४ वैशाख २०८१ मंगलबार
अन्य

जिन्दगी एक भीर

तिमीले मात्र भीरफूल देख्यौ
र त हौसियौ
देखेनौ फूलका जरा अड्याउने मेरो छाती
मेरै वक्षस्थलबाट तृप्त भएका हुन
लाखौ लाख प्राणीहरु
भीरफूल त बासनाका लागि मात्र न हो
किन खोज्छौ त्यसैमा जीवन र जगतलाई

घडीको सुइले मारेझैं फन्को
ऋतुसँगै आइपुग्छन् मेरै आँगनमा
कयौं अनुरागीहरु
म अटल भासुको भीर
मेरै मुहार सुमसुम्याएर जान्छ बतास
मेरै अस्तित्व जोगाउन
बनेका छन् मुकदर्शक
कयौ हाडे ढुंगाहरू पनि
सहिरहन्छन् पटकपटक
हूरी बतास र बर्षाको चुटाइ
बोकिरहन्छन् छातीमा कयौं पाङ्ग्राहरु
उमारी रहन्छन् झ्याउ, सुन्दर यौवनमा
तिमी, म र हामीकै संयोग न हो भीर पनि
मेरै छातीबाट उछिट्टिएका टुक्रा बटुलेर
बनायौ दिवारहरु, मठ, मन्दिर र घरहरु
हेरेनौ भीरबाट देखिने जिन्दगीका कित्ताहरु

डुलिरह्यौ फकिर बनेर
केवल यौनको बासना लपेटिएको
उही बासी प्रेमकथा बोकेर
जीवन्त बाउन सिकेनौ जीवनलाई
चन्द्र सुर्य रहेसम्म
भीरकै बाटो त हिँड्छ जिन्दगी
तिमी आफै भन के तिम्रो जिन्दगी
आफैमा एउटा सुन्दर भीर हैन र ?

प्रकाशित: ८ मंसिर २०७५ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App