coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शान्तिवाटिकाबाट शुरु भयो महानगर सफाई अभियान

काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौंलाई धुलोधुवाँ मुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए। मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौं निर्माण गर्ने योजना आफूसँग भएको उनले बताएका थिए।

मेयर शाक्यलेले अघि सारेका ती योजनाले अब विस्तारै मूर्तरुप लिने संकेत देखिएको छ। काठमाडौं महानगरलाई धुलोधुवाँ मुक्त बनाउन यसअघि नै विभिन्न ठाउँमा ग्रिनरी मेण्टेन गर्ने, कतिपय ठाउँमा ‘आइल्याड’ बनाएर त्यहाँ पानी हाल्ने काम गरिरहेको महानगरपालिकाले धुलो उठाउन सहज होस भनेर पाँच वटा बु्रमर खरिद प्रक्रियालाई समेत अघि बढाएको छ। महानगर सफा गर्न नियमित रुपमा लागिरहेको महानगरपालिकाले शनिवारबाट सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ। महानगरले गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौन्दर्य प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुरुप आजबाट सडकको नालीमा बनाइएका अनावश्यक -याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेसिनको प्रयोग गरेर सफा गर्ने कामको थालनी गरेको हो।

शान्तिवाटिकाबाट शुरु गरेको यो अभियानले अब निरन्तरता पाउने मेयर शाक्यले बताए। उनले अब सामूहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर राख्ने बताए। महानगरपालिकाले फोहोर र सडकसँग सरोकार राख्ने निकायसँगै बसेर यो सरसफाई अभियानलाई अझ तिव्रता दिने र शसक्त बनाउने उनको भनाई छ। 

रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेन गोला हुँदै सिनामंगलसम्म पुगेको थियो। कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो। महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ। 

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्द्धन गर्न, अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नुपर्ने विषयमा पनि सरोकारवाला निकायहरु सहमत देखिएका छन्।  

प्रकाशित: ८ मंसिर २०७५ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App