coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आठौं खेलकुद प्रतियोगिता अब सर्दैन : सदस्य सचिव विष्ट

पत्रकार सम्मेलनमा जानकारी दिदै राखेप सदस्य सचिव केशव विष्ट । तस्बिर : कमल/नागरिक

नेपालगन्ज – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनैपनि हालतमा नसर्ने बताएका छन् ।

यही मंसिर २१ देखी २८ गते सम्म गर्ने भनिएको उक्त प्रतियोगिता तयारी अभावका कारण दुई महिना पछाडी धकेलिएको छ । प्रतियोगिता माघ २५ देखी फागनु ३ गते सम्पन्न गर्ने गरी तयारी तिब्र पारिएको शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले बताएका हुन् ।

‘अब कुनैपनि कारणले प्रतियोगिता सार्नुपर्ने देखिएको छैन, एकवर्ष पछाडी धकेलिनु भनेको प्रतियोगिता नहुनु सरह हो,’ उनले भने ‘हामी अब नसार्ने पक्षमा छौं ।’ उक्त प्रतियोगितालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहका बीच उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यक्रम तय गरिएको विष्टले बताए । आठौं प्रतियोगिता अहिले सम्मकै राम्रो, ब्यवस्थित र राम्रा खेलाडी समावेश हुने दाबी गरे । प्रतियोगिताका लागि ४२ करोड रुपैयाँ माग गरिएकोमा अहिलेसम्म १८ करोड रुपैयाँ राखेपको खातामा आईसकेको बताए । 

प्रतियोगितालाई लक्षित गरेर प्रदेश पाँचको बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देहीमा ७२ करोड रुपैयाँको लागतमा भौतिक संरचना निर्माण भईरहेको जानकारी दिए । अहिलेसम्म भौतिक संरचना निर्माणको काम ६० प्रतिशत सम्पन्न भईसकेको उनले बताए । अबको दुई महिनाभित्र सबै भौतिक पुर्वाधारको काम सम्पन्न हुन कसरी सम्भव छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा विष्टले भने, ‘अहिले फिल्डमा हेर्दा काम केही नभएको जस्तो देखिन्छ, तर अधिकांस काम फ्याक्ट्रीमा चलिरहेको छ, त्यहाँबाट सामान ल्याएर फिटिङ गर्ने मात्रै हो, माघको पहिलो हप्तासम्म नेपालगन्ज रंगशालाको सबै काम सम्पन्न हुन्छ ।’ चिसोका कारण पौडी प्रतियोगिता फागुनमा गर्नुपर्ने भएका कारण स्वीमिङ पुल निर्माणको काम भने बाँकी रहने बताए । ठेकेदारले राम्रो काम गरेमा पुरस्कार र काम नगरे दण्ड पाउने उनले चेतावनी दिएका छन् ।

मंसिरमा तोकिएको प्रतियोगिता नहुनुको दोष राखेपलाई मात्र दिन नहुने उनको तर्क छ । सरकारले समयमा बजेट उपलब्ध नगराउनु, ठेक्का समयमा सम्झौता नहुनु लगायत विविध कारण भएको विष्ट बताउँछन् । भौतिक पुर्वाधार निर्माणको काममा गुणस्तरलाई विशेष ध्यान दिइएको जिकिर गर्दै उनले कतिपय काममा ठेकेदारसँगको रिस फेर्न, चन्दा माग्दा नदिएको निहुँमा पनि कमसलको कुरा उचालेर स्थानीयले विवाद सिर्जना गर्ने गरेको सचिव विष्टले तर्क गरे । प्रतियोगिताका लागि यही मंसिर १४ देखी २१ गते सम्म जिल्लाका खेलाडी छनोटको काम सुरु हुने उनले बताए । यस्तै माघ १० देखी प्रदेश स्तरको खेलाडी छनोट हुने र १० दिनसम्म बन्द प्रशिक्षण दिइने विष्टले बताए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश पाँच नेपालगन्जका अनुसार प्रतियोगिताको लागि नेपालगन्जमा सुटिङ हल पहिलो तला ढलानको तयारी ७५ प्रतिशत सम्पन्न भईसकेको छ । नेपालगन्ज रंगशालामा माटो पटानको कार्य सम्पन्न भई ग्रावेलको काम सुरु भएको, जुडो हल निर्माणका लागि डिपिसी सम्मको कार्य भएको, दाङको लमहीमा क्रिकेट मैदान निर्माण गत आर्थिक वषर्वको कार्य सम्पन्न भई चालु आर्थिक वर्षको कार्य प्रारम्भ गर्ने तयारी भएको, बेलझुण्डी एथलेटिक्स रंगशालामा माटो पटानको कार्य जारी रहेको, कोहलपुर क्रिकेट रंगशालामा कम्पाउण्ड वाल सम्पन्न भई पिच निर्माण कार्य गर्न बाँकी रहेको समितिले जनाएको छ । 

यस्तै नेपालगन्ज पौडी पोखरीमा प्याराफिट र चेन्जिङ  रुमको ढलान सम्पन्न भइ फिनिसिङ कार्य अन्तिम चरणमा पुगेको, नेपालगन्ज रंगशालाको दर्शक प्याराफिट लगायत विभिन्न २६ वटा पुर्वाधार निर्माणको काम बाँके, बर्दिया, दाङ, कपिलबस्तु र रुपन्देही जिल्लामा धमाधम जारी रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश पाँचका अध्यक्ष भीम ओलीले जानकारी दिए । प्रतियोगिताको लागि बाँकेमा १७, दाङमा ७, बर्दिया र रुपन्देहीमा ४÷४ तथा कपिलबस्तु र काठमाडौंमा १÷१ वटा खेल सञ्चालन गर्ने गरी राखेपले प्रस्तावित स्थल तोकिसकेको उनले बताए।

प्रकाशित: ७ मंसिर २०७५ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App