coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाउँदै अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्स। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – राष्ट्रपति र सर्वोच्च अदालतका प्रधानन्यायाधीशबीच अमेरिकामा विरलै वादप्रतिवादका घटना हुने गरेको छ। राष्ट्रपति शक्तिशाली हुने अमेरिकी व्यवस्थामा कुनै पनि प्रधानन्यायाधीशले राष्ट्रपतिको प्रतिवाद गरेको घटना कमै मात्रामा सुन्न पाइन्छ।

तर केही दिनयता अमेरिकामा त्यस्ता अपवादका रूपमा हुने घटना देख्न पाइएको छ। गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने आप्रवासीलाई शरण नदिने भन्ने ट्रम्प नीतिलाई तत्काल कार्यान्वयन नगर्न भन्दै केही दिनअघि एक संघीय न्यायाधीशले फैसला गरेका थिए।

सो फैसलाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ती न्यायाधीशलाई ‘ओबामा पक्षधर न्यायाधीश’को संज्ञा दिएपछि देशका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले त्यसको प्रतिवाद गरेका छन्।

अमेरिकी इतिहासमै असाधारण कदम चाल्दै अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका हुन्। राष्ट्रपति ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोंकमा उनलाई ‘ओबामा पक्षधर’ को संज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेको बताइएको छ। आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरी फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए। राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो सम्भवतः पहिलो घटना भएको बिबिसीले उल्लेख गरेको छ।

प्रधानन्यायाधीश रोबर्ट्सले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको बताएका छन्। प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी ट्रम्प अभिव्यक्तिको आलोचना गरेपछि त्यसप्रति पुनः राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन्। उनले आफ्नो टिप्पणीको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्विट गरेका छन्। ट्रम्पले ‘ओबामा न्यायाधीशहरु’को दृष्टिकोण देशको सुरक्षाको नेतृत्व गर्नेहरूकोभन्दा निकै फरक भएको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकी इतिहासमा राष्ट्रपतिसँग देशको न्यायालयका कुनै पनि वरिष्ठ व्यक्तिको भनाभन हुनु अत्यन्तै अपवादका रूपमा लिइन्छ।

प्रधानन्यायाधीश रोबर्ट्सका सर्वोच्च अदालतका मित्र रुथ बादर गिन्सबर्ग भने अमेरिकी राष्ट्रपतिका खुलमखुला आलोचक हुन्। सन् २०१६ मा एक उदारवादी न्यायाधीशले ट्रम्पलाई झुटा व्यक्ति भएको बताएका थिए। यद्यपि उनले पछि गएर ट्रम्पसँग माफी मागेका थिए। आफ्ना कैयौं नीतिलाई देशको संघीय अदालतका न्यायाधीशहरुले अंकुश लगाएको भन्दै ट्रम्पले यसअघि पनि न्यायाधीशहरुको आलोचना गर्ने गरेका थिए। राष्ट्रपति ट्रम्पको विवादस्पद यात्रा प्रतिबन्धसम्बन्धी नीतिलाई उल्ट्याइदिएका एक संघीय न्यायाधीशलाई उनले सन् २०१७ मा मूर्ख विचार बोक्ने तथाकथित न्यायाधीशको संज्ञा दिएका थिए।

प्रधानन्यायाधीश किन बोले ?
तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००५ मा देशको सर्वोच्च अदालतको नेतृत्व गर्नका लागि नियुक्त गरेका प्रधानन्यायाधीश रोबर्ट्सले राष्ट्रपति ट्रम्पले एक दिनअघि दिएको अभिव्यक्तिमा बोल्न एपी समाचार एजेन्सीले गरेको आग्रहमा यस्तो प्रतिक्रिया दिएका हुन्। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई शरण पाउने अधिकारबाट बञ्चित गर्नेबारेको राष्ट्रपतीय कार्यकारी आदेशविरुद्ध फैसला गरेका अमेरिकी जिल्ला न्यायाधीश जन टिगरविरुद्ध ट्रम्पले बोलेका थिए। ‘त्यो न्यायाधीश ओबामा पक्षधर न्यायाधीश हो र अब यस्तो चल्नेवाला छैन,’ मंगलबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले बताएका थिए।
 

प्रकाशित: ७ मंसिर २०७५ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App