्रास हुँदै गएको हो।

अन्नकोे भण्डार भनेर चिनिने पश्चिम र पूर्वी बेल्टका किसान कहिले बाढी र खडेरीको चपेटामा पर्ने गरेको उनले बताए। देशभरमा एकसाथ मनसुन प्रणाली सक्रिय नहुँदा खण्ड वृष्टिले बाढीको समस्या निम्त्याएको मौसम पूर्वाअनुमान शाखाका मौसमविद निमकुमार अर्यालले बताए।

‘मौसमको तौरतरिका बदलिरहेको छ,’ उनले भने, ‘कहिले पानी पर्दा जमिन चिसिन सक्दैन, लगातार पानी पर्दा बाढी आउने गर्छ।’ उनका अनुसार मनसुन प्रणाली देशभर एकसाथ सुरु हुनुपर्नेमा केही वर्ष अघिदेखि मनसुनले तौरतरिकामा बदलेको देखिन्छ।

नदी नियन्त्रणका लागि सञ्चालित आयोजना अधुरै
सरकारले चार वर्षअघि स्थापना गरेको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाले पाँच वर्षभित्र ४३ किलोमिटर पक्की तटबन्ध निर्माण गर्ने लक्ष्य लिएको छ। पाँच वर्षे आयोजनाको चार वर्ष बितिसकेको छ। तर, उक्त आयोजनाले लक्ष्य अनुसार कार्य प्रगति गर्न नसक्दा अझै राजापुर क्षेत्र सुरक्षित बन्न सकेको छैन। आयोजना कार्य प्रगति ३० प्रतिशत मात्र रेकर्डमा देखिन्छ।

यस्तै, बबई नियन्त्रणका लागि बबई सिँचाइ मूल नहर र शाखा नहर निर्माण गरेर ४० हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने उद्देश्यले २०४५ सालदेखि काम सुरु गरेको हो। यो आयोजना सञ्चालन भएको तीन दशक बितिसकेको छ। अहिलेसम्म मूल नहरको काम सम्पन्न नभएको बबई नहर जलउपभोक्ता समितिका अध्यक्ष बलिराम थारुले बताए। ‘मूल नहरको काम अझै पूरा भएको छैन,’ उनले भने, ‘नदीमा पनि कहिले बाढी आउने र किसानलाई पानी चाहिने बेला नदी सुक्खा हुने गर्छ।’  

२०४४ देखि सुरु भएको नदी कटान बढ्दो क्रममा रहेको स्थानीय बताउँछन्। कर्णाली नदी दुई भंगालामा विभाजित छ। कैलाली छुट्याउने अर्को भंगालो छ भने  बबई नदीका दुई शाखा भादा र मानखोलाले जिल्लालाई चार खण्डमा विभाजन गरेको छ। यसले बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत गरिरहेको छ।

कृषिमै भविष्य देखेका पदनाहाका रामलौटन चौधरीले नयाँ–नयाँ जातका धानको बीउ भित्र्याएको बताए। ‘सिँचाइ अभाव र डुवानको समस्या बर्सेेनि भइरहेको छ,’ उनले भने। दक्षिणतर्फ भारतले निर्माण गरेको बाँधका कारण नेपाली किसान समस्यामा पर्दै आएको उनको गुनासो छ। ‘नदीमा पानीको सतह बढ्ने बित्तिकै भारतले बाँध बन्द गर्छ, नेपालमा डुवान पर्छ,’ उनले भने, ‘अरु बेला भारतीय पक्षले नहरबाट पानी लैजान्छ, यहाँ सिँचाइ हुन सक्दैन।’

खेतीयोग्य जग्गा घट्दै
धानको भण्डारको रुपमा परिचित बर्दियामा बर्सेनि धान उत्पादन हुने जग्गा घट्दै गएको छ। मुख्य रुपमा धानखेती गरिने उर्वर भूमिमा वर्षमा तीन खेती गरिन्छ। पुरानो व्यापारिक केन्द्रको रुपमा रहेको यो जिल्ला प्रदेश ५ को उर्वर भूमिमा पर्छ। यसअघि परम्परागत धान खेतीमा आश्रित किसान पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग र सरकारले सुपर जोन घोषणा गरेसँगै नगदे बालीप्रति आकर्षित देखिएका छन्। तर, प्रतिकूल मौसमका कारण किसानमा उत्साह देखिएको छैन।

