coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नगरकोटमा पर्यटकीय पूर्वाधार निर्माण तथा व्यवस्थित गर्न पहल गरिरहेका छौं’

सन्तेबहादुर वाइवा/वडाध्यक्ष, चाँगुनारायण नगरपालिका वडा नं ६

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएसँगै जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने प्रयत्न गरेका छौं । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रबाट चल्दाखेरी जनताले सेवा सेवा पाउन सकेका थिएनन् । हामी आएसँगै जनमैत्री सेवा दिँदै आइरहेका छौं । जनप्रतिनिधि  भएसँगै गत आवमा ३८ योजना अघि सारेका थियौं । तीमध्ये सम्पूर्ण योजना सम्पन्न भइसकेका छन् । वडा कार्यालयले बेसी टोलदेखि जमरकट्टेल जाने एक किलोमिटर सडकमा नयाँ ट्रयाक खोलेका छौं । त्यस्तैगरी बाख्री गाउँदेखि साविकको वडा नम्बर ८ जाने सडकमा समेत नयाँ ट्रयाक खनेर सवारी चल्ने बनाएका छौं । लामाटोल–नयाँबाटो सडक र सनसाइज तौथली सडक पनि स्तरोन्नति गरेर व्यवस्थित गरेका छौं । वडामा खानेपानीको समस्या समाधान गर्नेतर्फ पहलकदमी गरिरहेका छौं।

भक्तपुर–नगरकोट जाने सडक लामो समयदेखि लथालिंग छ, कहिले निर्माण सम्पन्न होला ?
ठेकेदारको लापरवाही र ढिलासुस्तीले भक्तपुर–नगरकोट जाने सडक लामो समयदेखि लथालिंग अवस्थाबाट गुज्रिँदै छ । शैलुङ कन्स्ट्रक्सनले २०७१ सालमा ठेक्का लिएको हो । ठेक्का सम्झौता अनुसार २०७३ सालमा नै सम्पन्न गर्नुपथ्र्याे । तर, ठेकेदारको कमजोरीले सडक लथालिंग र भताभुङ अवस्थामा छ । वडा कार्यालयले समयमा सडक सम्पन्न गर्न बारम्बार अनुरोध गरिसक्यौं । तर, ठेकेदार कम्पनीको बेवास्ताले पर्यटकीय नगरी जाने सडक बेहाल छ । आगामी मंसिर १० गते भक्तपुर–नगरकोट सडक निर्माण तत्कालै गराउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौं । राजनीतिक आडकै कारणले शैलुङ कन्स्ट्रक्सनले निर्माण नगरेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनी शारदा अधिकारीको कम्पनीले ठेक्का लिएको हो । त्यसैले राजनीतिक दबाब दिएर पनि सडक निर्माण गराउन जरुरी भइसक्यो।

नगरकोटमा प्रवेश गर्ने पर्यटकबाट दोहोरो कर उठाएर आंतक फैलाउनुभएको छ रे नि ?
चाँगुनारायण नगरपालिकाले २०७४ असोजदेखि नगरकोट प्रवेश गर्ने पर्यटकसँग पर्यटक प्रवेश कर लिइरहेका थिए । यसै आर्थिक वर्षदेखि मन्डन देउपुर नगरपालिकाले पनि नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश कर संकलन गरिरहेको छ । नगरकोट चाँगुनारायण नगरपालिका र मन्डन देउपुर दुवै नगरपालिकामा पर्छन् । जसको कारणले पर्यटन यता–उता हिँड्दा समेत दोहोरो कर तिर्नुपर्ने बाध्यता छ । चाँगुनारायण नगरपालिकातर्फ साना–ठूला गरेर ३५ होटेल पर्छन् । मण्डन देउपुर नगरपालिकाअन्तर्गत एक सयभन्दा धेरै होटल पर्छन् । दुवै नगरपालिकाले पर्यटकसँग पर्यटन कर असुल्दा पर्यटक मारमा छन् । चाँगुनारायण नगरपालिकाले सार्क क्षेत्रका पर्यटकसँग दुई सय र अन्य देशकासँग तीन सय रूपैयाँ लिइरहेको छ । मन्डन देउपुर नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग दुई सय २६ र अन्य देशका पर्यटकसँग ३ सय ३९ रूपैयाँ पर्यटक कर लिइरहेको छ । दुवै नगरपालिका छुट्टाछुट्टै कर लिँदा पर्यटक मर्कामा छन् । त्यसैले दोहोरो कर हटाउनुपर्ने देखिन्छ।

