४ वैशाख २०८१ मंगलबार
राजनीति

विप्लवको आमसभालाईबारे सरकारको निगरानी

काठमाडौं – अर्धभूमिगत नेत्रविक्रम चन्द समूहले शनिवार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चसो दिदै निगरानी शुरु गरेका छन्। सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भएपनि वार्तामा वस्न आनाकानी गर्दा शनिवार हुने आमसभालाई सुरक्षा निकायले चासो व्यक्त गरेका हुन। सरकारी सुरक्षा अंगले संविधानले दिएको अधिकार अनुसार सभा गर्दा कही कतै अवरोध नहुने तर संविधान विपरित भए आमसभानै गर्न नदिने तयारी गरिरहेको छ। विप्लव समूहले मंसिर ८ मा काठमाडौभित्र आमसभा गर्न भारतको राजधानी दिल्लीमा प्रचार प्रसार गरेदेखिनै सुरक्षा निकायले चासो व्यक्त गरेको हो। सो समूहले आमसभामा हजारौ जनताको सहभागितासँगै मार्चपास र घरेलु हतियारको प्रर्दशन समेत हुने सुचना पाएपछि सुरक्षा निकायले चासो राखेको छ। काठमाडौ आउने सबै नाकामा सुरक्षा निकायले चेकजाँचलाई कडा बनाएको छ भने राती अबेरसम्म काठमाडौका सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गस्तीलाई बढाइएको छ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार संविधानले दिएको अधिकार प्रयोग गर्दा कहीकतै अवरोध हुनेछैन। ‘उहाँहरुले संविधानमा उल्लेख भएका अधिकार प्रयोग गर्दा सरकारले अवरोध गर्देन तर संविधान विपरित कार्यगर्ने उहाँहरुलाई मात्र होइन जो कोहीलाई पनि छुट छैन’, मन्त्रालयका प्रवक्ता सुवेदीले भने। उनले आमसभाप्रति सुरक्षा निकायको चासो हुनु स्वाभाविक भएको पनि बताए। ‘सुरक्षाकर्मीहरुले आफ्नो दायित्व अनुसारको काम गरिरहेका छन् आमसभाको पनि त सुरक्षा गर्नुपर्यो नि त्यसकारण सुरक्षाकर्मी परिचालन हुने विषय स्वाभाविक हो’, उनले भने।

सरकारले नेकपाका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि सो समूहका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, उमा भुजेल, मोहन काकी लगायतका नेताहरुको रिहाइ गरिसकेको छ। सरकारले वार्ता आह्वान गरेसँग उनीहरुलाई छाडेको हो। वार्ता समिति गठनको सबै जिम्मेवारी लिएका प्रकाण्डले शनिवारको आमसभामा हजारौ जनताको सहभागी हुने बताएका छन्। वार्ता कुन कुन विषयमा गर्ने हो त्यसबारेमा सरकारी वार्ता टोली नै अलमलमा रहेको र आधिकारिक रुपमा जानकारी समेत नगराएकाले सरकारी पक्षसँग वार्ता हुन नसकेको बताउदै पार्टी पुनगठन गरेको दिनलाई सम्झेर शनिवार हजारौ जनताको वीचमा उत्सव मनाउन लागेको पनि उनले दावी गरे। ‘हामी हजरौ जनताको वीचमा उत्सव मनाउदैछौ त्यो शान्तिपूर्ण हुन्छ केही केन्द्रीय नेताहरुले त्यसमा सम्बोधन गर्नेछन’, उनले भने। उनका अनुसार त्यस कार्यक्रममा पार्टीको आधिकारिक धारणा समेत सार्वजनिक गरिनेछ। उनले मार्च पास गर्ने र घरेलु हतियारको प्रर्दशन हुने हल्ला सत्य नभएको पनि बताए। आमसभाबारे वार्ता टोलीलाई जानकारी भएको समेत उनको भनाई छ। ‘हामीले काठमाडौमा गर्ने भनिएको आमसभा सबैलाई जानकारी छ वार्ता टोलीलाई जानकारी नभएको होइन’, सो समूहका नेता प्रकाण्डले भने। उनका अनुसार विप्लव भने सो सभामा देखिने छैनन।

आमसभाको पूर्वसन्ध्यामा सो समूहले आफ्नै नेता कार्यकर्ता छाड्न लगाएर सरकारलाई धोका दिएको वार्ता समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार तिहार लगत्तै वार्ता बस्ने आश्वासन दिएपछि सरकारले वार्ताको वातावरण बनाउन विप्लव समूहका नेता कार्यकर्तालाई छाडेको थियो। सरकारी वार्ता टोलीसँग सम्पर्क गरिरहेका केही व्यक्तिहरुले विप्लवलाई नै भेटाउने वार्ता टोलीले सो समूहलाई औपचारिक रुपमा पत्र नै पठाएको छैनन। सो समहूले सरकारी वार्ता टोलीसँग सम्पर्क स्थापित गर्न केही बुद्धिजीवीहरुलाई मात्रै पठाएर पक्राउ परेका नेता कार्यकर्ता छुटाउन लगाएको थियो।

प्रकाशित: ७ मंसिर २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App