८ वैशाख २०८१ शनिबार
अन्य

पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

पूर्व गृहमन्त्री माधव घिमिरेकाे गाडी दुर्घटना भएकाे स्थान। तस्बिर: रासस
चितवन- आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका  पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ः३० बजेबाट पुनः खोजी कार्य थालिएको छ ।

घटनास्थलमा रहेका  प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ः३० बजेबाट पुनः खोजी कार्य थालिएको छ ।

राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।

आज बिहानबाट भने जिल्लाको रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि परिचालन गरिएको उनले बताए। गाडी खसेको ठाउँमा एउटा डुङ्गामा चढेर खोजी कार्य जारी छ भने अर्काे डुङ्गामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ । नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताए ।

दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता भएका छन्। घिमिरे उनका भाइ प्रकाश र मोहन घिमिरे बेपत्ता भएका हुन्। गाडी पनि नदीमा बेपत्ता भएको छ ।

दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको हो । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।

मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा९च १५३१ नम्बरको स्करपियो गाडी त्रिशूलीमा खसेको हो । चालक प्रहरीका हवल्दार विष्णु राई घाइते भएका छन् । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । रासस

प्रकाशित: १० आश्विन २०७३ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App