४ वैशाख २०८१ मंगलबार
कला

फेरिदो धरानमा नेपथ्य साँझ

धरान - स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोस्राे कन्सर्ट सम्पन्न गरेकाे छ। शुक्रबार साँझ नेपथ्यले कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरानमा अाफ्नाे प्रस्तुती दिएकाे हाे। धरान स्थित रंगशाला परिसरमा झण्डै चार हजार दर्शकको उपस्थितीमा शो सम्पन्न भएको नेपथ्यले जानकारी दिएकाे छ।

‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ।’

‘हामीले मुलुकको असाध्यै जटिल अवस्था पार गरेका छौं,’ अघिल्लो पटक द्वन्द्वकै बेला ‘सुन्दर, शान्त, नेपाल’ कार्यक्रम अन्तर्गत धरानमा गाउँदाको क्षण सम्झँदै अमृतले भने, ‘अब मुलुकको मुहार फेर्ने बेला भएको छ।’
धरानमा कन्सर्टको आयोजना विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसी कफी आवर’ सँग मिलेर गरेको हो। प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’ बाट निरन्तरता दिइएको थियो। त्यसपछि मञ्चमा उक्लेको नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’बाट सुरुवात गरेको थियाे। नेपथ्यले कन्सर्टमा नयाँ तथा पुराना गीत प्रस्तुत गरेकाे थियाे। धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।

प्रकाशित: ८ मंसिर २०७५ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App