coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजमार्गमा रोकिने गाडीबाट पार्किङ शुल्क असुल्दै उपमहानगरपालिका

पार्किङ शुल्क दिएपछि पथलैया क्षेत्रको राजमार्गमै पार्किङ गरी राखिएका मालबाहक गाडीहरू। तस्बिरः नागरिक

बारा - जितपुरसिमरा उपमहानगपालिकाले वीरगन्ज–पथलैया व्यापारिक मार्गमा नियमविपरीत जबर्जस्ती पार्किङ शुल्क असुल्ने गरेको पाइएको छ। स्थानीय तहले निर्माण गरेको पार्किङ स्थलमा सवारीसाधन राख्दा मात्र शुल्क लिन पाउने नियम छ। तर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जितपुसरसिमरा उपमहानगरपालिकाले साविक त्रिभुवन राजपथमा रोकिने दुई पांग्रेदेखि ठूला सवारीसाधनहरूबाट पार्किङ शुल्क उठाउने गरेको हो। वीरगन्ज–पथलैया सडकखण्डमा पर्ने सिमरा, पथलैया र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैयामा काम विशेषले रोकिने गाडीबाट उक्त उपमहानगरपालिकाले ठेकेदार खटाएर पार्किङ शुल्क असुल्ने गरेको हो।

चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि लागू हुने गरी प्रतिस्पर्धाका आधारमा पथलैया निवासी अरूणराज कंसकारलाई राजमार्गबाट पार्किङ शुल्क असुल्न लगभग १० लाख रुपैयाँमा ठेक्का दिएको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ।

स्थानीय तहले निर्माण गरेको पार्किङ स्थलमा सवारीसाधन राख्दा मात्र शुल्क लिन पाउने नियम छ। तर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जितपुसरसिमरा उपमहानगरपालिकाले वीरगन्ज–पथलैया व्यापारिक मार्गमा रोकिने दुई पांग्रेदेखि ठूला सवारीसाधनहरूबाट पार्किङ शुल्क उठाउने गरेको हो।

उपमहानगरपालिका प्रमुख कृष्ण पौडेलले सिमरा र पथलैयामा रोकिने गाडीहरूबाट पार्किङ शुल्क उठाउन ठेक्का दिएको बताए। ‘ठेकेदारले पार्किङ शुल्क उठाउने सिमरा र पथलैयामा उपमहानगरपालिकाले पार्किङ स्थल बनाएको छैन,’ उनले भने ‘यस क्षेत्रमा धेरै गाडीहरूको चाप रहने भएकाले पार्किङ स्थल बनाउने योजनामा छाैं।’ पार्किङ स्थल निर्माण नभएसम्म सडकमै रोकिने गाडीबाट पार्किङ शुल्न उठाउने नीति उपमहानगरपालिकाले लिएको प्रमुख पौडेलले बताए।

राजमार्गमा २४ घण्टा सवारीसाधन पार्किङ गरेबापत ठेकेदारले रसिद दिएरै प्रतिसवारी २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म शुल्क उठाउने गरेको छ। दैनिक हजारभन्दा बढी संख्यामा बस, ट्रक, ट्याङकर लगायतका सवारीसाधन राजमार्गमै पार्किङ गर्ने गरिएको र त्यसबाट २० हजार रुपैयाँभन्दा बढी शुल्क संकलन हुने गरेको पथलैयामा रोकिएको ट्रकबाट पार्किङ शुल्क उठाउँदै गरेको ठेकेदारका एक कर्मचारील बताए। ‘दिनमा १५ हजारदेखि २० हजार रुपैयाँसम्म पार्किङ शुल्क उठाउछौं,’ ती कर्मचारीले भने, ‘पथलैया र सिमरा क्षेत्रका सबै स्थानमा हामीले पार्किङ शुल्क उठाउने अधिकार उपमहानगरपालिकाबाट पाएका छौं।’

ठेकेदारले पार्किङ शुल्न असुल्ने गरेको देखेर पनि ट्राफिक प्रहरी र नेपाल प्रहरी आर्थिक लाभका लागि मौन बस्ने गरेको गाडीका चालकहरूले गुनासो गरेका छन्। ठेकेदारका कर्मचारीहरूले २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय (पथलैया) अगाडि नै रोकिने गाडीहरूबाट पनि निर्वाध रूपमा पार्किङ शुल्क उठाउने गरेका छन्। राजमार्गमा रोकिने गाडिबाट पार्किङ शुल्क उठाउने काम नियमसम्मत नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रितेन्द्र थापाले बताए। जितपुरसिमरा उपमहानगरपालिकाले के आधारमा राजमार्गबाट पार्किङ शुल्क उठाउन ठेक्का लगाएको हो त्यो कुरा बुझ्न नसकिएको उनको भनाइ छ।

होटलमा खान खान राजमार्गमा गाडी रोक्दासमेत ठेकेदारका कर्मचारीहरूले जबर्जस्ती पार्किङ शुल्क लिने गरेको सिमराको शालिमार सिमेन्ट उद्योगमा सिमेन्ट लिन विराटनगरबाट आएको ना ६ ख २२६० नम्बरको ट्रकका चालक शम्भु यादवले गुनासो गरे। पार्किङ शुल्क भन्दै जबर्जस्ती २५ रुपैयाँ लिने गरेको बारे पथलैया चोकमा भेटिने सुरक्षाकर्मीलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको चालक यादवको गुनासो छ। मालबाहक गाडीहरूबाट जथाभाबी पार्किङ शुल्क असुल्ने गरिएको भन्दै यहाँका उद्योगी व्यवसायीहरूले विरोध जनाएका छन्।

प्रकाशित: ९ मंसिर २०७५ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App