७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट बिजुली

रामेछाप - ६ महिनाभित्रै उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा बिजुली थपिने भएको छ। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले एकैसाथ १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती निर्माण गरिरहेको छ।

उक्त दुवै आयोजनाबाट आगामी ६ महिनाभित्र बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको हिमालय ऊर्जा विकास कम्पनीका प्रोजेक्ट मेनेजर रमाकान्त गौरोले बताए। ‘दुवै आयोजनाबाट ६ महिनाभित्र बिजुली उत्पादन गर्ने गरी आयोजना निर्माण गरिरहेका छौं,’ उनले नागरिकसँग भने, ‘अहिलेसम्म दुवै आयोजनाको काम करिब ८० प्रतिशत पूरा भएको छ।’

रामेछाप र दोलाखाको सीमाना भएर बहने खिम्ती खोलामा निर्माणधीन दुईवटा विद्युत् आयोजना एकैसाथ दु्रत गतिमा निर्माण भइरहेका छन्। दुवै आयोजना सँगसँगै अगाडि बढाएकाले आयोजनाबाट ६ महिनाभित्र व्यवसायिक रुपमा बिजुली उत्पादन हुने आयोजनाका प्रोजेक्ट मेनेजर गौरोले बताए।

नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौता अनुसार आगामी चैत भित्रमा विद्युत् उत्पादन गरिसक्नु पर्ने थियो। तर, विविध कारणले उक्त समयभन्दा दुई महिना जति ढिलो हुने भए पनि आगामी ६ महिनाभित्र बिजुली उत्पादन हुनेमा कुनै द्विविधा नभएको पोजेक्ट मेनेजर गौरोको भनाइ छ।

कम्पनीले १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत् आयोजनाका लािग २०६७ माघ ९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको थियो।  पिपिए अनुसार उक्त आयोजनाको विद्युत् खरिद दर सुक्खा याममा प्रतियुनिट सात रुपैयाँ र वर्षयाममा प्रतियुनिट चार रुपैयाँ रहेको छ।

यसैगरी, २०६९ चैत ९ मा पिपिए भएको अपर खिम्ती ७ मेगावाट जलविद्युत् आयोजना निर्माणको काम पनि दु्रत गतिमा अगाडि बढाइएको छ। पिपिए अनुसार उक्त आयोजनाको विद्युत् खरिद दर सुक्खा याममा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ रहेको छ। उक्त आयोजनाबाट पनि ६ महिनाभित्र बिजुली उत्पादन हुने छ। यी दुई आयोजनाबाट उत्पादन भएको बिजुली गर्जाङ सबस्टेसनमा जोडिनेछ।

आयोजना निर्माण गर्न तीन अर्ब १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दुवै आयोजना निर्माण गर्नका लागि नबिल बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ३५ करोड ९० लाख ऋण उपलब्ध गराएका छन्। आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत कर्जा लगानी छ।

आयोजनाले तोकिएकै समयभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम अगाडि बढाएको छ। आयोजना अन्तर्गत सिभिल निर्माण कार्य, हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन तथा सबस्टेसन लगायतको काम अन्तिम चरणमा पुगेको छ।

आइपिओमा माग गरेभन्दा बढी रकम
हिमालय ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई खुला गरेको प्राथमिक सेयर निष्कासन (आइपिओ)मा मागभन्दा बढी आवेदन परेको छ। प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयलाई नौ करोड ९० लाख रुपैयाँ (नौ लाख ९० हजार कित्ता) सेयर बिक्रीमा ल्याएकामा १२ करोड २७ लाख ५२ हजार रुपैयाँभन्दा बढीको आवेदन परेको छ।

सेयर खरिदका लागि गत बुधबारसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। उक्त अवधिसम्म १२ करोड २७ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन परेको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका प्रबन्धक प्रकाश दुलालले बताए। ‘कम्पनीले मागेको भन्दा दुई करोड ३७ लाख ५२ हजार ६ सय रुपैयाँ बढी उठेको छ,’ उनले भने, ‘स्थानीय सहभागिताले हामीलाई उत्साहित बनाएको छ।’

कम्पनीले आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयलाई कात्तिक ६ गतेदेखि सेयर बिक्री गरेको थियो। यसमा न्यूनतम ५० देखि अधिकतम चार हजार नौ सय कित्तासम्म भर्न सकिने व्यवस्था गरिएको थियो।

हिमालय ऊर्जाको गत चैत २४ गते सम्पन्न साधारण सभाले २४ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई नौ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता सेयर छुट्याइएको छ।

२०५६ मा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App