८ वैशाख २०८१ शनिबार
समाज

विदेशी पत्रकारले सुनाए समाचार खोज्दाका अनुभव

भेलालाई सम्बोधन गर्दै पुलिट्जर पुरस्कार विजेता वाल्टर भी रोबिन्सन र पानामा पेपर्स एसिया टिमका पत्रकार।

काठमाडौं– ‘सूचना सबैभन्दा पहिले पाऊँ भन्ने होड चल्छ, त्यसैले म पत्रकार भएँ,’ पुलिट्जर पुरस्कार विजेता पत्रकार वाल्टर भी रोबिन्सन सुनाउँदै थिए, उनलाई सुन्न राजधानीमा शनिबार साँझ जम्मा भएका करिब तीन सय ५० पत्रकारलाई । वाल्टर अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको दोस्रो भेलामा विशेष वक्ता थिए ।
११ वर्षको कलिलो उमेरबाटै हकरका रूपमा समाचारसँग जोडिएका वाल्टर अमेरिकी दैनिक पत्रिका ‘द बोस्टन ग्लोब’मा ‘एडिटर एट लार्ज’ का रुपमा कार्यरत छन् ।

हकर हुँदैदेखि समाचारप्रति उनमा कम्ती लगाव थिएन । उनी विगत सम्झन्छन्, ‘पत्रिका घरघरको ढोकामा पु¥याउनुअघि सडकबत्तीको उज्यालोमा आफैं पढ्थें, सूचनाले मलाई शक्तिशाली बनाएझैं लाग्थ्यो ।’
वाल्टरले विशेषगरी विश्वभर रहेका रोमन क्याथोलिक चर्चमा हुने यौन दुराचारबारे खोज पत्रकारिता गरेका छन् ।

उनी आफ्नो अनुभव सुनाउँछन्, ‘पत्रकारले देखेर मात्र हुँदैन । तथ्य र प्रमाणका आधारमा लेख्नुपर्छ । म पनि तपाईंजस्तै हुँ, सूचना पाउने, बुझ्ने र प्रमाण जुटाउने खेल तपाईंजस्तै मैले पनि गर्दै आएको छु ।’
वाल्टरको खोजमा आधारित चलचित्र नै बनेको छ, स्पटलाइट । यो फिल्मको सफलतापछि उनी प्राध्यापन पेसामा लागेका थिए । हाल वोस्टन ग्लोबमै आबद्ध वाल्टर भन्छन्, ‘म भाग्यमानी पत्रकार हुँ ।’

खोज पत्रकारिताको एउटा आधारस्तम्भ मानिएको संस्था पानामा पेपर्सका लागि एसिया प्रान्तमा काम गरेका पाँच खोज पत्रकारले एकैसाथ भने, ‘२.७ टेराबाइट डाटा लामो समय केलाउन र गोप्य राख्न आफैंमा निकै कठिन थियो ।’

इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) का मार काब्रा, पाकिस्तानका उमार चिमा, इन्डोनेसियाका वाहियु ध्याम्तिमिका, भारतीय पत्रकार रितु सरिन र जापानका पत्रकार यासुमी सावाले पानामा पेपर्सका तथ्य बाहिर ल्याउँदाका अनुभव सुनाएका थिए ।

सबैभन्दा अप्ठेरो त पाकिस्तानी पत्रकार चिमालाई भएको रहेछ । उनले काम गर्ने प्रकाशनगृहकै सञ्चालकको गोप्य लगानी रहेको खुलासा उनको अनुसन्धानमा भयो । विश्वका ठूला र शक्तिशाली नेता, लब्ध प्रतिष्ठित व्यापारीदेखि सरकारी अधिकारीसम्मको गोप्य लगानीको खुलासा अझै बाँकी रहेको उनीहरुले बताए ।

भारतीय पत्रकार राना अयुब केही महिनाका लागि भेष बदलेर ‘मैथली त्यागी’ बनिन् । घुमाउरो कपाल सिलिक्क पारिन् । परिचय फेर्न मैथली त्यागीका नामले आधिकारिक कागजपत्र बनाइन् । अनि, गुजरातमा उनी अमेरिकाबाट आएकी चलचित्र निर्माता निर्देशक त्यागीको परिचयमा गुजरात दंगाको तथ्य खोज्न थालिन् । ‘म एकजना सुरक्षा अधिकारीको घरमा थिएँ, अचानक मलाई राना अयुबको परिचयले चिन्ने एकजना वकिल आए, म बिरामी भएको नाटक गर्दै प्रचण्ड गर्मीमा कम्मल ओढेर बसें,’ भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा अध्यक्ष अमित शाहलाई कारागारको बास गराएकी यी तन्नेरी पत्रकारले सुनाइन् । उनको खोजमा आधारित समाचार प्रकाशनपछि अमित जेल गएका थिए । गुजरात दंगाको सत्य खोज्न उनले केही महिना धेरै कठिनाइ भोगिन् । तर, उनलाई सबैभन्दा दुःख त्यसबेला लाग्यो, जब आफैँ क्रियाशील तहल्का डटकमले उनको खोज प्रकाशित गर्न आनकानी ग¥यो ।

‘मेरो खोज सत्यतथ्य थियो, सम्बन्धित अधिकारीसँग गरिएको गोप्य वार्तामा आधारित समाचार अप्रकाशित भएको म देख्न सक्दिनथें,’ रानाले भनिन् । गुजरात फाइल्स नामक खोज आलेखकी लेखिका रानाले गुजरात दंगामा भएको साम्प्रदायिक हिंसा र एउटा कथित मुठभेडको तथ्य पुस्तकमा लेखेकी छिन् ।
अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रको अगुवाइमा खोज पत्रकारिता केन्द्र नेपालले आयोजना गरेको तीनदिने दोस्रो एसिया खोज पत्रकारहरूको भेलामा ५० देशका पत्रकार सहभागी थिए ।

अन्तर्राष्ट्रिय विषयमा सामूहिक प्रयासका लागि एकजुट रहने प्रतिबद्धतासहित आइतबार सम्पन्न भेलाले एसियाभित्रका खोज पत्रकारको एउटा सञ्जाल बनाएको छ ।

 

प्रकाशित: १० आश्विन २०७३ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App