काठमाडौं - सानैमा बाबु गुमाएपछि आमा पाल्ने जिम्मा उनकै थाप्लोमा आयो। अहिलेको जस्तो उसबेला महिलाका नाममा अचल सम्पत्ति दर्ता गरे छुट हुने समय पनि थिएन। उनका आमाले बुबाको भागको अंश पाउन जुग नै पर्खनुप-यो। तर पेटको भोक र जीवनको आवश्यकताले समय कुरेन। भोक र आवश्यकताको जोहो गर्न उनले राजधानीको गलैचा कारखानामा तान तान्ने काम शुरु गरिन्। उनी अर्थात् अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य करिश्मा मानन्धर, जो गत शुक्रबार आफ्नो विगत सम्झिइरहेकी थिइन्। ‘त्यो बेला खाइपाइ वर्षभरी काम गरेको तीन सय रुपैयाँ दिन्थे,’ उनले दुःखका दिन सम्झिइन्,‘त्यसले स्कुल र घरको वर्षभरीको खर्च पु-याउनुपथ्र्यो।’
करिश्मा हाल महिला वर्गलाई राजनीतिमा सामेल गरेर समतामुलक समाज निर्माण गर्ने बाटोमा अग्रसर छिन्। मिडिया एड्भोकेसी गु्रप र सम्झौता नेपाललगायत संस्थाहरूले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम ‘म बोल्छु’ मा मानन्धरले विगतमा भोग्नुपरेका हिंसा र पीडाका कुरा खोलिन्। ‘अनुहारले राम्री थिएँ। त्यही कारण मैले जाइलाग्नेभन्दा आइलाग्ने समस्या भोगें,’ उनले भनिन्, ‘जानी नजानी सिनेमामा पाइला टेकेपछि भने केही सम्हालिएँ।’ करिश्माले कक्षा ६ मा अध्ययन गरिरहेको स्कुल छाडेर १४ वर्षमै फिल्ममा पाइला चालिन्। तर पनि उनले हरेक रात स्कुलको फ्रक लगाएको सपना देख्न छाडिनन्।
अचेल म बोल्न थालेको छु। त्यसैले आलोचना खेप्छु। उतिबेला मैले सकिन। तर अब म बोल्छु।
फिल्ममा लागेको ४ वर्षपछि उनले १८ वर्षको उमेरमा व्यापारी विनोद मानन्धरसँग लगनगाँठो कसिन्। फिल्मले उनलाई नाम र दाम दुवै दियो। करिश्माकी छोरी कविता जन्मिएपछि मात्र करिश्माकी आमाले आफ्नो अंश पाइन्।
उनले फिल्मकै कारण देशविदेश डुलेर महंगो जीवन विचरण गर्न पाइन्। तर पनि त्यो स्कुले फ्रक लगाएकी केटी उनको सपनामा आउन छाडिनन्। नेपाली फिल्ममा काम गर्दागर्दै उनी अमेरिका पुगिन। विदेशमा तल्लोस्तरका मजदुरले गर्ने खालका सबै काम गरिन्। कहिले वेटर बनिन् त कहिले स्याण्डविच बेच्ने सेल्स गर्ल। पढ्दै गरेकी छोरी बोकेर स्वदेश फर्किइन्। राजनीतिले आम मानिसलाई छोइरहेका बेला उनलाई पनि नयाँ शक्ति पार्टी लगायतका पार्टीबाट काम गर्न अफर आयो। उनले नयाँ शक्ति पार्टीको पक्ष लिइन्। त्यही क्रममा उनको जीवनमा स्कुले केटीको भूमिका फर्केर जीवन्त हुन पुग्यो। सपनामा देख्ने स्कुले केटी झैं फ्रक लगाएर कक्षा आठमा भर्ना भएर पढ्न थालिन्। ‘अचेल मैले त्यो स्कुले केटी सपनामा देख्दिन। स्कुल पढेर फर्केपछि छुट्टै आनन्द महसुस गर्छु,’ उनले भनिन्, ‘दिनभरी काम गरेर पनि निकै मिठो निन्द्रा आउँछ।’
वैवाहिक जीवनमा कम पढेकी र जगत नबुझेकी सोझी श्रीमती र बुहारी करिश्माले त्यो बेला कसैले नराम्रो गर्दा प्रतिकार गर्न नसकेको सुनाउँछिन्। करिश्मासँग हस्ताक्षर गर्दा श्रीमानले ‘राम्रोसँग गर बिगार्छौ’ भन्दा झन डरले कति पटक हस्ताक्षर बिगारेको अनुभव छ।
बारम्बार हस्ताक्षर बिग्रदा उनले बैंककै खातासमेत बन्द गरेकी थिइन्। चुनाबका बेला उनको नाम राजधानीमा नसारिदिएको भनेर आफ्नै श्रीमानविरुद्ध बोल्दा घरभित्रै आलोचित हुनुपरेको सम्झना करिश्मासँग ताजै छ। ‘अचेल म बोल्न थालेको छु। त्यसैले आलोचना खेप्छु,’ उनले उत्साहित हुँदै भनिन्, ‘उतिबेला मैले सकिन। तर अब म बोल्छु।’ करिश्माले राजनीतिमा भौतिक आरक्षण भन्दा महिलाको आत्माबाट परिवर्तन ल्याउन खाँचो रहेको औंल्याइन्।
राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले ‘म बोल्छु’ भन्ने अभियान गाउँ–गाउँका महिलामाझ लगेर हिंसा न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमकी सहजकर्ता बबिता बस्नेतले महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर ‘म बोल्छु’ कार्यक्रम गरि विविध क्षेत्रका महिलालाई आफ्नो बारेमा बोल्ने अवसर सिर्जना गरेको बताइन्। सम्झौता नेपालकी जमुना लामाले नेपाली समाजमा चर्चा पाइरहेको ‘मि टु’ अभियानमा महिलालाई साक्षात्कार गराउन ‘म बोल्छु’ अभियानले सहयोग गर्ने दाबी गरिन्। कार्यक्रममा अपांगता भएकी देवु पराजुली, प्रतिनिधिसभाकी सदस्य विमला विक, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित, ललितपुर वडा नम्बर १५ की सदस्य शशिकला सुवेदी ,फोटो पत्रकार विकास रौनियारलगायतले आफ्ना अनुभव साटेका थिए।
प्रकाशित: ९ मंसिर २०७५ ०२:१२ आइतबार