नगरकोटमा सार्वजनिक शौचालयको अभाव देखिएको छ, व्यवस्थापन गर्ने कस्तो तयारी गर्नुभएको छ ?
पर्यटकीय क्षेत्र नगरकोटमा पर्याप्त सार्वजनिक शौचालय छैन । जसको कारणले पर्यटकलाई शौच गर्न समस्या छ । अहिले नगरकोट क्षेत्रमा दुई सार्वजनिक शौचालय छन् । तर, करिव आधा दर्जन जति आवश्यक देखिन्छ । वडा कार्यालयले चालू आवमा दुई सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको छ । त्यसको लागि पनि आवश्यक पर्ने बजेट विनियोजन गरिसकेका छौं।

तपाईँको वडामा अधिकांश कच्ची सडक छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
मेरो वडा पर्यटकीय क्षेत्र नगरकोटमा छ । भक्तपुरबाट नगरकोट जाने मुख्य सडक लामो समयदेखि निर्माण हुन सकेको छैन । असुरक्षित सडकले पर्यटक आवागमनमा समेत प्रभावित भएको छ । वडामा सानाठूला गरेर करिव २० किलोमिटरभन्दा धेरै कच्ची सडक छन् । कालोपत्रे गरेका सडक न्यून छन् । हालसालै एसियाली विकास बैंकले तेलकोटदेखि भट्टेडाँडासम्मको सात किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । वडा कार्यालयले पनि बजेटले भ्याएसम्म सडक कालोपत्रे तथा ढलान भइरहेको छ । वडा कार्यालयले प्रदेश तथा संघीय सरकार तथा विभिन्न दातृ निकायसँग समन्वय गरेर वडाका सडक सकभर कच्ची तथा ग्राभेलिङ सडकलाई कालोपत्रे गर्ने योजना अघि सारेका छौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा मुख्यगरी डाँडाटोल, लामाटोल, बागमारा लगायतका टोलमा खानेपानीको समस्या देखिएको छ । अन्य स्थानको तुलनामा नगरकोट बजार क्षेत्रमा खानेपानीको व्यवस्थापनमा राम्रै देखिएको छ । जनताको माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या देखिएको हो । वडा कार्यालयले गत वर्षदेखि नै लामाटोलमा खानेपानी व्यवस्थापनको लागि तीन वर्षे क्रमागत योजना अघि सारेको छ । गत वर्ष लामाटोल–बागमारा खानेपानी आयोजनाको लागि ५ लाख रूपैैयाँ बजेट छुट्टाएका थियौं । जसबाट खानेपानीको इन्टेक निर्माण गरेका छौं । चालू आवमा सोही खानेपानी आयोजनाको लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । आगामी आर्थिक वर्षमा आवश्यक बजेट छुट्टाएर खानेपानीको व्यवस्थापन गर्ने योजना रहेको छ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि करिब एक करोड रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट ३८ योजना अघि सारेका थियौं । तीमध्ये सम्पूर्ण योजना निर्माण सम्पन्न भइसकेका छन् । चालू आवमा नगरपरिषद्बाट दुई करोड पाँच लाख रूपैयाँ र प्रदेश सरकारबाट एक करोड रूपैयाँ विनियोजन भएको छ । उक्त बजेटबाट छुट्टाछुट्टै योजना तर्जुमा गरेर योजना बनाएका छौं । वडा कार्यालयले सडक  खानेपानी, पर्यटकीय क्षेत्र सुधार, कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर बजेट खर्चिने योजना बनाएका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो वडा भक्तपुरको पर्यटकीय नगरकोटमा अवस्थित छ । त्यसैले समृद्ध नगरकोट बनाउन गुरुयोजनाको तयारी गरिरहेका छौं । चालू आवमा समृद्ध नगरकोटको बृहत गुरुयोजना निर्माणको लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । वडा कार्यालयले नगरकोटमा व्यवस्थित ढंगले पर्यटकीय केन्द्र बनाउनेतर्फ अग्रसर भइरहेका छौं । थप पर्यटकीय आकर्षण थपेर पर्यटकको बसाइ लम्बाईतर्फ केन्द्रित भइरहेका छौं । नगरकोटमा पर्यटकीय पूर्वाधार (भ्यूटावर, बसपार्क, शौचालयलगायत) निर्माण तथा व्यवस्थित गर्न पहल गरिरहेका छौं । मेरो वडा नगरकोट र काभ्रेको देउपुर मन्डन नगरपालिका काभ्रेसँग जोडिएको छ । यहाँको पर्यटकीय सम्भावना प्रचुर छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउने सपना देखएको छु।
                                                   प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ७ मंसिर २०७५ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App