६ वैशाख २०८१ बिहीबार
खेल

‘प्रतिबन्धमा कुनै पुनर्विचार हुँदैन’

सिड्नी –  बल टेम्परिङ घटनामा मुछिएका अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथि प्रतिबन्धको सजाय कम नहुने क्रिकेट अस्ट्रेलिया (सिए)ले मंगलबार बताएको छ । अस्ट्रेलियन क्रिकेटर संघले आफ्ना तीन खेलाडीमाथि लागेको  प्रतिबन्ध कम गराउनका लागि गरेको अपिललाई सिएले अस्वीकार गरेको हो।

‘प्रतिबन्धमा परेका तीन खेलाडीको कारबाहीमा कुनै पुनर्विचार गर्ने काम उपयुक्त छैन,’ सिएका अन्तरिम अध्यक्ष अर्ल एडिङ्सले भने।

सिएले गत मार्चमा सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बल टेम्परिङ घटनामा संलग्न भएको भन्दै कप्तान स्मिथ र उपकप्तान वार्नरलाई अन्तर्राष्ट्रिय क्रिकेटमा १२ महिनाका लागि प्रतिबन्धको सजाय सुनाएको थियो । यस्तै ओपनर ब्याट्सम्यान बेनक्रफ्टलाई नौ महिनाको सजाय सुनाएको थियो।

तीन खेलाडीमाथि प्रतिबन्धको सजाय सुनाएसँगै अस्ट्रेलियाली क्रिकेटको अवस्था पछिल्लो समय खस्किएको छ । जसले गर्दा क्रिकेट सञ्चालन बोर्डले टोलीको पुरानो साख फर्काउन कठिन हुँदै आएको छ । तर अस्ट्रेलियन क्रिकेटर संघले प्रतिबन्धमा परेका खेलाडीमाथिको कारबाहीलाई पुनर्विचार गर्दै साख फर्काउने कदम चाल्न सिएलाई आग्रह गर्दै आएको छ।

सिएका अध्यक्ष डेविड पिवर यसै महिना दबाब खेप्दै अध्यक्ष पदबाट हटेपछि अन्तरिम अध्यक्ष बनेका एडिङ्ले सिएको बोर्डले गरेको निर्णय उल्टाउन नसक्ने बताए।

‘सिएको सम्मानका लागि पनि उसले गरेको निर्णयलाई हामीले चलाउनु हुन्न । उनीहरूमाथिको कारबाहीमा कुनै छलफल आवश्यक छैन । उनीहरुमाथि गरिएको प्रतिबन्ध उपयुक्त छ,’ अन्तरिम अध्यक्ष एडिङ्सले भने, ‘स्टिभ, डेविड र बेनक्रफ्टले टोलीमा फर्किन निकै मिहिनेत गरिरहेका छन् । उनीहरूको लयलाई साथ दिइरहेका छौं । जति सक्दो छिटो हामी पनि उनीहरूलाई टोलीमा समावेश गर्न आतुर छौं।’

उनीहरुमाथिको प्रतिबन्धपछि अस्ट्रेलियाको प्रदर्शन खस्किँदो  छ । यसैलाई मध्यनजर गर्दै क्रिकेटका उच्च व्यक्तित्वले जति सक्दो छिटो उनीहरूलाई टोलीमा फर्काउन सल्लाह दिँदै आएका छन् । उनीहरूले घरेलु प्रतियोगिता शेफिल्ड शिल्डका लागि उनीहरूको आवश्यकता जरुर रहेको बताउँदै आएका छन् । सबै तीन खेलाडीले सिएले सुनाएको कारबाहीलाई स्वीकार गरेका थिए।

‘तीन खेलाडीको प्रतिबन्ध कम गर्नका लागि सर्वत्रबाट  दबाब आइरहेको छ । तर उनीहरूले उक्त कारबाहीलाई स्वीकार गरेका थिए,’ अध्यक्ष एडिङ्सले थपे, ‘साथै सिएले उनीहरूमाथिको कारबाही संशोधन गर्ने कुनै पनि सोच बनाएको छैन।’

‘सिएको सम्मानका लागि पनि उसले गरेको निर्णयलाई हामीले चलाउनु हुन्न । स्टभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथिको कारबाहीमा कुनै छलफल आवश्यक छैन । उनीहरूमाथि गरिएको प्रतिबन्ध उपयुक्त छ।’

प्रकाशित: ५ मंसिर २०७५ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App