coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपाको अन्तरकलह सडकमा

राजविराज- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्षमण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई अध्यक्ष मण्डलको संयोजक चयन गरेको छ ।

राजपा केन्द्रीय अध्यक्ष तथा प्रदेशका मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा सार्वजनिक मञ्चमा देखिने नेताको जम्बो टोली, केही घन्टाकै अन्तरालमा एउटै जिल्लामा दुईजना केन्द्रीय अध्यक्षहरूको छुट्टाछुट्टै कार्यक्रम, पार्टीको एकपक्षले निर्णाय गर्दा सार्वजनिक रूपमा अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्नेलगायतका समस्या समाधान राजपा केन्द्रीय नेतृत्वका लागि पनि चुनौती बन्न थालेको छ ।

चक्रीय प्रणालीअन्तर्गत संयोजक फेरिए पनि राजपाभित्रको विवाद भने केन्द्रदेखि स्थानीयस्तरसम्मै रहेको छ । ‘थ्रेस होल्ड’ सम्बन्धी कानुनले साना दलको अस्तित्व संकटमा परेका बेला ०७३ फागुन अन्तिम साता सप्तरीको मलेठमा एउटा दुःखद घटना भयो । तत्कालीन मधेसी मोर्चा र नेकपा एमालेको आपसी अहम्का कारण भएको झडपमा प्रहरीले गोली चलाउँदा पाँचजना स्थानीयहरूले ज्यान गुमाएका थिए । घटनापश्चात मधेसभर नै यसको प्रतिक्रिया देखियो केही महिनापछि नै चुनाव थियो एकातिर ‘थ्रेस होल्ड’को त्रास र अर्कातिर मलेठ घटनापश्चातको भावनात्मक ऊर्जा दुवैको समायोजनका रूपमा तत्कालीन ६ वटा मधेसवादी दलहरूको लामो आन्तरिक गृह कार्यपश्चात नेपाली राजनीतिमा एउटा नयाँ मधेसवादी दलको उदय भएको थियो ।

०७४ वैशाखको पहिलो सातामै राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को औपचारीक घोषणा भएको थियो । तर घोषणा समारोहदेखि नै ‘राजपा दलभन्दा पनि ६ वटा पार्टीहरूको गठबन्धन नै रहिरहनेको हो कि भन्ने राजनीतिक विश्लेषकले थालेको आशंका अझै टुंगिएको छैन ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतोको सद्भावना, शरदसिंह भण्डारीको रामसपा, राजकिशोर यादवको फोरम गणतान्त्रिक, अनिलकुमार झाको नेसपा र महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी एकीकृत भई गठन भएको राजपा स्थापना डेढ वर्ष बित्न लाग्दा अझै महाधिवेशन हुन सकेको छैन । वडादेखि जिल्लासम्मको अधिवेशन हुन अझै बाँकी नै छ । पार्टीको केन्द्रीय समितिदेखि लिएर जिल्ला समितिसम्ममा ६ जना अध्यक्षको अध्यक्षमण्डल रहने व्यवस्था अझै कायम छ । मधेसका कुनै पनि यस्ता जिल्ला छैनन् जहाँ राजपाका एकसयभन्दा बढी केन्द्रीय नेता नरहेको होस् ।

उसो त राजपा गठन भएको छोटो समयमै भएको स्थानिय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा तराई मधेशका जिल्लाहरुमा पार्टीको प्रदर्शन भने निकै सकारात्म रहियो । पार्टीका सवै जसो ठुला नेताहरु जिते । प्रदेश–२ को दोश्रो ठुलो दलको हैसियतमा फोरमसँग संयुक्त सरकार पनि उसले चलाई राखेको अवस्था छ । सप्तरीका १८ मध्यै ५ स्थानिय तहमा बहुमत सहित प्रमुख पदमा राजपा प्रत्यासीहरु विजयी भएको अवस्था छ ।

फोरमसँग मिलेरै चुनाव लडे पनि राजपाका उम्मेदवारहरू सप्तरीका ४ मध्यै एक प्रतिनिधिसभा र ८ मध्ये ३ प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित भएको अवस्था छ । यद्यपि लामो समय बितिसक्दा पनि केन्द्रदेखि वडास्तरसम्म अधिवेशन नहुनु, अधिवेशन तयारीको क्रममा आ–आफ्नो गुट–उपगुटको संरक्षणमा केन्द्रदेखि जिल्लास्तरका नेता खुलेरै लाग्नु, पार्टी नेतृत्व गर्ने विभिन्न समितिदेखि लिएर विभिन्न भ्रातृ तथा सुभेक्षुक संगठनलाई समायोजित गर्न नसक्नु जस्ता समस्याले पार्टीभित्रको आन्तरिक विवाद अब खुलेर सडकमै छताछुल्ल भएको अवस्था छ ।

