काठमाडौं – आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’ भजन शैलीको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ सार्वजनिक भएको छ। साहित्यकार बुद्धिसागरको शब्द र अर्जुन पोखरेल तथा उनका पिता बाबुराम पोखरेलको संगीत रहेको गीतमा ध्रुब बिस्को र एन्जिला रेग्मीको स्वर छ।
गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतले फिचरिङ गरेका छन्। गोविन्द राईले कोरियोग्राफी गरेको गीतमा तीनवटा भजनटोली, सय बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई प्रयोग गरेका छन्।
संगीतकार पोखरेलले भजन शैलीको गीत भएकोले भजनगायक पिताको सहयोग लिएको खुलाए। ‘बजारमा चलिरहेका भन्दा फरक फ्लेबरको गीत बनाएका छौं। लोकगीतको लहर चलेको छ,’पोखरेलले भने,‘यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन। तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ,’ पोखरेलले भने। गीतमा आशीष अविरलको एरेन्ज छ।
आरोही इन्टरटेनमेन्टको व्यानरमा आरोही केसी प्रस्तुतकर्ता रहेको फिल्ममा पत्रकार दीपेन्द्र लामाको निर्देशन छ। लामाले यसअघि निर्देशन गरेको फिल्म ‘घामपानी’ प्रदर्शन भइसकेको छ। निर्देशक लामाले फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको बताए। ‘फिल्मका मुख्य पात्र हिन्दु र उसले गाई पाल्ने भएकाले गीतमा उसको आस्था झल्काउने प्रयास गरेका छौं।’ लामाले भने।
फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँवाला गौतमलगायतको पनि अभिनय छ। श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सामिप्य तिमल्सेनाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।
प्रकाशित: ६ मंसिर २०७५ ०३:०७ बिहीबार