८ वैशाख २०८१ शनिबार
राजनीति

कर तिर्न गनगन नगर्नुस् : मन्त्री पण्डित

फाइल तस्बिर

विराटनगर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर तिर्नेवेला गनगन नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार उद्योग संगठन मोरङले आयोजना गरेको ‘स्थानीय आर्थिक ऐनले पारेको प्रभाव’ विषयक छलफलमा मन्त्री पण्डितले जनताबाट कर बापतको रकम उठाउने तर सरकारलाई तिर्नेवेला गनगन  गर्ने प्रवृत्ति त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन्।

मन्त्री पण्डितले स्थानीय तहले बढी कर लियो भन्ने हल्ला फैलाउने काम पनि नगर्न आग्रह गरे। पण्डितले स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै नहुने बताए। ‘स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै हुँदैन’ उनले भने, ‘नाजायज कर लिएको भए देखाउनुस्।’

पण्डितले स्थानीय तहले लिएको करमा अन्याय परेको बुँदा लिएर आए परिमार्जन गरी समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे। ‘ कर तिर्नु पर्यो भनेर गनगन गर्नुभन्दा अन्याय कहाँ परेको छ’ उनले भने ‘त्यो बुँदा लिएर आए परिमार्जन गर्न तयार छौं।’ उनले सबै स्थानीय तहले एउटै दरमा र एउटै विषयमा कर लगाउनुपर्ने बाध्यता नरहेको बताए। जनताबाट लिएको कर बापतको पैसा सरकारलाई बुझाउनै नपरोस् भन्ने सोचले समस्या निम्त्याउने उनले चेतावनी दिए। उनले भने, ‘करदातालाई धेरै कर गरेर सरकारले कर असुली गर्नुपर्ने अवस्था नआओस्।’

संघीयता कार्यान्वयनका क्रममा केहि समस्याहरू देखिनु अस्वभाविक नभएकाले विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री पण्डितले बताए।

प्रकाशित: ७ मंसिर २०७५ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App