७ वैशाख २०८१ शुक्रबार
समाज

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

फाइल तस्बिर

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) काे ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको महासभामा सहभागी भई स्वदेश फर्किएका खनालले इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण रहेको बताए।

वर्तमान विश्वको ५५ प्रतिशत भन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट भएको कारण विश्वभरका अपराधीहरूले पैसा कमाउने माध्यमको रूपमा इन्टरनेट सूचना प्रयोग गरिरहेको सन्दर्भमा महासभामा नेशनल सेन्ट्रल व्युरो (एनसीबी) को क्षमता अभिवृद्धि, सबलीकरण र सदस्य राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै अपराध नियन्त्रण गरी दिगो शान्तिपूर्ण समाज निर्माणका लागि हरेक सदस्य राष्ट्रबाट सहयोग आदान प्रदान गरिने सहमति भएको खनालले जानकारी दिए।

उक्त महासभामा अपराध नियन्त्रणका क्षेत्रमा विद्यमान ऐन कानुनको अधीनमा रहेर सूचना तथा द्विपक्षीय र बहुपक्षीय सहयोगको आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त भएको प्रहरी महानिरीक्षक खनालले बताए। अपराधको क्षेत्रमा पछिल्लो समयमा देखा परेको साइबर सुरक्षा, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागु औषध ओसारपसार तथा कुनै पनि प्रकारका अवैध कारोबार नियन्त्रणका लागि इन्टरपोल सदस्य राष्ट्रमा एक विशेष समूह गठन गर्ने र यसले यी विविध विषयमा अध्ययन गरी सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने गरी काम गर्ने निर्णय भएको खनालले जानकारी दिए।

सूचना युगको प्रहरी कार्य (Policing in the information age) भन्ने मूल नाराका साथ सुरू भएको महासभाले  ग्लोबल पुलिसिङको रुपमा भिजन २०२० पारित गरेको र त्यसअनुरुप इन्टरपोल सदस्य राष्ट्रमा आउन सक्ने खतरा र चुनौतिका विषयमा विश्लेषण भएको तथा इन्टरपोललाई विकेन्द्रीकरण गर्ने र विभिन्न क्षेत्रमा ब्युरोहरु स्थापना गर्दै लैजाने लक्ष्य अनुरुप क्यारेबियन मुलुकहरुको लागि ब्यूरो स्थापना गर्ने निर्णय समेत भएको छ। महासभाले अध्यक्षमा दक्षिण कोरियाका किम जोन याङलाई आगामी २ वर्षका लागि मनोनयन गरेको छ ।

प्रकाशित: ८ मंसिर २०७५ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App