coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

फाइल तस्बिर: नागरिक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ।

परराष्ट्र मन्त्रालयका अधिकारीले नागरिकन्यूजलाई बताएअनुसार प्रधानमन्त्री ओली उच्चस्तरीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै आर्थिक मञ्चको बैठकमा भाग लिनेछन्। नेपालको जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमार्फत विश्व आर्थिक मञ्चको सचिवालयलाई पत्र लेखेर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री सहभागी हुने निश्चित गरेको हो। आगामी जनवरी २२ देखि २५ (माघ ८ देखि ११ गते) सम्म आर्थिक मञ्चको बैठक सुरु हुँदैछ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि ओली आर्थिक मञ्चको बैठकमा सहभागी हुन लागेको जानकारी दियो। ‘मन्त्रीपरिषद बैठकमा उहाँको भ्रमण बारे चाँडै नै प्रस्ताव लगिनेछ’ स्रोतले भन्यो। प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भ्रमणको तयारी भइरहेको जानकारी दिए। ‘भ्रमणको औपचारिक घोषणा चाँडै नै हुनेछ’ भट्टराईले भने, ‘प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष एवं संस्थापक क्लाउस स्वबको निमन्त्रणामा स्वीट्जरल्याण्ड जान लाग्नुभएको हो।’

विश्व आर्थिक मञ्चको वार्षिक बैठकको यसपटकको नारा ‘विश्वव्यापीकरण ४.०ः चौथो आर्थिक क्रान्तिको युगमा विश्वकै वास्तुकला (आर्किटेक्चर)लाई आकार दिंदै’(Globalization 4.0: Shaping a Global Architecture in the Age of the Fourth Industrial Revolution) तय गरिएको छ।

परराष्ट्रका अधिकारीहरुले प्रधानमन्त्रीको यो भ्रमणलाई द्विपक्षीय बनाउने प्रयास गरिरहेका छन्। स्वीस राष्ट्रपति अलेन बर्सेटसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय वार्ताको प्रयास भइरहेको छ। ओलीले विश्वका अन्य देशका नेताहरुसँग भने साइड लाइन भेटवार्ता गर्नेछन्।

सन् १९७१ मा स्थापना भएको विश्व आर्थिक मञ्चमा सरकारहरु, अन्तराष्ट्रिय संगठनहरु, नागरिक समाज, मिडिया, विज्ञ, व्यापारिक समुदाय र नयाँ पुस्ता सँगै सहभागी हुँदै आएका छन्। मञ्चको बैठकमा झन्डै सय वटा सरकारहरु र झन्डै एक हजार कम्पनीका उच्च तहमा कार्यरत व्यक्तिहरु सहभागी हुन्छन्। झन्डै ४०० वटा कार्यसत्रमा विकास, नयाँ ज्ञान र सृजना एवं अन्तर्राष्ट्रिय स्तरमा सान्दर्भिक नविन सोंच माथि विश्वव्यापी संवाद हुने गर्दछ।

प्रकाशित: ५ मंसिर २०७५ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App