समायोजन ऐन नबन्दा फाइदा उठाउँदै निजामती कर्मचारी

घरपायक मिलाउँदै सरुवा हुँदै

बुधबार, ०५ मङि्सर २०७५, १३ : ३३ युवराज विवश

दमक – दमक नगरपालिकाका लेखा अधिकृत भरत गौतम अहिले आन्तरिक लेखा परीक्षक भए । राजस्व शाखाका प्रमुख टीकाराज दाहाल वडा कार्यालयको सचिव भए । समाज कल्याण शाखाका प्रमुख डम्बर बराल सहायकमात्रै बने । नगरपालिकामा भएका अधिकृत स्तरका तीन इन्जिनियर निजामती कर्मचारी कहिले आउने हुन् र आफूहरुको हैसियत घटुवा हुने भनेर त्रासमा छन्।

संघीयता कार्यान्वयनसँगै खारेज भएका जिल्लाका कार्यालयका कर्मचारी स्थानीय तहमा काज सरुवा मिलाएर आएका छन् । लेखा अधिकृत भएर बिमिता पोखरेल आएकी छन् । उनले कर र लेखा दुवै शाखाको नेतृत्व समालेकी छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट आएका शाखा अधिकृत सुरेन्द्र भट्टराई सामाजिक विकास शाखाको प्रमुख बने । सोलुखुम्बुबाट काज सरुवा भएर आएका तेजप्रसाद सिग्देल पनि घरपायक खोज्दै दमक नगरपालिकामै हाजिर भए।

यसरी बाहिरबाट आएका कर्मचारीका कारण स्थानीय तहमा पहिले नै भएका कर्मचारीले अन्याय महसुस गरेका छन् । ‘निजामती ऐन नआउन्जेलका लागि घरपायक सरुवा लिएर आएका कर्मचारीका कारण केही असजिलो भएको छ’, नगरपालिका कर्मचारी संघका केन्द्रीय सदस्य डम्बर बरालले भने, ‘स्थानीय तहका कर्मचारीचाहिं कर्मचारी नै नभएको जस्तो देखियो । नगरपालिकामा भएका सबै अधिकृतस्तरका कर्मचारी सोही तहको निजामती कर्मचारी आएपछि घटुवामा परेका छन् ।’ यसबाट कार्यसम्पादनमा समेत समस्या देखिएको उनले बताए । ‘ऐन नआएको मौका पारी स्थानीय तहमा आएका कर्मचारीले पछिसम्म काम गर्न सक्दैनन् । सरकारले अन्यत्र सरुवा गरिदिने डरले सबैले घरपायक जागिरमात्रै खोजेका हुन्’, बरालले भने, ‘यसले कर्मचारीभित्र ठूलो निराशा देखिएको छ।’

काज सरुवा मिलाएर आएका निजामती कर्मचारीका कारण विगतदेखि नै स्थानीय तहमा कार्यरत कर्मचारीले अन्याय महसुस गरेका छन् । यसले कार्यसम्पादनमा समेत असर परेको उनीहरुको अनुभव छ।

नगरपालिकामा विगतदेखि नै कार्यरत अधिकृत स्तरमा पाँचजना कर्मचारी छन् । तिनीहरुलाई नगरपालिकाले नै नियुक्त गरेर राखेको हो । अन्य केही सहायक स्तरका कर्मचारी पनि छन् जो निजामती सेवाबाट आएका हुन् । अहिले स्थानीय तहले नियुक्त गरेका कुनै पनि कर्मचारी शाखाका प्रमुख छैनन् । शाखा प्रमुख भएका कर्मचारी केही वडा कार्यालयमा गए भने केही समान तहका कर्मचारीबाट निर्देशित छन् । दमक नगरपालिकाका तत्कालीन लेखा अधिकृत भरत गौतमले निजामती कर्मचारीका कारण थुप्रै खाले समस्या भोग्नुपरेको गुनासो गरे । ‘समान तहका कर्मचारीलाई हाकिम मान्नुपर्ने समस्याले धेरै कर्मचारीको मनोबल गिरेको छ’, उनले भने, ‘स्थानीय तहको कर्मचारीको कानुन पनि निजामती कर्मचारीले नै बनाउने भनेपछि योभन्दा विडम्बना के हुन्छ ?’

