coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

युवा, सामाजिक सञ्जाल र राष्ट्रियता

विणा झा

युवा भनेको एक यस्तो शक्तिले भरिएको अवस्था हो जसले राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र नयाँ जोश जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमता राखेका हुन्छन् । कुनै पनि राष्ट्र निर्माण युवा शक्ति बिना सम्भव हुँदैन । यो एउटा सम्भावनायुक्त शक्तिको रुपमा रहेको हुन्छ जसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा राज्यको नीति तथा कार्यक्रममा भर पर्छ । इतिहासले बताउँछ विश्वको जुनसुकै राष्ट्रको आर्थिक विकासको कुरा होस् वा राजनैतिक संरचनाको परिमार्जन र परिवर्तन सबै युवाद्वारा नै गरिएका छन् ।

नेपालको सन्दर्भमा हेर्ने हो भने कहिले लाहुरे भएर त कहिले कामदारको रुपमा आफ्नो जीवनको बहुमूल्य समय अर्काको भूमिमा बिताउन बाध्य युवाहरु आफ्नो  रगत पसिना बगाएर देश र जनतालाई बचाएको यथार्थ कसैबाट लुकेको छैन । स्वभावतः अहिलेको आधुनिक युगमा अधिकतम सामाजिक सञ्जालमा बस्न मन पराउने यी युवाहरु  सामाजिक क्षेत्र र सम्बन्धको संवेदनशीलता कति महसुस गर्छन् भन्ने कुराको प्रमाण गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला स्वस्फुर्त रुपमा जात,क्षेत्र, लिंग र पेसा कुनै पनि परिधि नराखी एकअर्काको हात समाई देखाएको अदम्य साहसबाट प्रमाणित भइसकेको छ, जसको  प्रशंसा स्वयं राज्यले पनि गरेकै हो । यसबाट यो त स्पष्ट छ कि सामाजिक सञ्जाल र युवावर्ग एकदम नजिक छन् तथा तुरुन्त प्रभाव पार्न सकिने माध्यमका रुपमा सामाजिक सञ्जाललाई प्रयोग गर्न सकिन्छ र गरिएको पनि छ । विचारणीय पक्ष के छ भने युवा शक्ति त हो तर त्यसलाई सकारात्मकतातर्फ प्रयोग गर्ने कि नकारात्मक विनाशतर्फ ।

आ–आफ्ना स्वार्थवश कुनै खास समूहलाई मात्रै समेट्ने, महेन्द्रमालामा आधारित राष्ट्रियताको परिभाषाले सामाजिक सञ्जालहरुमा निकै महत्व पाएको वर्तमान अवस्थामा यसको प्रभाव निक्कै दरिलो छ । त्यसमाथि गरिएका टीकाटिप्पणी बडो अचम्म किसिमका छन् । मानौँ आ–आफ्ना राष्ट्रियता झल्काउने माध्यम नै शब्दका प्रहारले लाञ्छित गर्नु हो । यहाँ भेटिने विचारहरुमा क्षणिक आवेगमा व्यक्त रिस, प्रेम र घृणा स्पष्ट भेटिन्छन् । जति सक्यो भारतको विरोध ग¥यो अनि मधेसीलाई बिहारीका रुपमा अपव्याख्या ग¥यो त्यति धेरै आफू राष्ट्रिय भएको बुझाई एकथरिमाझ पाइन्छ भने अर्काथरिले आफूलाई राज्यले कहिले पनि आफ्नोपन महसुस नगराएको र आफूलाई राष्ट्रियताको परिभाषाभित्र अटाउन नदिएको असन्तुष्टि व्याप्त पाइन्छ । हुन त यस्ता विचारहरु लेख्नुपूर्व   इतिहासको गहन अध्ययन चाहिन्छ जसले सही कुरा वास्तविकताको रुपमा बाहिर ल्याउँछ तर दुर्भाग्य, सुने र भनेका कुराहरुको आधारमा विचार निर्माण गरी प्रस्तुत गरिने अभ्यास रहेको हाम्रो समाजमा वास्तविकताको खोज नगर्ने र क्रिया प्रतिक्रिया दिनेले पनि वास्तविकताको गहिराईमा पुग्न नचाहने मनोविज्ञानले पनि धेरै हदसम्म भूमिका खेलेको पाइन्छ  ।