आर्थिक वर्ष २०६४/६५ सम्म बर्दियामा करिब ७५ हजार हेक्टरमा तीन लाख मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ। तर, आव २०६८/६९ मा धानखेती ४५ हजार पाँच सय हेक्टरमा झरेको छ। २०७/७२ आर्थिक वर्षसम्म ४५ हजार पाँच हेक्टरमा एक लाख ७६ हजार मेट्रिक टन धान उत्पादन भएको छ। २०७३/७४ मा ४५ हजार हेक्टरमा धान खेती गरिएको तथ्यांक छ।

माथि उल्लेखित तथ्याकंले धानखेती गर्ने क्षेत्रफल घट्दै गइरहेको पुष्टि गर्छ। प्रतिहेक्टर साढे चार टन धान उत्पादन हुने गरेको प्राविधिक सहायक तामाङले बताए। उनका अनुसार जिल्लामा बर्सेनि ७५ हजार हेक्टर धानखेती गर्न सकिने खेतीयोग्य जमिन छ। यतिबेला ४५ हजार पाँच सय  हेक्टरमा धानखेती गरिन्छ। धानको विकल्पमा माछापालन ,केरा लगायत अन्य बालीमा किसानको आकर्षण बढेको उनी तामाङको भनाइ छ।

धान भित्र्याउन मधेसका खेतालाको भर

सविता श्रेष्ठ

चितवन - ४० वर्षीय रमन मुखिया चितवन आएको महिना दिन नाघिसक्यो। उस्तै उमेरका उनको गाउँका अरु सातजना पनि उनीसँगै छन्। यो सिजनमा सजिलै काम पाइने भएकाले उनी चितवन आएका हुन्। रौतहटको शिवनगरका उनी अहिले चितवनको शिवनगरको खेतीबारीमा खटिएका छन्।

उनको टोली पश्चिम चितवन आएको ‘दश रोज’ भयो। यसअघि उनी पूर्वी चितवनमा थिए। पश्चिम चितवनको गीतानगर, शिवनगर, फुलबारी क्षेत्रका धानबारी उनको टोलीले पसिना बगाउने ठाउँ हुन्। रमन चितवन आउन थालेको दशक नाघिसक्यो। त्यसैले चितवनको गाउँघर, खेतीबारी उनलाई परिचित लाग्छन्।

‘वर्षमा दो–तीन बार आउँछ,’ उनी भन्छन्, ‘एक पटकमा पन्ध्रो दिन, महिना दिन बस्छ।’ हरेक पटक आउँदा समूहमा आउने उनी धान खेतीको कामका लागि आउने गर्छन्। धान रोप्ने, गोड्नेसँगै धान काटेर भित्र्याउने लगायत धानबालीको सबै काम टोलीले गर्ने उनले बताए। यस वर्ष पनि उनी धान रोप्न आएका थिए।

अहिले धान भित्र्याउने समयमा पनि उनी काम गर्न चितवन आइपुगे। धान काट्ने काममा खटिएका उनले हँसिया पनि आफैं ल्याएका छन्। धान काट्न प्रयोग गरिने हँसिया भारतको पञ्जावबाट ल्याएको  उनले बताए। उनको गाउँबाट धेरै समूह काम गर्न चितवन आएको उनी बताउँछन्। ‘अहिले काम गरेको सबै एउटै गाउँको छौं,’ उनी भन्छन्, ‘गाउँबाट १०–१२ टोली आउँछ, ठूलो छ गाउँ हाम्रो।’ आफ्नै गाउँघरमा काम पाउने भए पनि कमाइ राम्रो नहुने भएकाले खेतीपातीको सिजनमा चितवन आउने गरेको उनले बताए।

