coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपामा विवाद चर्किँदै

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको नेतृत्व परिवर्तनसँगै पार्टीभित्र सिर्जना भएको विवाद चर्किँदै गएको छ। गत मंगलबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले अध्यक्षमण्डलका संयोजक परिर्वतन गर्ने निर्णय गरेको थियो। सो निर्णय सच्याउन महन्थ ठाकुर निकट नेताहरूले चेतावनी दिएका छन् भने ठाकुर निकट बाहेकका नेताहरूले कुनै पनि अवस्थामा मंगलबारको निर्णय नसच्चिने दाबी गरेका छन्।

ठाकुर निकट नेताहरूले अध्यक्षमण्डलको बैठकमा संयोजक फेर्ने प्रस्ताव राख्ने र ठाकुरविरुद्ध अभिव्यक्ति दिने अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। यादवलाई कारबाही नगरे पार्टीमा जे पनि हुनसक्ने चेतावनी उनीहरूले दिएका छन्। केही दिनअघि यादवले ठाकुरमाथि आक्रोश पोख्दै महन्थले जातीय आधारमा मनोयन गरेको र पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै विरोध गरेका थिए।

ठाकुर निकट नेता तथा पार्टीका सहमहामन्त्री डा.सुरेन्द्र झाले महन्थ ठाकुरविरूद्ध गैरराजनीतिक अभिव्यक्ति दिने महेन्द्र यादवले ठाकुरसँग माफी माग्नुपर्ने बताएका छन्। उनले भने,‘महेन्द्र यादवलाई पार्टीले कारबाही गर्नुपर्छ। कारबाही नगरे पार्टीमा जे पनि हुन सक्छ।

महेन्द्र यादवलाई कारबाहीको माग राख्दै पार्टीमा कुरा उठाउने उनले बताए। यादवलाई कारबाही नगरे पार्टी अघि बढ्न नसक्ने उनको भनाइ छ।

मंगलबारको बैठकले महन्थ ठाकुरले यसअघि गरेको मनोयनलाई खारेज गर्ने भनी गरिएको निर्णय सच्याउनुपर्ने माग पनि उनले राखे। उनले भने,‘उहाँ (ठाकुर)ले जस जसलाई मनोयन गर्नुभयो। कुनै पनि मनोयन खारेज हुँदैनन्।’ मंगलबारको अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तिथि घोषणा भइसके पछि ठाकुरले गरेका सबै मनोयन खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति ठाकुरनिकट नेताहरूले आपत्ति जनाएका छन्।

राजपाका महासचिव तथा राजेन्द्र महतो निकट नेता केशव झाले भने मगंलबार अध्यक्षमण्डलले गरेको निर्णय कुनै पनि अवस्थामा नसच्च्याइने दाबी गरे। ‘मंगलबार गरिएको निर्णय कुनै पनि अवस्थामा सच्याइँदैंन।’ झाले भने, ‘उहाँ (महन्थ ठाकुर) हाम्रो पनि नेता हुनुहुन्छ। अन्य व्यक्तिहरूले चिन्ता लिन आवश्यक छैन।’ संयोजक परिर्वतनको विषयले पार्टी नफुट्ने उनले बताए। तर यो विषयले पार्टी फुट्नसक्ने ठाकुर निकट नेताहरूले बताएका छन्।

मंगलबारको बसेको राजपाको अध्यक्षमण्डलको बैठकले बहुमतबाट संयोजक परिवर्तन गर्ने निर्णय गरेको थियो। पार्टी गठन भए यता बहुमतबाट निर्णय गरिएको यो पहिलोपटक हो। राजपाको विधानको धारा १६ को २ मा पार्टीले गर्ने हरेक निर्णय अध्यक्षमण्डलको सर्वसम्मतबाट हुनुपर्ने व्यवथा गरिएको छ। तर, मंगलबार संयोजक परिर्वतन गर्ने निर्णय बहमुतबाट गरिएको थियो। विधानको धारा १६ को ५मा भने दुइ/दुइ महिनामा चक्रीय प्रणालीबाट अध्यक्षमण्डलका सदस्यमध्येबाट संयोजक परिर्वतन हुने व्यवस्था छ। विधानमै यस्तो व्यवस्था भए पनि लामो समयदेखि संयोजक परिर्वतन गरिएको थिएन।

प्रकाशित: ९ मंसिर २०७५ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App