अब त पार्टीभित्रको विवाद झन् सार्वजनिक कार्यक्रम हुँदै मिडियामा पनि पोखिन थालेको छ । राजपा केन्द्रीय अध्यक्ष तथा प्रदेशका मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा सार्वजनिक मञ्चमा देखिने नेताको जम्बो टोली, केही घन्टाकै अन्तरालमा एउटै जिल्लामा दुईजना केन्द्रीय अध्यक्षहरूको छुट्टाछुट्टै कार्यक्रम, पार्टीको एकपक्षले निर्णाय गर्दा सार्वजनिक रूपमा अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्नेलगायतका समस्या समाधान राजपा केन्द्रीय नेतृत्वका लागि पनि चुनौती बन्न थालेको छ । राजपा गठनपश्चात उत्साहित स्थानीय कार्यकर्ता र सर्वसाधारणहरू पनि अब खुलेरै सोध्न थालेका छन्, ‘राजपा दल हो वा ६ वटा दलहरूको गठबन्धन मात्रै, यो गठबन्धन आखिर दल कहिले बन्ला ?’
आइतबार राजविराजमा खानेपानी तथा सरसफाइ डिभिजन–१ कार्यालयको उद्घाटन समारोहमा प्रदेश–२ का भौतिक भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगै सप्तरी घर भएका राजपाका २८ भन्दा बढी केन्द्रीय तथा जिल्लास्तरका नेताको मञ्चममा उपस्थिति देखियो ।

एउटा सरकारी कार्यालय उद्घाटनका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाइएका मन्त्रीसँग उनकै पाटीको दुई दर्जन नेता मञ्चमै देखिनुलाई कतिपयले हास्यास्पदसमेत भनिरहेका थिए । मन्त्रीसँगै गएका कतिपय नेताहरू आफैं मञ्चमा पुगेका थिए भने कतिपयलाई मन्त्री, उनका सहयोगी तथा मञ्चासीन पार्टीका वरिष्ठ नेताहरूको निर्देशनमा कार्यक्रम सञ्चालकले बोलाउन बाध्य भएका थिए ।

आइतबार मात्रै हैन पछिल्लोपटक राजपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका मन्त्रीहरूलाई कुनै कार्यक्रममा बोलाउँदै यस्तो दृश्य सहजै देख्न सकिन्छ । सप्तरीमा मात्रै राजपाका दर्जनभन्दा बढी केन्द्रीय उपाध्यक्ष, महामन्त्री र मन्त्रीहरू रहेका छन् । त्यस्तै दुई दर्जन बढीको हाराहारीमा केन्द्रीय सदस्य मात्रै छन् । विभिन्न ६ वटा छुट्टाछुट्टै दललाई एकीकृतरूपमा गठन गरिएको राष्ट्रिय जनता पार्टी नेपाल अझै पनि संगठनात्मक र भावनात्मकरूपमा एकीकरण हुन नसक्दा त्यसको प्रतिविम्ब सार्वजनिक कार्यक्रममा पनि देखापर्ने गरेको राजपा नेपालका एक महासचिव बताउँछन् ।

‘अझै पनि यो पार्टी ६ दलको गठबन्धनभन्दा माथि उठन सकेको छैन,’ उनले भने, ‘हामी प्रनिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनवटा चुनाव एकसाथ लडिसकेका छाँै । तर हामीभित्र अझै पनि भावनात्मक एकता हुन नसक्नु दुर्भाग्यपूर्ण हो ।’

सार्वजनिक कार्यक्रममा सहभागी हुन आउने मन्त्रीहरूले पनि रहरले नभई बाध्यताले सबै पक्षका नेताहरूलाई मञ्चमा बोलाउने गरेको उनको बुझाई छ । उनी भन्छन्, ‘तत्कालीन तमलोपा, सद्भावना, रामसपा लगयात ६ वटै दलवाट प्रतिनिधित्व गर्ने ६ वटै समूहका केन्द्रीयदेखि लिएर स्थानीय तहसम्मका नेताहरूलाई आपूm मञ्चमा नसमेटिए भोलिी त्यो मन्त्रीका लागि सहज हुँदैन, नानाथरिका आरोप प्रत्यारोप सुरु हुन्छ, त्यसर्थ मञ्चमा दलका नेताको जम्बो टोली लिएर बस्नु हाम्रा मन्त्रीका लागि बाध्यता भइसकेको छ ।’

