४ वैशाख २०८१ मंगलबार
राजनीति

नाम मिथिला र भाषा मैथिली

राजविराज - प्रदेश–२ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मैथिलीलगायत मातृभाषाको संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकारले चाँडै नै उच्चस्तरीय बोर्ड गठन गर्न लागेको जानकारी गराएका छन्। प्रदेश सरकारको निर्णायबमोजिम आगामी शैक्षिक सत्रदेखि प्रदेशका सबै विद्यालयमा आधरभूत शिक्षाको माध्यम स्थानीय मातृभाषालाई बनाउने घोषणासमेत उनले गरेका छन्।

मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवसका अवसरमा बुधवार राजविराजमा मैथिली साहित्य परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो घोषणा गरेका हुन्। यद्यपि प्रदेश–२ को नामकरण तथा राज्यको कामकाजी भाषाको विषयमा भने मन्त्री साहले स्पष्टरूपमा कुनै प्रतिक्रिया भने जनाएनन्।

मधेसवादी दलको अगुवाइमा थालिएको मधेस आन्दोलनकै कारण पछिल्लो एक दशकयता मैथिली आन्दोलन अपेक्षाकृत कमजोर भएको परिषद् स्थानिय अगुवा बुद्धिजीवीरूको बुझाइ छ। खास गरेर संघीय समाजवादी फोरम नेपाल तथा राजपाको आन्दोलनलाई आफूहरूले उत्साहका साथ सघाए पनि उनीहरूबाटै मैथिली भाषालाई पछाडि पार्ने काम भइरहेको उनीहरूको गुनासो छ।

मिथिला राज्यको स्थापना तथा मैथिली भाषाको विकासका लागि परिषद् २०२६ सालदेखिनै आवाज उठाउँदै आएका छन्। यस वर्ष पनि विद्यापति स्मृति पर्वको अवसरमा परिषद्ले दुई दिवसीय कार्यक्रमको आयोजना गरी यस प्रदेशको नामकरण मिथिला हुनुपर्ने तथा प्रदेशको मुख्य कामकाजी भाषा मैथिली तोक्नुपर्ने माग अघि सारेका छन्।

बुधवार बृहत -यालीको आयोजना गर्दै परिषद्ले संघिय तथा प्रदेश सरकार तथा यहाँका राजनीतिक दलहरू मिथिला, मैथिलीको समृद्धि र पहिचानका लागि बाधक रहेको सन्देस प्रवाह गरेका थिए। -यालीमा विभिन्न भाषिक संघ संस्था, जातीय संघ संस्था, स्थानीय युवा तथा विद्यार्थीको व्यापक सहभागिता थियो।

हाल प्रदेश २ को नामकरण तथा भाषा छनौटबारे चौतर्फि बहस र छलफल चलिरहँदा मैथिली साहित्य परिषद्ले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएर मिथिला र मैथिलीको सन्दर्भमा दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। यद्यपि मुख्यमन्त्री भने प्रदेशको नाम तथा राज्य भाषाको सन्दर्भमा सरकारले आयोग गठन गरिसकेको तथा आयोगकै सुझावका आधारमा सरकारले काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उक्त मुद्दामा स्पष्टरूपमा बोल्नबाट जोगिने प्रयास गरे।

मधेसवादी दलको अगुवाइमा थालिएको मधेस आन्दोलनकै कारण पछिल्लो एक दशकयता मैथिली आन्दोलन अपेक्षाकृत कमजोर भएको परिषद् स्थानिय अगुवा बुद्धिजीवीरूको बुझाइ छ। खास गरेर संघीय समाजवादी फोरम नेपाल तथा राजपाको आन्दोलनलाई आपूmहरूले उत्साहका साथ सघाए पनि उनीहरूबाटै मैथिली भाषालाई पछाडि पार्ने काम भइरहेको उनीहरूको गुनासो छ।

‘मुलुकमा राजनीतिक अस्थिरता, पहिचान र अधिकारको मुद्दामा आधारित मधेस आन्दोलन, संघीयताको माग, संविधान लेखन तथा कार्यान्वयनलगायतका गम्भीर परिस्थितिलाई आकलन गर्दै मैथिलीकर्मी थोरै व्याक भएको हो,’ परिषद्का पूर्वअध्यक्ष प्राध्यापक जनानन्द मिश्र भन्छन्, ‘खासगरी मधेस आन्दोलन प्रभावित हुन्छ कि भनेर यस क्षेत्रका भाषिक आन्दोलनका अगुवाहरू आफ्नो माग र मुद्दा थाती राखी मधेस आन्दोलनमा बल पु-याउने उद्देश्यले चुप लागेका थियौं।’ अधिकार तथा पहिचानको मुद्दामा आधारित मधेस आन्दोलनबाट स्थापित शक्तिहरूबाट नै भाषिक पहिचान गुम्ने खतरा महसुस हुन थालेको मिश्रको बुझाइ छ।

प्रदेश २ मा हाल दुई मधेसवादी शक्ति फोरम र राजपाको संयुक्त सरकार रहेको छ। नेकपा र नेपाली कांग्रेस त्यसै पनि मिथिला र मैथिलीको मुद्दामा प्रदेशस्तरमा थोरै स्पष्ट देखिएका छन्। ‘अझै पनि प्रदेश सरकारसँग हामीलाई निकै अपेक्षा रहेको छ,’ मैथिली महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले भने, ‘प्रदेशसभामा गएका प्रदेश सांसदहरू आफ्नो मुटुमाथि हात राखेर आ–आफ्नो मातृभाषाका लागि मात्रै सोचिदिए भने मैथिलीलगायत यस भेगका मातृभाषाको अवस्था आफै सुध्रिने हो, तर उहाँहरू विभिन्न राजनीतिक अजेन्डा, सहयोगी र दाताको मुख हेर्दे मैथिलीलगायतका मातृभाषामाथि नयाँ–नयाँ भाषाको सम्राज्य स्थापना गर्ने होडबाजीमा लागेको देख्दा निकै दुःख लाग्छ।’