आइरहने ठाउँ भएकाले उनको टोलीलाई बस्नको समस्या छैन। जसको खेतबारीमा काम ग-यो उसैले खाना, खाजाको व्यवस्था गरिदिन्छन्। यस पटक धान काट्ने काम धेरै भएकाले उनी छठ मान्न घर गएनन्। कमाइ गर्ने बेला भएकाले घर नगएको उनले बताए। रौतहटबाटै आएको अर्को टोलीमा छन्, समनपुर बजारका ३८ वर्षीय वीरकिशोर राम। उनी नौ जनाको समूहमा मिसिएर यस पटक चितवन आएका छन्।

पश्चिम चितवनको रामपुर क्षेत्रमा आएर काम गर्न थालेको एक महिना पुग्न लाग्यो। उनको समुदायमा मान्ने ठूलो पर्व छठमा उनको टोली पनि घर फर्केनन्। काम पाइरहेकाले चाड मान्न नफर्किने सल्लाह समूहमा भएपछि काम मै खटिएका थिए। वीर किशोरको टिमले धान काटिदिने, सुकेपछि ओसारेर थुपारी दिने, थ्रेसर लगाउँदा घान हाल्ने, धान थाप्ने र धान भकारीमा राखिदिनेसम्मको काम गर्छन्। यसरी काम गर्न एक बिघाको १६ हजार रुपैयाँ लिने गरेको उनले बताए।

उनको टोलीले यस वर्ष एउटा घरको तीन बिघासम्मको धान बाली भित्र्याइदिएका छन्। धान काट्न र थ्रेसर लगाएर भित्र्याउन चार दिन लागेको उनले सुनाए। उनी पनि धान भित्र्याउने सिजनमा काम गर्न चितवन आउन थालेको १० वर्ष नाघिसक्यो। रोप्ने सिजनमा भने कामका लागि भारत जाने गरेका छन्। भारतको पञ्जाव, हरियाणा पुगेर धानबालीको काम गरेको उनले बताए। नेपालमा धान काट्नका लागि चितवन मात्र आउने गरेका छन्। उनी भन्छन्, ‘चितवनमा धेरै हुन्छ धान। काम पाउँछ।’

चितवनका किसान धान बाली भित्र्याउन मधेसका खेतालाको भर पर्ने गरेका छन्। समूहमा आउने रमन र वीरकिशोरका जस्ता सयौं टोलीले अहिले धान भित्र्याउन खटिएको पाइन्छ। केही टोलीले धान काटेर, झाँटेर भित्राइदिनेसम्मका काम गर्छन् भने केहीले काटेर, मेसिन लगाइदिएर भित्र्याउने गर्छन्। धानको जात अनुसार काट्न र झाट्न सजिलो र गाह्रो हुने बालीको मूल्य भने फरक फरक लिने गरेको पाइन्छ।

भरतपुर महानगरपालिका–१५ को गणेश मन्दिर टोलका महकान्त सडौलाले १० कट्ठामा रोपेको धान मधेसका खेताला लगाएर भित्र्याउन लागेका छन्। १५ वर्षदेखि धानबाली रोप्न र भित्र्याउन मधेसका खेताला लगाउन थालेको सडौला बताउँछन्। ‘रोप्ने नै यिनै हुन्, काट्ने नि यिनै हुन्,’ धान काट्दै गरेका टोलीलाई देखाउँदै उनले भने, ‘बुढो भइसक्यौं हामी सक्दैनौं, छोरा, बुहारी जागिरमा जान्छन्।’

धान रोप्नुअघि बारीमा आँठो लगाउने, बीउ काट्ने, रोप्ने, गोड्नेसँगै काटेर भित्राइदिनेसम्मका काम गर्न टोली आउने उनले बताए। काम गर्ने मान्छे नहुँदा मधेसबाट आउने टोलीलाई काममा लगाउन हानथाप नै हुने गरेको उनले सुनाए। सडौलाले पनि एक साताजति कुरेपछि धान काट्ने काम लगाउने पालो पाएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad