७ वैशाख २०८१ शुक्रबार
समाज

टहरोमा भविष्य खोज्दै विद्यार्थी

नुवाकोट- शुक्रबारको दिन। त्यस्तै दिनको पौने एक बजेको समय। साथीसाथी मिलेर घर जाने समय पर्खदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका –९ नलगाउँमा रहेको शिलासिता आधरभूत विद्यालयका विद्यार्थीहरु। भूकम्प गएको लामो समय भयो तर बन्न सकेको छैन विद्यालय भवन। पाँच कक्षासम्म पढाई हुँदै आएको विद्यालयमा भवन नहुँदा टहरोमा बसेर पढ्न बाध्य छन् विद्यार्थीहरु।

टहरामा नै बसेर घामको रापमा रापिदै पढेको र बढ्दै गरेको चिसोले सताउन थालिसकेको कक्षा ५ की सजना लामाले बताइन्।  “घाम लाग्दा पोल्छ, पानी पर्दा भिज्छ। पल्लो कक्षामा पढाएको पनि सबै सुनिन्छ केही बुझिदैन,” लामाले भनिन्, “पहिलेको जस्तै कक्षामा पढ्न मन छ। तर भूकम्पले भत्कायो। नयाँ बनेको छैन।”

विसं २०५१ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ५९ जना विद्यार्थीहरु अध्ययनरत छन्। भूकम्प जानु अघि २ वटा भवनमा ६ वटा कोठाबाट विद्यालय सञ्चालन हुँदै आएको थियो। तर अहिले विद्यालयको भवन समयमा नै पूननिर्माण नहुदा जस्ताले बारेर कक्षा विभाजन गरिएको टहरामा पढेर विद्यार्थीहरु भविष्य खाजिरहेका छन्।

विद्यालयको भवन नभएकै कारण मन नलगाई नलगाई पढ्न आउने गरेकी छिन् कक्षा ५ की मनिषा नेपाली। “भूकम्प गए देखि यहि टहरोमा पढिरहेका छौँ। सरहरुलाई यस्तो ठाउँमा बसेर नपढ्ने भन्छौँ तर उहाँहरुले बन्दै छ त भवन भन्नु हुन्छ। कहिल्यै बनिसक्दैन,”  नेपालीले भनिन्, “दाई दिदीहरु पढ्ने विद्यालय त नयाँ बनिसक्यो। मलाई पनि त्यहि जान मन लाग्छ। यो स्कुल त आउनै मन लाग्दैन।”

टहरोमा बसेर पढ्न विद्यार्थीलाई मात्र होइन पढाउन शिक्षकलाई पनि सकस छ। एउटै टहरालाई भागभाग लगाएर कक्षा सञ्चालन गर्दा बहुकक्षा जस्तै भएको छ। वल्लोपल्लो कोठाको आवाजले विद्यार्थीलाई बुझाउन गाह्रो हुने गरेको प्रधानाध्यापक दिलमानसिंह लामाले बताए। “बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा दिने भन्ने विषयमा जानकार भए पनि भवनको अभावले सकिरहेको छैन। एउटा विषय बुझाउन पनि मुस्किल पर्छ। टहरोको कारण विद्यार्थीहरुको ध्यान बाहिर केन्द्रित भइरहेको हो कि भन्ने भान हुन्छ,” लामाले भने, “उनीहरुको भविष्य बनाउने जिम्मा हाम्रो हो। सक्दो कोसिस गरिरहेका छौँ।” भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गर्न जिल्ला आयोजना कार्यान्वयन इकाईले ५९ लाख २३ हजार रुपैयाँ उपलव्ध गराएको थियो। भवन निर्माण कार्य अघि बढाउन ७३ साल चैत्र २७ गते ठेकेदार पक्षसँग सम्झौता भए पनि अहिले सम्म पूरा हुन नसकेको प्रधानाध्यापक लामाले बताए। “भवन निर्माण कार्यलाई अघि बढाउन सम्झौता भए अनुसार काम थालियो तर निर्माण सामाग्रीको अभाव र कामदारको कारण सम्पन्न हुन सकेन,” उनले भने, “रोकिएको काम अब छिट्टै सुरु गर्नेछौँ।”

आर्थिक वर्ष २०७४/७५ मा विद्यालय सम्पन्न गर्ने गरी सम्झौता भए पनि यस विद्यालयले ३० प्रतिशत मात्र काम गरेको पाइन्छ। तोकिएको समयमा काम नसकाउने विद्यालयहरुलाई विशेष निगरानीमा राखेर अघि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख वीरेन्द्रजंग थापाले बताए। “मौसमले साथ दिए अनुसार काम गर्नुपर्ने बाध्यता रहेको छ।  जनशक्ति र निर्माण सामग्रीको अभावले काम गर्न पाएनौँ भन्ने गुनासो आइरहेको छ । हामीले त्यस्ता विद्यालयहरुको स्थलगत अनुगमन गर्दै आइरहेका छौँ,” थापाले भने, “विद्यार्थीलाई कसरी टहराबाट हटाएर भवनमा राख्ने भन्ने कुरामा हामी गम्भिर भएर लागेका छौँ । विद्यालय निर्माण समितिहरुसँग छलफल गरिरहेका छौँ।” 

प्रकाशित: ८ मंसिर २०७५ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App