७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली ग्यालरीमा गन्धारा बुद्ध

डेभिड डग्लसको बुद्धचित्र तथा टुल्कुको समसामयिक कला ।

काठमाडौं– उत्तर–पश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तानमा बिक्रम संवत कालखण्डको पहिलो शताब्दीमा गन्धारा शैलीका बुद्धमूर्ति बने । ग्रिक–रोमन शैलीसँग निकट रहेको गन्धारा शैलीमा निर्मित बुद्धको अस्तित्व वर्तमान समयमा अफगानिस्तानको इतिहासका पानामा सिमित छ । अफगानिस्तानमा भइरहने युद्धले गन्धारा बुद्धको कालखण्ड विलिन भैसकेका छन् । मुसलमान समुदायको बाहुल्यता रहेको अहिलेको समयमा त्यहाँ बुद्धको महत्व घट्दै गएको छ ।

अफगानिस्तान क्षेत्रमा गन्धारा बुद्धको अस्तित्व नभएपनि त्यहाँको बुद्धको स्वरुप अहिले काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा झल्किरहेको छ । कलाकार डेभिड डग्लसले ती मूर्तिको स्वरुपलाई नेपाली ग्यालरीमा भित्र्याएका हुन् । ‘कामका लागि अफगानिस्तान पुगेका एक स्कुले सहपाठीले एकदिन गन्धारा बुद्धको तस्बिर मलाई देखाए,’ उनले भने, ‘फरक स्वरुपको बुद्ध मैले चित्र बनाउन राखे ।’ उनी आफै बुद्धको अध्ययन तथा ध्यानसमेत गरिरहेका छन् ।

पित्तलको आकृतिलाई वास्तविक रुप दिन उनले १८ क्यारेटको सुनको जलपले चित्र बनाए । उनका अनुसार उनले बुद्धको शरीर आकृतिभन्दा टाउकोको स्वरुपलाई बनाउन जोड दिए । झलक्क हेर्दा एकातिर घाम परेर आधा टल्किएको अनुहार जस्तो बुद्धको मूर्तिले गन्धारा कालखण्डको झल्को दिन्छ । तिब्बतियन, थाइल्यान्डको भन्दा फरक आकारमा आधा हाँसेजस्तो देखिने त्यो चित्र प्रदर्शनीको मुख्य आकर्षण नै हो । ३५/४२ इन्चको चित्रको मूल्य साढे ६ लाख रुपैयाँ रहेको छ ।

डेभिडका दश चित्रमध्ये नेपालमा प्रचलित तिब्बतियन बुद्धका आकृतिसँगै थाइल्यान्ड र कोरियामा मानिने बुद्धको ध्यान आकृति भिक्षुका चित्रमा अटाएका छन् । खैरो र पहेलो मिश्रित तेलीय रङको संयोजनमा कोरियामा प्रार्थना गरिरहेका भिक्षुको आकृति अन्य देशका भन्दा फरक छन् । बसेर ध्यानमग्न थाइल्यान्ड र तिब्बतियन राता, काला र गाढा खैरो रङमा सजिएका भिक्षुका आकृतिले पनि निराकार आकाशमा शान्ति खोजिरहेझैं देखाउँछ । लेभिटेसन अर्थात हावामा तैरिएको भन्ने भावमा  चलिरहेको कला प्रदर्शनीका अधिकांश चित्र साधनारत भिक्षुहरू साधनाकै क्रममा उच्च शक्ति पाएर हावामा तैरिएका झै देखिन्छन् ।

डेभिडसँगै कला प्रदर्शनीमा सहभागी अर्का कलाकार टुल्कु जेमयाङले बलेको धुपलाई नेपाली कागजमा चोपल्दै नयाँ कलाको उजागर गरेका छन् । एक्रेलिक रंगको मिश्रणमा उनले बनाएका चित्रमध्ये मिनालिकाको फरक आकर्षण छ । मोनालिसाको चर्चित स्वरुपसँग मिल्दोजुल्दो चित्रलाई उनले नेपाली युवतीसँग साझेदारी गरेका छन् ।

त्यस्तै उपत्यका झल्काउने उनको अर्को चित्रले राजधानीका मन्दिर र मानिस दर्शाएको छ । नयाँ धारको कला भएकाले पनि उनका कला हेर्नेहरू केहीबेर घोरिन्छन् । थोप्ला र प्वाल परेका काला आकृतिलाई रङसँग मिसाएर उनले फरक भाव प्रस्तुत गरेका छन् । चेन्जिङ लेन्स शीर्षकमा उनले बनाएका चित्रमार्फत नेपाली भाषासँगै यहाँको पहिचान बनेको पुरातात्विक सम्पदाको संरक्षणलाई ध्यान दिएका छन् । के, किन, कसरी, कहिले ,कहाँ जस्ता प्रश्नको अर्थ लाउने प्रयत्न उनले चित्रमार्फत गरेको उल्लेख गरेका छन् । जति नै आधुनिकीकरण र पश्चिमाकरण भएपनि आफ्ना भाषा तथा संस्कृति उनका लागि प्यारो बनेको चित्रमा देखिन्छ । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक अभ्यासलाई आफूले चित्रमा उतार्ने प्रयास गरेको बताए । पन्ध्रवटा कलाकृतिलाई उनले नेपालीपन दिएका छन् ।

इतिहासको पाना पल्टाउने हो भने अफगानिस्तानमा बुद्धका १ सय ३० फिट अग्ला मूर्ति रहेका पाइन्छ । जुनबेला त्यहाँका स्थानीय बुद्धमार्गी र शान्तिगामी थिए । गन्धारा चित्रको इतिहास हेर्दा भारतको मथुरामा चलेको कुशान कलासँग निकट भएपनि त्योभन्दा निकै भिन्न कलाकृतिका रुपमा यसलाई लिइन्छ ।

गन्धारा कलाकै प्रभावमा भारतका सम्राट अशोकले बुद्धका यस्तै आकृतिका मूर्ति भारतमा तेस्रो शताब्दीमा बनाएको पाइन्छ । यी मूर्ति हरियो, खैरो, निलो ढुंगे रंगका थिए । रोमन मानव शास्त्रीय परम्परागत धारमा निर्मित गन्धार मूर्तिले युवावस्थाको उज्यालो मुहार, पहिरन, गरगहना र शारीरिक हाउभाउ  देखाउँछ । यी दुवै चित्रकला मंसिर १३ गतेसम्म चल्ने जनाइएको छ ।

प्रकाशित: ५ मंसिर २०७५ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App