काठमाडौं – अमेरिकी डलरको भाउ निरन्तर घट्दै गएको छ। एक महिनाअघि एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँसम्म पर्ने गरेको थियो।
तर, अहिले घट्दै गएर एक डलर खरिद गर्न एक सय १४ रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबारका एक अमेरिकी डलर बिक्री दर एक सय १४ रुपैयाँ ३ पैसा तोकेको छ।
अमेरिकी अर्थतन्त्र केही खस्केपछि डलरको भाउ घटेको विज्ञहरुको भनाइ छ। पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो भएको छ। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ। डलरसँग भारु जुन दरमा घटबढ हुन्छ त्यही अनुसार नेपाली मुद्राको पनि घटबढ हुने गर्छ।
प्रकाशित: ६ मंसिर २०७५ ०४:०९ बिहीबार