coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फुर्सदिला प्रदेशसभा सदस्यहरु

पोखरा - असोज ८ गतेदेखि गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन सकियो। हिउँदे अधिवेशन कहिलेदेखि हुन्छ भन्ने विषयमा प्रदेशसभा सदस्यहरु जानकार छैनन्। दुई महिनादेखि प्रदेशसभा रोकिँदा प्रदेशसभा सदस्यहरु भने फुर्सदिला बनेका छन्।

कोही औपचारिक कार्यक्रमको लागि जिल्लामा घुमिरहेका छन्, भने कोही पोखरामै छन्। पोखरामै हुने प्रदेशसभा सदस्यहरु पनि कहिलेकाहीँ हुने संसदीय समितिको बैठकमा जानुबाहेक अन्य काममा व्यस्त छैनन्।

मुस्ताङ ‘ख’ का प्रदेशसभा सदस्य ईन्द्रधारा ढाडु विष्ट भन्छन्, ‘जिल्ला गएको छैन, कहिलेकाहीँ समितिको बैठक हुन्छ, त्यहीँँ जाने गरेको छु।’ विष्ट प्रदेश मामिला समितिका सदस्य हुन्। ‘आज चाहिँ घुम्ती विद्यालय स्थापनाको कार्यक्रममा छु’ उनले भने। यतिबेला मुस्ताङका विद्यार्थी जाडो छल्न पोखरा झरेका छन्। उनीहरुको अध्ययन निरन्तर गर्न पोखरामा हरेक वर्ष घुम्ती विद्यालय राखेर अध्यापन हुँदै आएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछाने पनि यतिबेला जिल्लातिरै व्यस्त छन्। ‘महोत्सवको बेला हो, जिल्ला तिर नै व्यस्त छु।’ उनले भने। विधायन समितिका सभापति समेत रहेका लामिछाने नवलपुरका जिल्ला पार्टी सभापति समेत हुन्। उनी थप्छन्, ‘हामीले यसबीचमा विधायन समितिको ३ पटक बैठक बस्यौँ, प्रत्यक्ष जनतासँग सरोकार राख्ने सहकारी विधेयकबारे छलफल भइहाल्यो, त्यसबाहेक जिल्लामा नै छु, पार्टी सभापतिको हैसियतले कार्यकर्ता भेला सहितका पार्टीका कार्यक्रममा नै व्यस्त छु।’

प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको दैनिकी पनि उस्तै छ। ‘घरमै छु, सदन चल्ने भएर बोलाएपछि मात्र पोखरा फर्कन्छु, प्रदेश अर्थ तथा मामिला समितिको बैठक पनि छैन।’ उनले भने। नेकपाका प्रदेशसभा सदस्य श्रेष्ठ पार्टी एकताको कुनै पनि कार्य नभएको बताउँछन्। ‘एकताको लागि संयन्त्र बनेको छ, अरु केही छैन्, केन्द्रबाट नभइकन हामीले गर्ने कुरा पनि भएन।’ उनी भन्छन्, ‘तत्कालै कतै व्यस्त छैन, पार्टीको काम पनि त्यस्तै छ।’

जुनादेवी नेपाली अहिले काठमाडाैंमा छन्। अत्यावश्यक काम परेको खण्डमा बाहेक तत्कालै नफर्किने उनी बताउँछिन्। ‘दशैँसम्म जिल्लामा नै थिएँ, शुभकामना आदानप्रदान लगायतका कार्यक्रममा व्यस्त भएँ, गाउँतिर पनि गएँ, अहिले काम नै छैन्। बैठक नचल्दा फुर्सदै फुर्सद छ।’ उनी भन्छिन्, ‘यसबाहेक प्रदेशबाट छुट्टिएका योजनाको विषयमा चासो दिइरहेकी छु। समन्वय गर्ने काम भईरहेको छ। खासै काम छैन्।’

प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा भन्छन्, ‘जिल्लातिरै छु, प्रदेशसभाको बैठक नभएपछि कामविहिन भइयो, समितिको बैठक पनि राखेको छैन्।’ उनी प्रदेश मामिला समितिका सभापति समेत हुन्। २ महिनादेखि जिल्लामा रहँदा पार्टीका स्थानीय तहका सभा सम्मेलनमा समय बिताएको उनले बताए।

अनौपचारिक क्षेत्रमा अरू सत्तारूढ दलका सांसदहरूले औपचारिक छलफलका लागि पार्टी एकताको विषय भेटे पनि प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलका सांसदहरू भने अनौपचारिक विषयहरूमा छन्। केही पार्टीका काम, केही विकास गतिविधि र केही निजी कामहरूमा उनीहरूको यो समय बितेको छ।

प्रकाशित: ७ मंसिर २०७५ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App