७ वैशाख २०८१ शुक्रबार
अन्य

डा.यादवप्रसाद पन्त : सफल अर्थशास्त्री

नेपालको योजनाकार र अर्थशास्त्रीहरूमध्ये स्व.यादवप्रसाद पन्त स्मरणीय छन्। उनले बनारस हिन्दू विश्व विद्यालयबाट सन् १९५२ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए। त्यसलगत्तै केही समय उनले त्रिचन्द्र कलेजमा अर्थशास्त्र पढाए। त्यसपछि उनले नेपाल सरकारको अर्थ सल्लाहकार र अर्थ सचिवको जिम्मेवारी पनि सम्हालेका थिए। उनले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

उनले २०१५–२०२६ सालसम्म गर्भनरका रूपमा काम गरेका थिए। त्यसपछि उनी जापानको राजदूत नियुक्त भएका थिए। त्यतिबेला उनको पहलमा नेपालले आर्थिक सहयोग पाएको थियो।

त्यसपछि उनले अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरियाको राजदूतको जिम्मेवारी पाएका थिए। उनले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएका थिए।

उनी सामान्य अर्थशास्त्री मात्र नभएर सफल कूटनीतिज्ञका रूपमा आफूलाई उभ्याएका थिए। उनी मिलनसार थिए। उनमा देशप्रेमको भावना पनि थियो। त्यसकारण उनलाई नेपालीले बिर्सन सकेका छैनन्।

उनी सफल कर्मचारी, प्रस्तोता, लेखक र राजनीतिक मानसिकताबाट अभिप्रेरित राष्ट्रवादी व्यक्तित्वको रूपमा मानिनु हुन्यो। उनी मन्त्रीसमेत भएका थिए। मन्त्रीमा नियुक्त भए पनि उनी राजनीतिक गुट–उपगुटमा कहिल्यै लागेनन्। नेपालको अर्थ व्यवस्थालाई राम्रो बनाउन सदा तल्लीन रहे।

उनलाई नेपाली समाजमा एक अमर व्यक्तित्वको रूपमा स्मरण गरिन्छ। २०४८ सालपछि भ्रष्ट सत्तासीनहरूबाट ब्रम्हलुट मच्चाएको र देशका उद्योग–धन्दा बिक्री गरेर राष्ट्रिय अर्थतन्त्रको अधोगति हुन थालेपछि उनी चिन्तित थिए। मसँगको भेटमा उनले यस्तै चिन्ता प्रकट गर्थे। राजनीतिलाई नै भारतीय दाउमा पारेर देशको अर्थतन्त्र समाप्त हुन लागेकोमा उनको चिन्ता थियो।

म र उनी २०३६ वैशाख १ गते राष्ट्रिय पञ्चायतमा राजाबाट मनोनित भएका थियौं। त्यतिबेला सँगै रहेकाले उनको मिलनसार स्वभावसँगै परिचित हुने मौका पाएँ। त्यसपछि हामी दुईबीच सौहार्दता बढेको थियो। म गाउँको वातावरणमा जन्मेहुर्केको, त्यसकारण गाउँको विकास कसरी गर्नेबारे मेरा विचारसँग डा. पन्त र दुर्गेशमानजी साहै्र प्रभावित भएको पाएँ।

पछि राष्ट्रिय विकास परिषद्को बैठकमा सभासद्को हैसियतले बोलेपछि दुवैले मलाई स्यावासी दिए। पन्त प्रयोगवादी सिद्धहस्त लेखक पनि थिए। उनका खोजपूर्ण अनुसन्धानात्मक विचार प्रशस्त पुस्तकहरु प्रकाशित छन्।

मैले उनको ‘रुलर प्रब्लम एन्ड रुलर डेभलपमेन्ट’ पुस्तक २०३७ सालमा पढ्ने मौका पाएको थिएँ। यसमा ग्रामीण तथा पिछडिएको क्षेत्रको विकास गरेर मात्र नेपाल समृद्ध हुने कुरा उल्लेख गरिएको थियो। त्यो पुस्तकबाट मैले अनुसन्धान र नेपालको वास्तविकताबारे बुझेँ।

