coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विस्थापित शिविरमा एकीकृत बस्ती

सेलाङ (सिन्धुपाल्चोक) - भूकम्पमा परेर चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्लेडाँडास्थित विस्थापित शिविरमा आश्रित भूकम्पपीडित एकीकृत बस्तीमा पुनःस्थापित हुने भएका छन्।

साढे तीन वर्षदेखि यहाँ विस्थापित १९ पीडितपरिवारका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो। सेलाङकै सेपगाउँबाट विस्थापित भएर यहाँ शिविर बनाइ बसेका उनीहरू अझै त्रिपाल, भकारी र स्याउलाले बनाएको अस्थायी टहरोमा बस्दै आएका छन्।

स्थानीय साझेदार जनहित ग्रामीण सेवा समितिसँगको समन्वयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग विस्थापित शिविरमै एकीकृत बस्ती बसाल्न लागिएको हो। एकीकृत बस्ती विकास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत स्वीकृत दिइसकेको छ। साझेदार संस्था जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले यसै वर्षभित्र बस्ती पीडितलाई हस्तान्तरण गर्नेगरी निर्माण प्रक्रिया थालनी भइसकेको बताए।

पीडितले घर बनाउन आवश्यक जग्गा खरिद गरेपछि बस्ती विकास थालनी गर्न लागिएको हो। प्राधिकरणले घडेरी किन्न पीडितलाई २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो। पीडितले घडेरी आफ्नो नाममा ल्याई लालपुर्जासमेत पाइसकेका छन्।

‘एक महिनाभित्रै बस्तीको शिलान्यास गर्दै छौँ,’ उनले नागरिकसँग भने। पीडितले घर बनाउन आवश्यक जग्गा खरिद गरेपछि बस्ती विकास थालनी गर्न लागिएको हो। प्राधिकरणले घडेरी किन्न पीडितलाई २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो। पीडितले घडेरी आफ्नो नाममा ल्याई लालपुर्जासमेत पाइसकेका छन्।

प्राधिकरणको नीतिभित्र रहेर अक्सफामले बस्ती विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने छ। प्राधिकरणले पीडितलाई पुनर्निर्माणमा ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ। ‘बस्ती विकास, खानेपानी र विस्थापितको जीविकोपार्जनमा एकसाथ कामअघि बढाउँदै छौँ,’ कार्यकारी अधिकृत शर्माले भने।

बस्दै आएको सेपगाउँको जमिन भूकम्पले चर्काउनुका साथै पहिरोसमेत निम्त्याएपछि असुरक्षित महसुस गर्दै पीडित २०७२ वैशाख १५ गते काफ्लेडाँडामा विस्थापित भएका थिए। प्राधिकरणको विज्ञ टोलीले सेपगाउँ जोखिममा रहेको औँल्याउँदै पीडितलाई अन्यत्र पुनःस्थापना गर्न सुझाएको थियो। विस्थापित शिविरमै पीडितका लागि बन्न लागेको यो एकीकृत बस्ती जिल्लाकै पहिलो हो।

पुनर्निर्माणलाई सघाउन विस्थापित पीडित सोबले तामाङको संयोजकत्वमा सेलाङ एकीकृत बस्ती विकास समिति गठन गरिएको छ। समितिको अगुवाइमा पीडित ढुंगा, काठपात संकलनमा जुटिसकेका छन्। पीडितले भूइँतले चारकोठे घर रोजेका छन्। त्यसैअनुसार घर र बस्तीको प्राविधिक डिजाइन भइरहेको दाता संस्था अक्सफामका इन्जिनियर विवेक घिमिरेले बताए। ‘पीडितको रोजाइअनुसार इन्टरलक इँटा प्रयोग गरी घर बनाउँदै छौँ,’ उनले भने।

प्रस्तावित बस्तीमा निर्माण सामग्री ढुवानी सहज बनाउन अहिले सडक खन्ने काम भइरहेको छ। बस्ती पर्ने जुगल गाउँपालिकाको सहयोगमा सडकको काम भइरहेको सेलाङका वडाध्यक्ष कमल थापाले बताए। एक साताभित्र सडकको काम सम्पन्न भएपछि घडेरी सम्याउन थालिने उनले जनाए। सहयोगी संस्थाले पीडितलाई इँटा बनाउने र सिकर्मी तालिम दिँदैछन्। तालिमपछि उनीहरूले गाउँमै इँटा बनाउनेछन्। इँटा बनाउने मेसिन संस्थाले उपलब्ध गराउने जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए।

हिमाली गाउँ सेलाङ भूकम्पबाट विस्थापित भएका पीडितहरूको सबैभन्दा ठूलो आश्रय शिविर हो। यहाँको बाँसखर्क, काफ्लेडाँडा र आसपासमा सुरुमा ५ सय पीडितपरिवारको शिविर थियो। पुनःस्थापनामा बेवास्था हुँदै गएपछि पीडितले शिविर छोड्दै गए। केही सुरुमा छोडेको जोखिमस्थलमै फर्के भने केहीले अन्यत्र घँडेरी किनेर पुनःस्थापित भए। एकीकृत बस्ती बसाल्न लागेका काफ्लेडाँडाका पीडितसहित बाँसखर्क क्षेत्रमा अझै बिस्थापित ६० पीडित परिवार आश्रित छन्। उनीहरू अझै अस्थायी शिविरमा कष्टकर दैनिकी चलाउँदै आएका छन्।

प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले दुईपटक यहाँका विस्थापितका शिविरमा रात बिताउने क्रममा पीडितलाई एकीकृत बस्ती बनाएर बसाल्ने प्रतिबद्धता जनाएका थिए। माओवादी नेता अग्नी सापकोटा, नायक राजेश हमाललगायत व्यक्तित्व र राष्ट्रिय÷अन्तर्राष्ट्रिय थुप्रै समाचार संस्थाका सञ्चारकर्मीको टोलीले धेरै रात पीडितसँगै बिताएर उनीहरुको समस्या उजागर गरेका थिए। ‘धेरै दुःख भोगेपछि प्राधिकरणले बल्ल विस्थापितको आवाज सुन्योे,’ स्थानीय बस्ती विकास समितिका संयोग बनेका पीडित सोबलेले भने।

यहाँ अझै २५ विस्थापित परिवार पुनःस्थापित गर्न बाँकी रहेको जनहितका कार्यक्रम अधिकृत न्यौपाने बताउँछन्। उनीहरू घडेरीको खोजीमा छन्। मंसिर महिनाभित्र घडेरी प्राप्त गरे उनीहरुलाई समेत एकीकृत बस्तीमा बसाल्न अक्सफाम तयार रहेको उनले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०७५ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App