८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरको सम्भावना खोज्न सकेनौं’

अशोक शर्मा, निर्देशक

तपाईँको बुझाईमा सहर भनेको के हो?
सहर भौतिक पूर्वाधारले सम्पन्न ठाउँ हो। मानवीय आवश्यकता सहरले पूरा गरेको हुन्छ। सहरको विकास निर्माणले मौलिकता बोकेको हुन्छ।  

घुमेकामध्ये मनपर्ने सहर?
मलाई मनपर्ने सहर पोखरा हो। पोखरा ज्यादै सुन्दर छ। व्यवस्थित छ। यो सहरलाई प्रकृतिले नै सजाएको छ पोखरालाई। ताल, गुफासँगै माछापुच्छ्रे लगायत वरपर देखिने हिमालले पोखरालाई सुन्दर बनाएको छ। कामका व्यस्त भएका मानिसहरू केही दिन ‘बे्रक’ लिनको लागि पोखरा पुग्ने गरेका छन्।

उपत्यका कस्तो लाग्छ?
उपत्यका अवसर भएको ठाउँ हो। व्यवसायको लागि पनि यो सहर उर्वर ठाउँ हो। देशको सुविधायुक्त ठाउँ नै यसैलाई मानिन्छ। तर, नेपालभित्रका अलि व्यवस्थित सहरसँग तुलना गर्दा पोखरा नै सुन्दर लाग्छ। काठमाडौंको विकास निर्माणको पक्षलाई हेर्दा वितृष्णा जाग्छ। यहाँ सरकारी र राजनीतिक पक्षबाट हुनुपर्ने विकासका काम भएका छैनन्।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो?
म २०४९ सालमा काठमाडौं छिरेको थिएँ। त्यतिबेलाको काठमाडौं निकै फरक थियो। सबैतिर व्यवस्थित लाग्थ्यो। घरहरू पनि यति धेरै बनेका थिएनन्। जनसंख्या पनि ठिक्क थियो। अहिले काठमाडौं भरियो। अग्ला भवनले सहर छेक्यो।

नेपालबाहिर कुन–कुन ठाउँ घुम्नुभएको छ?
नेपाली भएको सबैजसो विदेशका सहर पुगेको छु। अमेरिका, जापान, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, जापानलगायत थुप्रै देशका सहर घुमेको छु।

कस्तो लाग्यो त्यहाँका सहर?
विदेशका सहर अति नै व्यवस्थित छन्। त्यहाँ हरियालीलाई प्राथमिकतामा राखेर काम गरिएको छ। सहर व्यवस्थित र नीतिले चलेका छन्। हाम्रो देशका सहर सहरजस्तै छैनन्। सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ। राजनीतिक परिपाटी नमिल्दा सहर बिग्रिएको छ।

विदेशका सहर कसरी विकास भएको पाउनुभयो?
विदेशका सहर कानुनमा बाँधिएका छन्। सत्ता वा नीति–निर्माण तहमा हुनेले बलियो भूमिका निभाएका छन्। राज्यले ल्याएका नीति–नियम र कानुन लागू भएको छ। कानुनको पालना नगर्नेलाई हदैसम्म कारबाही हुन्छ। त्यहाँका सहरको बनावट शैली पनि आधुनिक किसिमको छ। सहर हरियालीयुक्त छ। सहरमा बस्नेहरू चेतनशील छन्। कसैले पनि सहरमा फोहोर गर्दैनन्। भौगोलिक र प्राकृतिकरूपमा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। विकासका हिसाबले हामी पछि छौँ।