राजपाभित्रको गुट उप–गुटको कलह सार्वजनिक मञ्चमा मात्रै देखिँदैन । जिल्ला अधिवेशनका लागि विभिन्न समिति, उप–समिति गठन तथा जिम्मेवारी बाँडफाँटका क्रममा पनि छताछुल्ल हुन पुगेको छ ।

केन्द्रदेखि जिल्लासम्ममा ६ वटा अध्यक्षसहितको अध्यक्षमण्डलीय व्यवस्था रहेको पार्टीका सप्तरी जिल्ला अध्यक्षमण्डलका संयोजक रामपृत यादवले कात्तिक २५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीस्थित ४ वटै निर्वाचन क्षेत्रका लागि केन्द्रीय प्रभारीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको तथा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्षलगायत नेता सहभागी रहेको ९ सदस्यीय सल्लाहकार तथा अनुगमन समिति गठनको घोषणा गरेका थिए । महाधिवेशन प्रयोजन तथा सदस्यता विस्तारका लागि यसरी समिति गठन गरीएको यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

उनले बनाएका समितिमा क्षेत्र नम्बर १ मा कुमरनाथ मिश्रलाई प्रभारी नियुक्त गरिएको छ भने क्षेत्र नम्बर २ को जिम्मा विनोदकुमार सिंहलाई दिइएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा त्यहाँवाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीलाई प्रभारी तोकिएको छ भने क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवलाई प्रभारी बनाइएको छ । त्यस्तै सल्लाहकार र अनुगमन समितिको नेतृत्व अर्का वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई दिईएको छ ।

अध्यक्ष ण्डलका संयोजक यादवले प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्टै कात्तिक २६ गते उनले नै गठन गरेका विभिन्न समितिमा रहेका १४ जनाले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै दूषित मनसायद्वारा ती समितिहरू गठन भएको भन्दै सार्वजनिक रूपमा पदबाट राजीनामा गरेका छन् । राजीनामा गर्नेमा सदस्यता वितरण अभियान सञ्चालन एवम् अधिवेशन समितिका सदस्य शम्भु यादव(मेयर, राजविराज नगरपालिका), शैलेशकुमार साह(मेयर, हनुमानगर कंकालिनी नगरपालिका), विशेश्वर रजक, पुनमकुमारी यादव, उपेन्द्रप्रसाद साह, विजयकुमार यादव, दिनेशकुमार यादव(केन्द्रीय सदस्यहरु) त्यस्तै श्याम सरदार, माधव चौधरी, ननुचौधरी कलवार र अमरेन्द्र यादव रहेका छन् । त्यस्तै सल्लाहकार र अनुगमन समितिवाट सह–महासचिव गजेन्द्रकुमार मण्डल र हरि मण्डलले पनि राजिनामा गरेका छन् ।

यता सोमवारै जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिलकुमार झाले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै संयोजक रामपृत यादव नेतृत्वमा गठन गरीएका समितिको पार्टीको केन्द्रीय सर्कुलर विरुद्ध रहेको तथा अध्यक्षमण्डलको उक्त बैठकमा आफ्नो उपस्थितिसमेत नरहेको स्पष्ट पारेका छन् । उक्त निर्णयपश्चात पार्टीभित्रका नेता कार्यकर्तामा अन्योल रहेकाले समस्याको समाधानका लागि केन्द्रीय अध्यक्षमण्डलको अतिशीघ्र ध्यानाकर्षणका लागिसमेत आग्रह गरिएको छ ।

हाल राजपा सप्तरी अध्यक्षमण्डलका संयोजक रामपृत यादव महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा खेमाका हुन् । उनी तमलोपाको जिल्ला अध्यक्ष हुँदा पार्टी एकीकरण भएको थियो । त्यस्तै उक्त निर्णायप्रति आपत्ति जनाउने अध्यक्षमण्डलका सदस्य सुनिलकुमार झा भने राजेन्द्र महतो नेतृत्वको सद्भावना खेमाबाट नेतृत्व गर्ने गर्छन् ।

प्रकाशित: ५ मंसिर २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App