मैले सदन र बाहिरी क्षेत्रमा जे जति बोले, लेखें कहिले अन्योलमा परिनँ। जे छ, जस्तो देखिन्छ त्यस्तै लेखेँ। तत्कालीन राजा महेन्द्रले पनि मलाई मनपराएको बुझेको थिएँ। उनमा इमान्दार मान्छे चिन्न सक्ने क्षमता थियो।

पन्तलाई पनि तत्कालीन राजा महेन्द्रले ‘धेरै राम्रो’ अर्थशास्त्रीको रूपमा चिन्थे। पन्तजी तत्कालीन राजा महेन्द्रको व्यक्तित्वसँग साह्रै प्रभावित थिए।

डा. पन्त राष्ट्र निर्माणमा अत्यन्त व्यवहारिक थिए। उनी आलोचनालाई सुझावका रूपमा ग्रहण गरी कार्यान्वयन गर्ने वचन दिन्थे।

उनले ५० वर्षसम्म राष्ट्र सेवा गर्ने मौका पाए। त्यतिबेला उनलाई कुनै तह, व्यक्ति र संस्थाले औला ठड्याएनन्। उनी नेपालमा सफल अर्थशास्त्रीको रूपमा चिनिएका थिए।

नेपालका स्रोतसाधनलाई कसरी सदुपयोग गर्नेबारे उनी चिन्तित हुने गर्थे। उनले विद्यावारिधिपछि नेपालको ग्रामीण विकास र आर्थिक पुनर्जागरणबारे पुस्तकहरू लेखेर नेपाली समाजलाई जागरुक गराउन प्रयत्नशील रहे।

तर, २०४८ सालदेखि नैं नेपालमा कतिपय सत्तासीनको कारणले नेपालको अर्थव्यवस्था ओरालो लाग्यो। नेपालमा कतिपय मान्छेहरूले कुनै पदको गन्ध पाउनसाथ छेपाराले रंग फेरेजस्तो पहिलेका सबै कुरा बिर्सेर जुगा जस्तो टाँसिने प्रवृति छ। वौद्धिक समुदायको खराव प्रवृत्तिले नेपालको राजनीति नै दूषित भएको छ। कथित नागरिक समाज र मानव अधिकारको हैसियत बोकेकाहरू पनि त्यस्तै छन्। यो दुःखको कुरा हो। नेपालका धेरै बुद्धिजीवीहरूमध्ये नेपालको निजामती सेवा, संस्थानहरू, सैनिक र प्रहरी सेवामा आवद्ध छन्। यो शक्ति राष्ट्रको ठूलो सम्पत्ति हो। तर, यसलाई राज्यले संचालन गर्न सकेको छैन। सम्पूर्ण कर्मचारीतन्त्रलाई राजनीतिमा मुछेर देशलाई नै धराशाही बनाइँदैछ। स्थिति यति नाजुक छ कि नेपालको अर्थ व्यवस्थाले स्थायी स्वरूप लिन सकेको छैन।

नेपालमा विदेशी उपभोग्य वस्तु तथा सामग्रीले प्रभाव जमाएको छ। २०४६ तथा २०६३ सालको राजनीतिक परिवर्तनको नाममा नेपालका योजनाविद् तथा अर्थमन्त्रीहरू राजनीतिक भागवण्डाको आधारमा नियुक्त हुने परम्परा बसेकाले नेपालको आर्थिक विकासले गति लिन सकेको छैन। यो कुराले पन्त निकै चिन्तित थिए।

काठमाडौंमा डा. पन्त र मेरो घर नजिकै थियो। त्यसैले उनीसँग प्राय भेट भइरहन्थ्यो। उनी कहिले भावनामा बगेनन्। तर, पछि उनी बिरामी भएर उपचारका लागि बैंकक गए। २०६४ कात्तिक २८ गते उनको त्यही निधन भएको खबर सुनियो। यसले हामीलाई निकै दुःखी बनायो। पन्तजस्तो निर्विवाद व्यक्तित्व नेपालले गुमायो।

९४ औँ जन्म जयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित: ८ मंसिर २०७५ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App