विदेशीभन्दा हामी केमा फरक रहेछौं?
प्रकृति र पुर्खाले दिएको कुरामा हामी संसारमै धनी छौं। यहाँको जस्तो मौसम, भौगोलिक अवस्था अन्तका सहरमा छैन। तर, दुःखको कुरा हामीले विकास निर्माणका काममा सन्तोषजनक लक्ष्य हासिल गर्न सकेनौं।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान्?
नेताहरूले काम गरेनन्। सहरवासीमा जनचेतना भएन। २०४६ सालदेखि अहिलेसम्मलाई हेर्दा खाली राजनीतिक परिवर्तनबाहेक अरु केही भएन। हामी राजनीतिमा मात्रै अड्कियौं। यहाँका नेतामा सहरको विकासमा दूरदृष्टि राख्ने क्षमता भएन। सबैले आफ्नो दाउपेचमै काम गरे। सहरको विकास गर्ने अभिभारा बोकेका नेता दुई नम्बरी काममा मात्रै लागे। नेता र सरकारी निकायका उच्च कर्मचारीले आफूलाई फाइदा हुने काममा मात्रै हात हाले। कसैले पनि सहरप्रति जिम्मेवार र जवाफदेही भएर काम गरेनन्।

काठमाडौंको राम्रो लाग्ने पक्ष?
यहाँको मौसम अमूल्य छ। संसारमा कहीँ पनि छैन यस्तो हावापानी।  विदेशीहरू पनि नेपालको हावापानी, वातावरण एकदमै सुन्दर मान्छन्। पशुपति र स्वयम्भू मलाई मनपर्छ उपत्यकामा।

यहाँको नराम्रो पक्ष?
प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकदेखि यहाँ बस्ने धेरैजसो आजित छन्। यहाँ योजनावद्ध विकासका काम भएनन्। सरकारले योजनाबद्ध ढंगले काम नगरेकै कारण राजधानी भद्रगोल बनेको हो।

सहरवासीका बानी कस्तो लाग्छ?
मानिसले ठाउँलाई दुई किसिमबाट लिने गर्छन्। एउटा जन्मथलो र अर्को कर्मथलो। यी दुवैको माया उत्तिकै हुनुपर्छ। सहरमा हरेक कुरामा हरेक नागरिक सचेत हुनुपर्छ। फोहर फाल्ने कुरामा सचेत भइयो भनेमात्रै काठमाडौं अलि राम्रो बन्न सक्छ।

तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ?
मलाई अग्ला भवन भएको सहर भवन मन पर्दैन मलाई। हरियाली र व्यवस्थित सहरको परिकल्पना गर्छु मैले। त्यस्तै, सहर भनेको समान हक–अधिकार भएको सुविधासम्पन्न ठाउँ हो। सहरको इलाका सुरक्षित हुन्छ। सहरले आफ्नो मौलिकता बोकेको हुन्छ। हरेक ठाउँ व्यवस्थित हुन्छन्। फराकिला सडक, एकैनासे घर, सबैतिर हरियाली सहरको स्वरूप हो।

हाम्रा सहर पछि पर्नुको कारण के लाग्छ?
मानिसको मेहनतले विश्वका धेरै सहर हराभरा भएका छन्। मरुभूमिमा माटो बोकेर फूल रोपेका छन्। हामीलाई त प्रकृतिले अथाह सम्भावना दिएको छ। यहाँको जस्तो भू–भाग अन्त छैन। तर, हामीले सहरी विकासको क्षेत्रमा गरेको काम अति नै निम्छरो भयो। यहाँ अझै पनि कानुनको अभाव छ। भएका कानुन व्यावहारिक छैनन्। भएका नीति–नियम पालना गर्ने र विकासका कामलाई चुस्तता दिने हो भने हाम्रा सहर धेरै व्यवस्थित बन्न सक्छन्।

हाम्रा सहर व्यवस्थित बनाउन सरकारले कसरी काम गर्नुपर्ला?
सरकारले सहरका सम्भावना खोज्नुपर्छ। विकास निर्माणका कामलाई चुस्तता दिनुपर्छ। सरकारले काम गर्ने हो र बनाउन चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ।

पछिल्लो समय घुमेको सहर?
पछिल्लो समय युएस पुगेको थिएँ। त्यहाँका सहर संसारमै नमूना छन्।

मन भएर पनि घुम्न नपाएको ठाउँ?
जान मन लागेको सहर साउथ अफ्रिका हो। त्यहाँको जंगल सफारी गर्न मन छ।

उपत्यकाको मनपर्ने खानेकुरा?
मलाई अलि गुलियो मनपर्छ। नेच्युरल जेरी पहिलादेखि नै रुचाउँथेँ। अहिले पनि मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ७ मंसिर २०७५ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App