८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालमा ट्रकोमा निवारण

काठमाडौं - आँखामा लाग्ने ट्रकोमा रोग निवारण गर्नेमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो राष्ट्र भएको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी नेपालमा खस्रे रोग (ट्रकोमा) निवारण भएको घोषणा गरिएको हो। घोषणा कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि उपस्थित थिए। यसअघि संगठनले नेपालले यो रोग निवारणमा आवश्यक सूचक पूरा गरिसकेको जानकारी नेपाल सरकारलाई जानकारी गराएको थियो।

आँखा आधारभूत स्वास्थ्य सेवाभित्र पर्छ। आँखामा लाग्ने ट्रकोमा रोग निवारणका सूचक पूरा गरेको हुनाले नेपाल सो रोग निवारण गर्ने मुलुक घोषणा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सन् २००२ मा नेपाल आँखाको खस्रे रोग १० प्रतिशतभन्दा बढी मानिसमा देखिएकोमा अहिले त्यो संख्या ०.५ प्रतिशतमा झरेको छ। कुनै पनि देशमा रोग निवारण भएको घोषणा गर्न त्यसका रोगीको संख्या ५ प्रतिशतभन्दा कम हुनुपर्छ।

विगतमा नेपालमा दाङ, रोल्पा, रुकुम, वैतडी, सर्लाही, रसुवा, वारा, पर्सा, चितवन, नवलपरासीलगायत २० जिल्लामा ट्रकोमाका रोगी बढी देखिएका थिए। नेपाल नेत्रज्योति संघका निर्देशक शैलेशकुमार मिश्रका अनुसार झिंगामा बस्ने किटाणुको संक्रमणबाट यो रोग सर्छ। विशेष गरी फोहोर तथा सुख्खा ठाउँमा यो रोग फैलिन्छ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले यस क्षेत्रमा नेपाल ट्रकोमा निवारण गर्ने पहिलो राष्ट्र भएको घोषणा गर्दै उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई प्लाक हस्तान्तरण गरेकी थिइन्। उनले नेपाललाई बधाईं पनि दिइन्। उनले भनिन्, ‘ट्रकोमा निवारणमा नेपाल यो क्षेत्रमा पहिलो राष्ट्र बनेको छ। पहिलो राष्ट्र भएकोमा बधाईं छ।’ ट्रकोमा निवारणमा मिलेको सफलताले सीमान्तकृत तथा विपन्न समु्दायको जनस्वास्थ्यका मुद्दा सम्बोधन भएको उनले बताइन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यो रोग निवारण अभियानमा सक्रिय व्यक्ति तथा संस्थालाई धन्यवाद दिएका थिए। उनले भने, ‘ट्रकोमा निवारणलाई नेपालको जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धिका रुपमा लिएको छु। यसमा निजी तथा सार्वजनिक साझेदारीको हात छ।’

नेपाल नेत्रज्योति संघका निर्देशक मिश्रले जनचेतना कार्यक्रम र शल्यक्रिया माध्यमबाट ट्रकोमा निवारण सम्भव भएको बताएका थिए। अमेरिकन सहयोग नियोगकी मिसन निर्देशक एमी टोहिल स्टलले ट्रकोमा निवारण गरेकोमा नेपाललाई बधाईं दिइन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले ट्रकोमालाई फेरि फैलिन नदिन सजग हुनुपर्ने औंल्याएका थिए।

कार्यक्रममा आँखा स्वास्थ्यमा योगदान पु-याएका संस्था तथा व्यक्तिलाई सम्मान गरियो। स्वास्थ्य सेवा विभागका ट्रकोमा कार्यक्रम प्रमुख रामबाबु भण्डारी, गेटा आँखा अस्पताल धनगढीका रमेश भट्ट, रुकुम जनस्वास्थ्य कार्यालयका शिवनारायण रजक, नेत्रज्योति संघका पूर्वअध्यक्ष रामप्रसाद पोख्रेल, रामप्रसाद उपाध्याय, आरटिआईका धर्मपालप्रसाद रमनलगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: ८ मंसिर २०७५ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App