coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपरथीको प्रमाणपत्र नक्कली शंका

काठमाडौं – नेपाली सेनाका उपरथी अनुजबहादुर बस्न्यातको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको शंकामा बढुवा रोकिएको छ । उपरथी बस्न्यातले सैनिक मुख्यालयमा सेवा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धमा उजुरी परेपछि छानबिन भइरहेको छ । सैनिक मुख्यालयले छानबिनका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रोभिजनल प्रमाणपत्रको प्रतिलिपि माग गर्दा उपलब्ध नभएपछि उनको रथीमा बढुवा तत्कालका लागि रोकिएको सैनिक स्रोतले जनाएको छ।

सैनिक मुख्यालयले परीक्षा नियन्त्रण कार्यालयसँग कात्तिक १२ गते बस्न्यातको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि मागेको थियो । उपरथी बस्न्यातले प्रवीणता प्रमाणपत्र तह पब्लिक युथ क्याम्पसबाट २०३७ सालमा उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका छन् । २०३४ सालमा एसएलसी पास गरेपछि उनी २०३५ सालमा पब्लिक युथ क्याम्पसमा ‘फाइनान्स’ विषयमा भर्ना भएका थियो । उनको त्रिवि रजिस्ट्रेसन नम्बर ३५–००८ (सिम्बोल नम्बर ६०५७२) उल्लेख छ । तर परीक्षा नियन्त्रण कार्यालयले उनको प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन नसकेपछि सैनिक मुख्यालय शैक्षिक प्रमाणपत्रबारे झन् सशंकित बनेको छ।

उपरथी बस्न्यातको शैक्षिक योग्यतामा प्रश्न उठेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले देशभरका सैनिक अधिकृतलाई शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएका छन् । उनीहरूलाई विवरण बुझाउन एक साता समय दिइए पनि परीक्षा नियन्त्रण कार्यालयबाट तोकिएको समयमा प्रमाणपत्र उपलब्ध नहुने भएपछि केही दिन समय थप गरिएको छ।

बढुवाको एक नम्बरमै रहेका उपरथी बस्न्यातको शैक्षिक योग्यतामाथि रक्षा मन्त्रालयले समेत चासो देखाएपछि सैनिक मुख्यालयले कर्मचारी सञ्चयकोषबाट उनीसहित एकैपटक भर्ना भएका ६ जनाको ओपनिङ ब्यालेन्स सिट मगाएर थप छानबिन गरेको छ । २०३७ सालमा भर्ना भएका बस्न्यातसहित कृष्णबहादुर बिष्ट, विजयबहादुर थापा, विन्दु गौतम, रवि थापा, बबी खत्रीको ओपनिङ ब्यालेन्समध्ये सबैभन्दा बढी उनकै देखिएको थियो।

कर्मचारी सञ्चय कोषले २०७५ कात्तिक २५ गते सैनिक मुख्यालयलाई दिएको विवरणमा २०४९–०५० को ओपनिङ ब्यालेन्स बिष्टको ६९ हजार ८ सय, थापाको ६८ हजार १ सय ३५, गौतमको ५९ हजार ५ सय ७२, रविा र खत्रीको ७२ हजार ७ सय तथा बस्न्यातको ८० हजार १ सय ५५ रुपैयाँ देखिएको छ।

ब्याचीभन्दा उनको सञ्चित रकम बढी देखिएपछि सैनिक मुख्यालयले उनको नागरिकतासमेत फरकफरक मितिको हुनसक्ने भन्दै अनुसन्धान प्रक्रियामा राखेको स्रोतले जनायो । सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी एवं प्रवक्ता गोकुल भण्डारीले बढुवाका समयमा सबै अधिकृतको शैक्षिक योग्यता तथा विभिन्न तालिम गरेका प्रमाणपत्रको विवरण अध्यावधिक गरिने बताए । ‘बढुवाको समय भएपछि सबै अधिकृतको शैक्षिक योग्यतालगायतका विवरण माग गरिन्छ, त्यसैअनुसार अद्यावधिक हुँदै जान्छ’, भण्डारीले भने।

तर उनले बस्न्यातको शैक्षिक प्रमाणपत्र छानबिनबारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँ सिनियर उपरथी भएकाले बढुवा हुने बेला भएको हो । शैक्षिक प्रमाणपत्रको अनुसन्धानबारे जानकारी भएन’, उनले भने । रथी बढुवाको एक नम्बरकै रहेका उपरथी बस्न्यातको उमेरमा पनि समस्या देखिएको स्रोतले जनाएको छ।

त्यसैगरी उमेर सच्याएको देखिएपछि सेनाका दुई सहायक रथीले राजीनामा दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत सहायकर थी कृष्ण गुरुङ र नेपाल ब्याटल स्कुल सालझन्डीमा कार्यरत सहायक रथी गणेश कार्कीले राजीनामा दिएको भए पनि उनीहरूको राजीनामा स्वीकृत भएको छैन । ‘उहाँहरूले राजीनामा दिनुभएको छ कारणचाहिँ मलाई थाहा भएन । राजीनामा स्वीकृत हुने प्रक्रियामा छ’, प्रवक्ता भण्डारीले भने।

प्रकाशित: ५ मंसिर २०७५ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App