७ वैशाख २०८१ शुक्रबार
अर्थ

भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी सुरु

काठमाडौं - भृकुटीमण्डपमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ सुरु भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार प्रदर्शनीको उद्घाटन गरेका छन्।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाइसिएनसी)ले भवन तथा निर्माणसम्बन्धी सम्पूर्ण जानकारी एकै छातामुनि दिने उद्देश्यसहित उक्त प्रदर्शनी आयोजना गरेको हो। आगामी आइतबार (मंसिर ९ गते)सम्म चल्ने प्रदर्शनीमा भवन तथा निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीबारे जानकारी प्रदान गरिने वाइसिएनसीका कोषाध्यक्ष राजु फुयाँलले जानकारी दिए।

मेलामा भवन तथा निर्माणसम्बन्धी आवश्यक सामग्री सिमेन्ट, छड, फर्निचर, टायल, पाइपलगायत भूकम्पप्रतिरोधी भवन निर्माण गर्न आवश्यक सामग्री पनि प्रदर्शनीमा राखिएको छ। भूकम्पपछि थुप्रै निजी आवास निर्माणका क्रममा रहेकाले सर्वसाधारणले एकै छातामुनि निर्माणसम्बन्धी सम्पूर्ण जानकारी पाऊन् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको कोषाध्यक्ष फुयाँलले बताए। अवलोकनकर्ताका मेला अवधिभर इन्जिनियरबाट निःशुल्क भवन निर्माणसम्बन्धी परामर्शसमेत दिइने आयोजकले जानकारी दिएको छ। यसका लागि भवन डिजाइन गर्ने कन्सल्टेन्सी र इन्जिनियरहरु मेलामा खटिएका छन्। त्यस्तै बैंक, इन्स्योरेन्स, वास्तुशास्त्र लगायत सेवा पनि मेलामा उपलब्ध गराइएको छ।

‘घर तथा भवन बनाउन  चाहनेका लागि पछिल्लो समय विकास भएका प्रविधिबारे जानकारी गराउने उदेश्यले मेला आयोजना गरेका हौं,’ आयोजक समितिका सदस्य इन्जिनियर होमनाथ पोखरेलले भने, ‘घर बनाउनका लागि विकसित उच्च प्रविधि र निर्माण सामग्री प्रदर्शनीमार्फत् देखाउनछौं।’

चार दिनसम्म चल्ने प्रदर्शनीमा ५० देखि ६० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। प्रदर्शनीमा ६० भन्दा बढी कम्पनी सहभागी रहेको आयोजकले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७५ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App