coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल अफ्रिका फेस्टिभलमा एघार फिल्म

काठमाडौं– फिल्ममार्फत नेपाल र अफ्रिकाको संस्कृतिको प्रवर्द्धन गर्न राजधानीमा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म सातौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०१८’ हुने भएको छ। यो संस्करणमा विभिन्न विषयमा निर्माण गरिएका ११ फिल्म प्रदर्शन हुनेछन्। फेस्टिभलमा निर्देशक मनोज पण्डितको फिल्म ‘छाँया’ले नेपालको प्रतिनिधित्व गर्नेछ।

फेस्टिभल आयोजक कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष तथा फेस्टिभल निर्देशक डा. मन्जु मिश्रले अफ्रिकाको विकासक्रमलाई नेपाली दर्शकमाझ जानकारी दिन फेस्टिभलले भूमिका खेल्ने बताइन्। ‘अफ्रिका भन्नासाथ हाम्रो दिमागमा त्यहाँको गरिबी, अशिक्षा, एचआइभी एड्स, भोकमरीको झल्को आउँछ। तर हामी फेस्टिभलमार्फत अफ्रिकाको विकास कसरी भइरहेको छ भन्ने देखाउन चाहन्छौं’, डा. मिश्रले भनिन्,‘अफ्रिकाका विषयमा सञ्चारमाध्यममा नकारात्मक कुरा मात्र आइरहेको अवस्थामा त्यहाँको संस्कृति र पर्यटनलाई देखाएर अफ्रिकाप्रति सकारात्मक दृष्टिकोणको विकास गराउने फेस्टिभलको उद्देश्य हो।’ फेस्टिभलको सह–आयोजक कम्युनिकेशन युनिभर्सिटी अफ चाइना रहेको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेलले नेपाल र अफ्रिकाबीचको दूरी कम गर्न फेस्टिभल सहयोगी बन्ने बताए। फेस्टिभलमा इजिप्टका निर्देशक मोहम्मद फ्राइडल निर्देशित ‘नासिर ५६’,चिनियाँ निर्देशक ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्देशित ‘अफ्रिकन्स इन युवा’, स्वीजरल्यान्डका आइरन लोएबल निर्देशित ‘लाइफ इन प्रोगेस’, स्वीडेनका नाडिया डाइवर्ग  र पि युलियन्स निर्देशित ‘फूटबोलडोक्टर्न’, रुवान्डा, फ्रेन्च र बेल्जियमको फिलिप भ्यान लु निर्देशित ‘लि लोर ओ डाइस्ट पार्टी इन भोग’, सेनेगलको ओस्मान विलियम मेबी निर्देशित ‘प्रेसिडेन्ड डाइ’, अल्जेरियाका मर्जाकओल्ज निर्देशित ‘बाबएल क्यु सिटि फिक्सन’, अमेरिकाका जर्ज क्यासि निर्देशित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डायरन जोसाउ निर्देशित ‘कल मि थिफ’ प्रदर्शन हुनेछन्।

आयोजकका अनुसार फेस्टिभलमा ‘नेपाल अफ्रिका मन्मेन्ट’को उद्घाटनसँगै नर्वे, नेपाल र सुडानको संयुक्त किताब विमोचन तथा ‘अफ्रिका फेसन शो’ तथा आदिम मिडिया हाउसको पनि शुभारम्भ गरिनेछ।

प्रकाशित: ५ मंसिर २०७५ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App