८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा पढाइ

पहिरोले खसेका ढुंगामा विद्यार्थीलाई पढाउँदै एक शिक्षक। तस्बिरः नागरिक

बझाङ– विश्वनाथ प्रावि वष्टीका विद्यार्थी पहिरोमा बसेर पढ्न बाध्य छन्। डर र त्रासका साथ पहिरोले बगाएको ढुंगामा बसेर पढ्नुपर्ने बाध्यता आइलागेको विद्यार्थीहरू बताउँछन्।

गत भदौ १ गते राति सडक कटानको माटोसँगै माथिबाट आएको पहिरोले विद्यालय भवनसँगै फिल्डसमेत पूर्णरूपमा पुरेको छ। अहिले विद्यार्थीहरू बाहिरै पहिरोमा ज्यान जोखिममा राखेर पढ्न बाध्य छन्। ‘विद्यालय भवन र फिल्ड छैन, अरुको खेत आँगनमा कसैले बस्न दिँदैनन्,’ कक्षा ४ की छात्रा रितु रोकायाले भनिन्, ‘दैनिक बिहान १० देखि ४ बजेसम्म बसेर पढ्दा कतिखेर ढुंगा खसेर मरिन्छ भन्ने चिन्ता लाग्छ।’

यहाँ पानी नपरे पनि सुक्खा पहिरो आइरहन्छ। माथिबाट ढुंगा खस्नेबित्तिकै शिक्षकले ‘भाग’ भनेर भन्ने गरेको विद्यार्थी बताउँछन्। दिनभर भागदौडमै बित्ने गरेको विद्यार्थीको भनाइ छ। विद्यालय भवन नभएको ४ महिना हुन थाल्यो। तर, भवन बन्ने छाँटकाँट भने देखिँदैन।

अहिले दैनिक आलोपालो गरी पहिरो कति बग्छ भनेर शिक्षक र विद्यार्थी भगाउन शिक्षकहरू पाले पहरा बस्ने गर्छन् ।

‘भदौ र असोज महिनामा छाता र प्लाष्टिक ओढेर पढियो,’ अर्की छात्रा रजना रोकायाले भनिन्, ‘हिउँद लागेपछि कक्षाकोठामा बसेर पढ्न पाइन्छ भन्ने ठूलो आश थियो तर, भवन बनाउने सुरसार नै छैन।’

साउनसम्म कक्षा ४ मा १९ जना विद्यार्थी थिए। अहिले ८ जनाले विद्यालय छाडिसकेका छन्। विद्यालयको माथिपट्टि भीर र खहरे खोला भएकाले पहिरो खस्ने गरेको शिक्षक हर्कबहादुर रोकायाले बताए। उनले त्यसैमा सडक कटान गरिएकाले बर्खाको समयमा खोलामा पानी बढेसँगै विद्यालय पूरै सखाप भएको उनको भनाइ छ। ‘अहिले दैनिक आलोपालो गरी पहिरो कति बग्छ भनेर शिक्षक विद्यार्थी भगाउन पाले पहरा बस्ने गरेका छौं,’ उनले भने।

पहिले विद्यालयमा एक सय ३५ विद्यार्थी थिए। अहिले घटेर ८४ भएका छन्। पाँचजना शिक्षक छन्। विद्यालय भवन बगाएको दोस्रो दिनदेखिनै वडा कार्यालय, गाउँपालिका, शिक्षा विकास समन्वय इकाइमा धाउँदा पनि कसैबाट सहयोग नपाएको विद्यालयले जनाएको छ।

बाढीपहिरोको मारमा परेपछि गाउँको एक मात्र विद्यालयको नामोनिसान छैन। ‘गत वर्ष वडाबाट विद्यालय भवन निर्माणका लागि बजेट छुट्याउन लगाएको थिएँ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ३ का वडा सदस्य यज्ञराज रोकायाले भने, ‘तीनकोठे पक्की भवन र अन्य चार कोठा थिए, अहिले यो ठाउँमा विद्यालय थियो कि थिएन भन्ने भएको छ ।’

विद्यालय भवनको माग राख्दै वडा र गाउँपालिकामा अडान राखिए पनि केही सीप नलागेको उनी बताउँछन् । अहिले प्रदेश र केन्द्रमा विद्यालय भवन माग गर्नका लागि पूरै गाउँ र विद्यार्थी, शिक्षकको हस्ताक्षर गराएको उनको भनाइ छ।

प्रकाशित: ७ मंसिर २०७५ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App