६ वैशाख २०८१ बिहीबार
खेल

मनाङद्वारा थ्री स्टार पराजित

तस्बिर : रासस

काठमाडाैं - मनाङ मर्स्याङ्दी क्लब चिर प्रतिद्वन्द्वी थ्री स्टारको चुनौतीलाई पन्छाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको खेलमा साबिकको विजेता मनाङले थ्री स्टारलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो।

मनाङलाई लिगमा लगातार तेस्रो जित दिलाउन अञ्जन विष्टले एक गोल गरे भने थ्री स्टारले एक गोल उपहार दियो। रक्षात्मक खेल्दै काउन्टर गर्ने रणनीति बनाएको मनाङले पहिलो मिनेटमा नै थ्री स्टारको पोस्टमा प्रहार गर्दै दबाब सिर्जना गरेको थियो। आक्रामक सुरुआत गरेको थ्री स्टारले भने तेस्रो मिनेटमा पहिलो मुभ बुन्न सफल भएको थियो।

अनिलले पेनाल्टी बक्सभन्दा बाहिरबाट दिएको क्रस पासलाई विदेशी खेलाडी अजयी मार्टिन्सले पाए पनि मनाङका कप्तान विराजको रक्षापंक्तिअगाडि उनको केही लागेन। ११औं मिनेटमा हेमन गुरुङको लामो पासमा अञ्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। १८औं मिनेटमा एडिलाजा ओलुवाले अगाडि बढाउँदै गरेको बललाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले क्लियर गर्ने क्रममा आफ्नै खेलाडी विजयी धिमालको ढाडमा लागेर पोस्टमा छिरेपछि मनाङको अग्रता २–० मा पुगेको थियो।

उता २१औं मिनेटमा मनाङका कप्तान विराजले थ्री स्टारका सुनील बललाई लडाएपछि पाएको फ्रिकिक अवसर माथिल्लो बार नजिकैबाट बाहिरिँदा थ्री स्टार निराश बन्यो। ३३औं मिनेटमा मैदानको मध्यभागबाट पाएको पास अञ्जनले क्रस गरे पनि उक्त अवसरलाई मनाङको अग्रपंक्तिले सदुपयोग गर्न सकेन। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मार्टिन्सले बुद्ध चेम्जोङलाई दिएको पास पेनाल्टी बक्सभित्र असफल बन्दा थ्री स्टारको गोलअन्तर घटाउने लक्ष्य विफल बनेको थियो।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल देखाएको थ्री स्टारले ५६औं मिनेटमा गोल गर्ने मौका सिर्जना गरे पनि मनाङका गोलकिपर विशाल श्रेष्ठले विफल पारे। कप्तान विक्रम लामाले पेनाल्टी बक्सभित्र सुनीललाई दिएको पास सदुपयोग गरे पनि त्यसलाई मनाङका किपरले सफल हुन दिएनन्। ६१औं मिनेटमा मनाङका अञ्जनको क्रस एडिलाजा ओलुवाले हेड गरे पनि उक्त बललाई थ्री स्टारका किपर एलनले बचाए। २–० ले पछि रहेको थ्री स्टार खेलको अन्तिमतिर आक्रामक भएको थियो।

६२औं मिनेटमा थ्री स्टारका मार्टिन्सको पेनाल्टी बक्सभित्र बाइसाइकल किक हान्ने प्रयास असफल भयो। खेलको अन्तिममा काउन्टरमा रहेको थ्री स्टारका मार्टिन्सलाई मनाङका महम्मेद आसिफले पेनाल्टी बक्सभित्र फाउल गरेपछि थ्री स्टारले पेनाल्टी पायो।  रञ्जित धिमालले सो अवसरलाई सदुपयोग गर्दै अग्रता छोट्याए। बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने प्रयास गरे पनि मनाङको रक्षापंक्तिलाई चिर्न सकेन। लिगका दुई महारथीबीचको भिडन्तमा अंक बटुल्न सफल हुँदा मनाङका प्रशिक्षक सुमन सन्तुष्ट थिए।

‘हामीले सोचेजस्तो खेल देखाउन सक्यौं। सोहीअनुसार नतिजा पनि प्राप्त भयो। रणनीति र खेलाडीको मिहिनेत आजको खेलमा सफल बन्यो,’ श्रेष्ठले भने, ‘सबै खेलाडी राम्रा छन्। सबैले १९–२० खेल्छन्। जसले १९ प्रदर्शन गर्थे उनीहरूले आजको खेलमा २० प्रदर्शन गरे। जसले गर्दा हामीलाई नतिजा हात लाग्यो।’ उता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलअवधिभर पाएका मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।

‘खेल हो, जितहार हुन्छ। तेस्रो खेल हो। अझै १० खेल बाँकी छन्। अझै ३० अंक बाँकी नै छ,’ प्रशिक्षक केसीले भने, ‘पहिलो गोल किपरको गलत पोजिसनका कारण भयो भने अर्को गोल क्लियर गर्ने क्रममा भयो। हामी जितका लागि आएका थियौं तर अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भयौं।’

खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दी म्याच घोषित भए।यसअघिका दुई खेलमा थ्री स्टारले विजयी नतिजा हात पारेको थियो। 

प्रकाशित: ६ मंसिर २०७५ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App