पहिचानका कुरा गर्नेहरू नै हिन्दीको नाममा प्रदेशभित्रका मातृभाषाहरुको घाँटी निमोठ्ने काम गरिरहेको मैथिली साहित्य परिषद्का अर्का पूर्व अध्यक्ष प्राध्यापक अमरकान्त झाको बुझाइ छ। ‘४६ प्रतिशत मैथिली मातृभाषीको बसोबास रहेको छ। यस प्रदेशमा त्यसले यहाँको प्रादेशिक भाषा मैथिली हुनुपर्छ,’ उनले भने, ‘यसका अतिरिक्त प्रदेशमा बोलिने भोजपुरी, अवधि, थारू, मगहीलगायतका मातृभाषाको संरक्षण सम्बद्र्धनका लागि राज्य सरकारले आवश्यक भाषिक नीति ल्याई ती मातृभाषालाई पनि यथोचित सम्मानका साथ वैधानिक व्यवस्था गर्न सक्नुपर्छ।’
सम्पर्क भाषाको नाममा हिन्दीलाई ल्याएर अनावश्यक बितण्डा मचाउने कार्य मात्रै भइरहेको मैथिली साहित्य परिषद्का उपाध्यक्ष सतिशकुमार दत्त बताउँछन्। उनी भन्छन्, ‘सम्पर्क भाषा किन चाहियो, मैथिली, भोजपुरी, थारु वा अवधि भाषाभाषी एकअर्काको भाषा मज्जाले बुझ्ने गरेका छन्। हामी मैथिली बोल्दा भोजपुरीभाषी मज्जाले बुझ्ने गर्छन्, उनीहरू भोजपुरी बोल्दा हामी पनि बुझ्ने गरेको छाैं, अनि यो सम्पर्क भाषाको राजनीति के का लागि ?’

राजनीतिक अधिकार नपाएसम्म भाषिक सांस्कृतिक अधिकार पाउन गाह्राे हुन्छ भनी ठूला–ठुला मधेसवादी नेताले भन्ने गरेको अभिव्यक्ति र विचारकै आधारमा उनीहरूले थालेको राजनीतिक आन्दोलनलाई मैथिलहरूले सघाएको दत्तको भनाइ छ। उनी भन्छन्, ‘हामीले उनीहरूको विचारलाई मान्यौ, मधेशवाद भन्यो त्यसलाई स्वीकार्यौ, मधेस बनाउनुपर्छ भन्यो, त्यसतर्फ पनि हामी निकै इमान्दार भएर काँधमा काँध मिलाई संघर्ष ग-यौ, यसको अर्थ यो कदापी होइन कि हामी उनीहरूले भनेकै आधारमा हिन्दीलाई स्वीकार गरिहालाैं।’

राजपा–फोरम गठबन्धनका नेताको भाषिक नीतिमाथि सुरुदेखिनै शंका गर्ने ठाउँ हुँदाहुँदै पनि मधेसवादको नामा प्रदेशका मैथिल, भोजपुरीया, अवधि, थारूलगायतका भाषाभाषीले मधेशवादीलाई सघाएको दत्त बताउँछन्।

आफ्नो भाषिक, राजनीतिक, सांस्कृति जस्ता पहिचानको स्थापनाकै लागि मधेशवादीहरुले थालेको पहिचानको आन्दोलनमा मुलुकभरीकै पछाडी परेका समुदायहरु एकिकृत हुनलागेको बताउँदै उनले भने, ‘पहिचानवादीहरूबाटै पहिचान गुम्ने खतरा महसुस भयो भने फेरि नयाँ–नयाँ आन्दोलन नहोलान भन्न सकिँदैन, जसले मुलुकको विकास र समृद्धिलाई हदैसम्म प्रभावित गर्दै जाने हो।’

मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोककुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालीन संविधानसभाका सदस्य तथा नेकपाका नेता रञ्जु ठाकुरले मैथिली भाषाको समृद्ध साहित्य तथा मिथिलाको प्राचिन इतिहासलाई चाहेर पनि मेटाउन सक्ने अवस्था नरहेको बताउँदै मैथिली भाषा साहित्यको संरक्षण सम्बद्र्धनका लागि राज्यले पहल गर्नुपर्ने खाँचो रहेको बताइन्।

उक्त अवसरमा २०७४ र ०७५ सालका लागि शिवदत्त मिश्र साहित्य पुरस्कार तथा विजेन्द्र विनोद मैथिली कला संस्कृती सम्मानसमेत वितरण गरिएको थियो। शिवदत्त मिश्र साहित्य पुरस्कारवाट क्रमशः प्रा. भोलाा झा, प्रा. उमाकान्त झा, अवकास प्राप्त प्रधानाध्यापक नथुनी दास तथा संगितकार शैलेन्द्र विश्वकर्मालाई पुरस्कृत गरिएको छ भने विजेन्द्र विनोद कला संस्कृति सम्मान गायक कैलाश झा एवम् अञ्जु यादवलाई प्रदान गरिएको मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी गराए।

प्रकाशित: ६ मंसिर २०७५ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App