घरपायक बनाउन काज सरुवा
स्थानीय तहमा निजामती कर्मचारी पठाउँदा एक तह बढुवा गरेर पठाउने ऐनको मस्यौदा सरकारले सुझाव माग्न लोकसेवा आयोगमा पठाएको छ । यसैको फाइदा उठाउन कर्मचारीले घरपायक सरुवा मिलाउन थालेका छन् । नगरपालिका र गाउँपालिकामा आउने यस्ता कर्मचारी सबैले घरपायकै रोजेका छन् । दमक नगरपालिकामा आएका सबैजसो निजामती कर्मचारी एउटै जिल्लाका छन् । ‘निजामती कर्मचारीलाई सरकारले नै माथि पारेका कारण यस्तो समस्या देखिएको हो’, कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य बरालले भने, ‘समान तलब भए पनि यस्तो खाले विभेदले काम गर्न नै समस्या देखिएको छ।’

विगतमा सिँचाइ विभाग झापामा कार्यरत तेजप्रसाद सिग्देल बीचमा केही महिना सोलुखुम्बुको एउटा गाउँपालिकाको कार्यकारी प्रमुख भए । त्यसपछि अधिकृतमा समेत बढुवामा परे । झापाकै चारआलीका सिग्देलले लगत्तै दमक नगरपालिकामा सरुवा मिलाए । उनलाई नगरपालिकाले सहकारी र पञ्जीकरण शाखाको जिम्मेवारी दिएको छ । यस्तै सुनसरी जिल्ला प्रशासनमा शाखा अधिकृत रहेका सुरेन्द्र भट्टराई झापाकै हुन् । उनले दमक नगरपालिकालाई कार्यक्षेत्र बनाए।

अधिकृत भट्टराईले सरकारले ल्याउने विधेयकअनुसार नै कर्मचारीको समायोजन हुने उल्लेख गरे । ‘स्थानीय तहका कर्मचारीसँग समन्वयमा नै काम गरिरहेका छौं’, उनले भने, ‘त्यस्तो कुनै समस्या छैन ।’ उनले अहिले ऐन नआएका कारण सबै कर्मचारी काजमा खटिएको बताए।

एउटै नगरमा दुई उपसचिव

दमक नगरपालिकामा प्रशासनिक प्रमुखका रुपमा गणेश तिम्सिना कार्यरत छन् । उनी एक वर्षदेखि नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत हुन् । विगतमा अधिकृत हुँदा समेत दमकमा काम गरिसकेका उनी अहिले उपसचिव हुन् । यस्तै शालिकराम काफ्ले पाँचथरबाट दमकमा शिक्षा अधिृकतका रुपमा सरुवा भई आएका थिए । तर दमकमा बस्दाबस्दै उनको बढुवा भयो । अहिले उनी उपसचिव हुन्।

दमक नगरपालिका शिक्षा शाखाको प्रमुख अधिकृत रहने व्यवस्था छ । काफ्लेले शिक्षा शाखासँगै प्रमुख कार्यकारी अधिकृत नभएको अवस्थामा निमित्तको जिम्मेवारीसमेत पाउँछन् । ‘हामी समन्वयमा काम गरिरहेका छौ, कामको बाँडफाड गरेका छौं, ‘काफ्लेले भने, ‘केही जिम्मेवारी प्रमुख कार्यकारीले मलाई पनि दिनुभएको छ ।’ कर्मचारी स्रोतका अनुसार ऐन नआएको मौका पारेर उनी घरपायक जागिर मिलाई बसेका छन् । उनको घर झापासँगै जोडिएको मोरडको उर्लाबारी हो।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad