८ वैशाख २०८१ शनिबार
समाज

टेकाेकै भरमा भीमसेन मन्दिर

ललितपुर पाटनस्थित भीमसेन मन्दिर

शिवहरि घिमिरे

ललितपुर– गत वर्षको भूकम्पले क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत पाटनको भीमसेन मन्दिर पुनर्निर्माण हुन सकेको छैन । मन्दिर पुनर्निर्माणका लागि भारत सरकारले चार करोड रुपैयाँ सहयोग गर्न पुरातत्व विभागसँग समझदारी गरिसकेको छ । भूकम्प गएको डेढ वर्ष हुँदासम्म विभागले कुनै चासो नदेखाउँदा मन्दिर पुनर्निर्माण हुन नसकेको यहाँका स्थानीय र व्यापारी बताउँछन् ।

ललितपुर उद्योग वाणिज्य संघले विभागका महानिर्देशक भेषनारायण दाहाललाई भेटेर सम्पदा पुनर्निर्माण अघि बढाउन बारम्बार घचघच्याएको बताए ।

उनले भने, ‘भीमसेन स्थानीयका आशाका केन्द्र हुन, व्यापारीका मुख्य देवता हुन्, त्यसकारण यसको छिटो पुनर्निर्माणका लागि हामीले चासो देखाउँदै आएका छौं, तर अझै काम हुन सकेको छैन ।’ संघले नै मन्दिर पुनर्निर्माणका विषयमा पनि विभागसँग छलफल अघि बढाएको श्रेष्ठले बताए ।

विभागका महानिर्देशक भेषनारायण दाहाल भीमसेन पुनर्निर्माणका लागि भारत सरकारलाई जिम्मा लगाउने निर्णय भएको र काम छिटै अगाडि बढ्ने बताउँछन् । ‘हामीले मन्दिर पुनर्निर्माणका लागि आवश्यक सबै रकम जुटाउन सक्दैनौ र यो मन्दिर ऐतिहासिक महत्त्वको भएकाले त्यो नमेटिने गरी पुरानै शैलीमा पुनर्निर्माण गर्नका लागि भारत सरकारलाई जिम्मा लगाउने निर्णय भएको छ, अब काम छिटै हुन्छ,’ उनले भने ।

विभागले स्थानीयसँगको छलफल तथा सरसल्लाहबिना नै भारत सरकारलाई मन्दिर पुनर्निर्माणको जिम्मा लगाएको स्थानीयको आरोप छ । पाटनका अग्निराज बज्राचार्यले सम्पदा निर्माण गर्दा स्थानीय टोलसुधार समितिहरूसँग पनि आवश्यक छलफल नगरेको बताए । उनले भने, ‘स्थानीयलाई थाहै नदिई विभागले काम सुरु गर्दा बीचमा विवाद हुन सक्छ ।’

पुनर्निर्माण सुस्ताएसँगै स्थानीयले मन्दिरको पुनर्निर्माणबारे चिन्ता व्यक्त गर्न थालेका छन् । ‘दरबार क्षेत्रका अरु मन्दिर निर्माणकार्य अघि बढ्नु तर पाटनकै भीमसेन मन्दिर टेकोमै रहनु दुःखद कुरा हो,’ पाटनका स्थानीय सुरेश कमाचार्य भने ।

विभागका महानिर्देशक दाहालले भने अरु मन्दिरमा भन्दा बढी क्षति पुगेको र अध्ययन गर्न समय लागेकाले पुनर्निर्माण कार्यमा केही ढिला भएको बताउँछन् ।

पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, मणिमण्डपका दुईवटा पाटी, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको छ । कोषले ती सम्पदाको पुनर्निर्माण पनि थालिसकेको छ । तर, भीमसेन मन्दिर भने टेकोकै आडमा छ ।
 

प्रकाशित: १० आश्विन २०७३ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App