१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सांसदमा विदेश भ्रमण मोह बढ्दो

काठमाडौं - प्रदेश सांसदको विदेश भ्रमण क्रम बढेको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिना (साउनदेखि कात्तिक) सम्म दुईदर्जन प्रदेश सांसदले विदेश भ्रमण गरेका छन्।

प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरूको विदेश भ्रमणलाई संघीय मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने कानुनमा व्यवस्था छ। तर प्रदेश सांसदको भ्रमणलाई संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्दैन। सम्बन्धित प्रदेशका सभामुखको सिफारिसमा प्रदेश सांसदको विदेश भ्रमण कार्यक्रम स्वीकृत गर्ने व्यवस्था निर्देशिकामा रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गत सूचना, सञ्चार तथा वैदेशिक समन्वय महाशाखाले प्रदेश प्रमुख, प्रदेश मुख्य मन्त्री, प्रदेश सभामुख तथा प्रदेश सांसदको विदेश भ्रमणको रेकर्ड राख्ने गरेको छ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले केही महिनाअघि संघीय सांसद तथा प्रदेश सांसदहरुको विदेश भ्रमणलाई कडाइ गर्दै निर्देशिका ल्याएको थियो। सो निर्देशिकालाई उल्लंघन गर्दै प्रदेशसभाका सांसद तथा प्रदेश मन्त्रीहरूको विदेश भ्रमण गर्ने मोह बढ्दै गएको छ।

गत असोज २३ देखि २५ सम्म प्रदेश २ का ५ जना सांसदले एकैपटक जापान भ्रमण गरेका छन्। जापान भ्रमण गर्ने सांसदमा रूबीकुमारी कर्ण (नेकपा), शोभा लामा (नेपाली कांग्रेस), वीरेन्द्रकुमार सिंह (नेपाली कांग्रेस), नरेशकुमार यादव (नेपाली कांग्रेस) र दिलीपकुमार सिंह (संघीय फोरम) रहेका छन्।

विदेश भ्रमणको मोह प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठमा पनि देखिएको छ। श्रेष्ठले गत कात्तिक १२ देखि १६ सम्म भारत भ्रमण गरेका छन्। यसैगरी प्रदेश १ की सांसद सञ्जाकुमारी दनुवारले पनि गत कात्तिक १६ र १७ मा जापान भ्रमण गरेको रेकर्ड प्रधानमन्त्री कार्यालयले राखेको छ। यसैगरी गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री विकास लम्सालले पनि गत असोज २९ देखि कात्तिक २ सम्म जापान भ्रमण गरेका छन्। सुदूरपश्चिमका प्रदेश सांसद मोहदत्त जोशीले गत भदौ ३० देखि असोज ५ सम्म जापान भ्रमण गरेका छन्।

जापान भ्रमणपछि प्रदेश सांसदको मोह चीन भ्रमणमा पनि देखिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले ४ जनाको टोली लिएर गत असोज ९ देखि १५ सम्म चीन भ्रमण गरेका छन्। उनको भ्रमण टोलीमा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे छन्। सुदूरपश्चिम प्रदेशका नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तारा लामा तामाङले गत कात्तिक २८ देखि ३० सम्म चीन भ्रमण गरेका छन्। यसैगरी नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश राउलले गत भदौ ३० देखि असोज ५ सम्म चीन भ्रमण गरेको रेकर्ड प्रधानमन्त्री कार्यालयसँग छ। विदेश भ्रमण गर्ने प्रदेश सांसदमा प्रदेश १ का सांसद मालामती कुमारी राना र बसन्तकुमार बानिया पनि छन्। रानाले गत कात्तिक २८ देखि ३० मा अस्ट्रेलिया र बानियाँले गत साउन १३ र १४ मा लक्जेम्बर्ग भ्रमण गरेका छन्। प्रदेश १ का आन्तरिक मामिला तथा काुनन मन्त्री हिक्मतबहादुर कार्कीले गत असोज ४ देखि १९ सम्म दक्षिण कोरियाको भ्रमण गरेका छन्।

प्रधानमन्त्री कार्यालय प्रदेश ५ को लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका प्रदेश सांसद डिल्लीबहादुर चौधरीले गत भदौ १७ देखि १९ सम्म श्रीलंका भ्रमण गरेका छन्। चौधरीले आगामी मंसिर १७ र १८ मा बेल्जियम भ्रमण गर्ने भएका छन्। यसको जानकारी प्रदेश ५ का सभामुखले प्रधानमन्त्री कार्यालयलाई गराइसकेका छन्।

गत कात्तिकमा अमेरिका भ्रमण गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने आफ्नो अमेरिका भ्रमणको स्वीकृति संघीय मन्त्रिपरिषद्को बैठकबाट नगराइएको स्रोतको भनाइ छ। यसको औपचारिक रेकर्ड वैदेशिक समन्वय महाशाखासँग छैन।

प्रधानमन्त्री कार्यालयअन्तर्गत सूचना, सञ्चार तथा वैदेशिक समन्वय महाशाखाका प्रमुख यामलाल भुसालले प्रदेशका प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रीको विदेश भ्रमणको स्वीकृति संघीय मन्त्रिपरिषद्को बैठकबाट गराउनै पर्ने कानुनमा व्यवस्था गरिएको बताउँदै भने, ‘तर प्रदेश सांसदको विदेश भ्रमणको स्वीकृति संघीय मन्त्रिपरिषद्को बैठकबाट गराउनुपर्दैन। सम्बन्धित प्रदेशसभाका सभामुखले प्रधानमन्त्री कार्यालयलाई यसको जानकारी गराए पुग्छ।’ मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले केही महिनाअघि संघीय सांसद तथा प्रदेश सांसदहरुको विदेश भ्रमणलाई कडाइ गर्दै निर्देशिका ल्याएको थियो। सो निर्देशिकालाई उल्लंघन गर्दै प्रदेशसभाका सांसद तथा प्रदेश मन्त्रीहरूको विदेश भ्रमण गर्ने मोह बढ्दै गएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउछन्।

प्रकाशित: ७ मंसिर २०७५ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App