७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पूर्वसैनिकलाई ५१६० वर्ष जेल सजाय

ग्वाटेमाला – देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भूमिका रहेको भन्दै ग्वाटेमालाका एक पूर्वसैनिकलाई पाँच हजार एक सय ६० वर्ष जेल सजाय तोकिएको छ।

ग्वाटेमाला गृहयुद्धका बेला सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मानिसको हत्या भएको थियो। ग्वाटेमालाको क्रुर ३६ वर्षीय द्वन्द्वमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रूपमा लिइन्छ।
सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मानिसको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बिबिसीले उल्लेख गरेको छ। उनी ग्वाटेमालामा युद्धरत वामपन्थी गुरिल्लाविरुद्ध लड्ने अमेरिका प्रशिक्षित फौज ‘कैबाइलस’ का सदस्य रहेका थिए।

हत्या गरिएका प्रत्येक एकसय ७१ व्यक्तिको हत्यामा दोषी पाइएका लोपेजलाई प्रत्येकको हत्यामा ३०–३० वर्षका दरले सजाय तोकिएको हो। त्यसैगरी गाउँमा भएको हत्याकाण्डमा बाँच्न सफल एक किशोरीको पुनः हत्या भएको र त्यसमा पनि उनको भूमिका रहेको भन्दै थप ३० वर्ष सजाय तोकिएको छ। लोपेजलाई पाँच हजारभन्दा बढी वर्ष जेल सजाय तोकिए पनि ग्वाटेमालाको कानुनअनुसार कुनै व्यक्तिले जेलमा ५० वर्षभन्दा बढि बिताउन पाउँदैन।

क्रुर अपरेसन
ग्वाटेमालाको गृहयुद्धका बेला भएका मध्ये दोस एरिस हत्याकाण्ड सबैभन्दा क्रुर प्रकृतीको रहेको थियो। ग्वाटेमाला सेनाको विशेष युनिटले देशको उत्तरी क्षेत्रमा रहेको सो गाउँमा सन् १९८२ को डिसेम्बर ६ का दिन सो हत्याकाण्ड मच्चाएको थियो।

देशमा संघर्षरत वामपन्थी गुरिल्लाप्रति गाउँलेहरुले झुकाव राखेको कैबाइलसले शंका गरेको थियो। सोही क्षेत्र नजिक वामपन्थी गुरिल्लाहरुले दुई महिना पहिले सेनाको गस्तीलाई एम्बुसमा पारेका थिए। एम्बुसमा परेर २१ सैनिकको मृत्यु भएको थियो। एम्बुसमा पारेर लुटिएका सैनिकका हतियार सिंगो गाउँमा सेनाले खोजी गरे पनि केही भेट्न सकेन। आक्रोशित कैबाइलसले त्यसपछि गाउँमा बस्ने स्थानीयको हत्या गर्न सुरु गर्यो।

कैयौं दिनसम्म सरकारी सेनाले सयौं बालबालिका, महिला र पुरुषको हत्या गर्ने काम गरि रह्यो। त्यसरी हत्या गरिएकाको शव उनीहरुले इनारमा फालेका थिए। गाउँमा बाँचेका कममध्ये ओस्कार नामका एक तीन वर्षीय बालकलाई सरकारी सेनाका एक सैनिकले अपहरण गरेका थिए। सो बालकलाई सैनिकका बाबुआमाले हुर्काएका थिए। हत्याकाण्डको अनुसन्धान गरिरहेका एक अभियोजनकर्ताले ती बालकको खोजी गरेको विषय नै सन् २०१७ मा निर्मित ‘फाइन्डि ओस्कार’ नामक एक डकुमेन्ट्रीको विषय रहेको थियो।

सान्तोष लोपेजबाहेक अन्य पाँचजना पूर्वसैनिकलाई पनि दोस एरिस हत्याकाण्डमा दोषी ठहर गरिएको छ। बलिया सैनिक व्यक्तित्व एफ्रेन रियोस मोन्टको छोटो कार्यकालका बेला सो हत्याकाण्ड भएको थियो। मोन्टलाई पनि ग्वाटेमाला गृहयुद्धको समयमा एक हजार सात सयभन्दा बढी मायान्स आदीवासीको हत्या गर्न आदेश दिएको आरोप लागेको थियो। नरसंहारको मुद्दा खेपिरहेकै बेला उनको यसै वर्षको अप्रिल महिनामा ९१ वर्षको उमेरमा मृत्यु भयो। ग्वाटेमालामा सन् १९६० देखि १९६६ सम्म गृहयुद्ध भएको थियो। गृहयुद्धका समयमा दुई लाखभन्दा बढी मानिस मारिएका वा बेपत्ता भएका थिए।

प्रकाशित: ७ मंसिर २०७५ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App