जसरी आगोले खाना पनि पाक्छ र डढेलो लगाउने काममा पनि आगोको प्रयोगले गर्न सकिन्छ, त्यसरी नै युवाशक्ति आफैँमा निश्चल र पवित्र भावनाले ओतप्रोत अवस्था हो जसमा सामाजिकीकरणका विभिन्न माध्यमहरु जस्तै परिवार, समाज, साथी–संगत र शिक्षाद्वारा उसका मूल्य–मान्यताहरु निर्माण गरिन्छ  । जसका आधारमा एउटा युवाले आफ्नो व्यक्तित्व निर्माण गर्दछ । यदि ऊ जन्मेको घर, हुर्केको समाज र पढेको किताबले उसको राष्ट्रियता  प्रतिको बुझाइ साँगुरो पारिन्छ भने यसले राष्ट्रिय एकतामा नकारात्मक असर पार्छ । जसले  राष्ट्रिय एकता, विविधता बोकेको सम्मान सहितको पहिचान र समावेशी संरचनालाई स्वीकार्न सक्दैन अनि सामाजिक तथा राष्ट्रिय सद्भावना खलबलिन्छ । कुनै व्यक्ति वा समूहको क्षणिक उपलब्धि, सीमित सोच, व्यक्तिगत स्वार्थले निर्देशित भई युवाशक्तिको दुरुपयोग हुनजान्छ ।
विषम परिस्थिति सामना गर्दै आफ्नो कष्टकर दैनिकीबीच पनि स्वाभिमान जोगाउन प्रयासरत नेपाली युवाले आफ्ना नेताहरुसँग पनि त्यस्तै अपेक्षा राखेका छन्। जहाँ नेपाली स्वाबलम्बी बनून् । छिमेकीलाई ठूलो स्वरमा गाली गर्नु र सम्बन्धमा तिक्तता थप्नुको सट्टा आ–आफ्ना स्वार्थ त्यागी देशलाई आत्मनिर्भर बनाउने नीतिनिर्माण तथा कार्य गरुन् भन्ने चाहना सम्पूर्ण युवाहरुको छ जुन आजको आवश्यकता पनि हो ।

विशेषतः अहिलेको देशको परिस्थितिलाई नजिकबाट नियाल्ने हो भने एकातिर देश संकटको अवस्थाबाट गुज्रँदैछ र अर्कोतिर सामाजिक सञ्जालहरुमा भाव र भाषा नमिलेका अभिव्यक्तिहरुले एकअर्कालाई लक्षित गरी व्यक्त गर्ने होडबाजी चलेको पाइन्छ । यसले आपसी सम्बन्धमा तिक्तता बढाउँदै छ भनेशब्द र सम्बन्ध बीचको मर्म नबुझी जथाभावी प्रयोग गरिँदा देशको संकट घटाउनुको सट्टा झन्झन् थपिदै गएको छ ।

देश भक्ति वा भनौँ राष्ट्रियता शब्दमा व्यक्त गरिने कुरा हो कि व्यवहारमा ? आखिर किन राष्ट्रियता प्रतिको बुझाई यति साँगुरो भएको हो? कतै बुझ्नै न चाहेका हुन् कि नबुझोस् भनेर युवाहरुलाई अल्मल्याइएको हो ? कारण जे भए पनि राष्ट्रको नेतृत्व लिन सक्ने क्षमता भएका नेपाली युवाले सर्वप्रथम त इतिहासको गहिरो अध्ययन गर्नु नै पर्छ । जसले हरेक तथ्यलाई व्यक्तिगत क्षमताद्वारा सही विश्लेषण गर्न सक्ने बनाउँछ । सधैँ शासनसत्ताद्वारा मात्रै लिखित इतिहास हेर्दा कतिपय महत्वपूर्ण पक्ष ओझेलमा पारिएको र एकात्मक रुपले वर्णन गरीवास्तविकता लुकाइएको पनि हुन सक्छ ।

युवाहरुले अर्काको बहकाउमा नलागी आफैँले व्यक्तिगत रुपमा विश्लेशण गर्न जरुरी छ । सम्पूर्ण नेपाली युवा हातमा हात समाई, इतिहासमा कसैद्वारा कुनै पक्षलाई गरिएको अन्याय, विभेद, शक्ति र अवसरको असमान वितरणजस्ता सामाजिक अन्यायप्रति एक स्वरमा‘हामी अन्याय गर्दैनौँ र सहदैनौँ पनि’ भनीव्यवहारमा उतार्नु जरुरी छ । सामाजिक सञ्जालहरुको प्रयोग सकारात्मकताका लागि प्रयोग गर्न जरुरी छ नकि एकअर्कालाई पीडा थप्न । त्यसैले युवाले सामाजिक सञ्जालहरुमा वास्तविकता पोख्न जरुरी छ । जसले अन्ध राष्ट्रवाद  होइन वास्तविक राष्ट्रियता हरेक नेपालीको मुटुमा जन्माउन सकोस् ।
 

प्रकाशित: १० आश्विन २०७३ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App