७ वैशाख २०८१ शुक्रबार
खेल

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

गोल गरेपछि ब्राजिलका रिचार्डलिसन ।

काठमाडौं – ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। इङ्ल्याण्डमा मंगलबार राति भएको खेलमा ब्राजिलका स्ट्राइकर नेइमार खेलको ८ औं मिनेटमा नै चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीका) का समेत स्ट्राइकर रहेका नेइमारको तिघ्रामा चोट लाग्न पुगेको छ। लगत्तै नेइमारलाई ब्राजिलियन मेडिकल टिमले परिक्षण गरेका थिए। तर स्क्यान गरेपछिमात्र उनको चोट कत्तीको गम्भीर हो भन्ने थाहा हुने बताइएको छ।

नेइमार घाइते भएपछि उनको स्थानमा रिचार्डलिसन मैदान प्रवेश गरेका थिए। उनैले ४५ औं मिनेटमा विलियनको कर्नरमा हेड गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। सोही गोल ब्राजिलको जितमा निर्णायक बन्न पुग्यो।

यस्तै फ्रान्सले उरुग्वेमाथि १–० गोलकै जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा डिडियर डेसच्याम्पको टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे ३६ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएपछि विश्वकप विजेता फ्रान्स दबाबमा आएको थियो।

उरुग्वेका गोलकिपरसँग ढोक्किएर लडेपछि एमबाप्पेले त्यसपछि खेल्न सकेनन्। सफ्सिच्युट हुनुअघि उनले गोल गर्ने सुन्दर मौका गुमाएका थिए। ५२ औं मिनेटमा ओलिभर जिरोउडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई कठिन जित दिलाए। नेइमार र एमबाप्पे दुवै घाइते भएपछि पिएसजीलाई भने घाटा भएको छ।

पिएसजीले आगामी साता च्याम्पियन्स लिगमा लिभरपुलको सामना गर्दैछ। अर्को मैत्रीपूर्ण खेलमा इटालीले अमेरिकालाई १–० ले हरायो। बेल्जियममा भएको खेलमा इटालीको जितमा ८७ औं मिनेटमा मैदानमा प्रवेश गरेका मातेओ पोलितानोले इन्जुरी समयमा गोल गरेका थिए।

प्रकाशित: ५ मंसिर २०७५ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App