८ वैशाख २०८१ शनिबार
अर्थ

कोरला नाकामा पूर्वाधार बनाउँदै चीन

चीन र मुस्ताङको सीमा कोरालानजिकै तिब्बततर्फ निर्माणाधीन भवन । तस्बिर सौजन्य : रविना बोहोरा

काठमाडौं- मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पूर्वाधार निर्माण अघि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाकाको २४ नम्बर पिल्लरको दशगजा क्षेत्रनजिकै चीनले करोडौं लगानीमा पूर्वाधार बनाउन लागेको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ । आगामी दिनमा नाका सञ्चालन गर्ने उद्देश्यले भवनलगायत पूर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार चीनले क्वारेन्टाइन, ड्राइपोर्ट, भन्सार, अध्यागमन, सुरक्षा निकायका लागि भवन निर्माण गरिरहेको छ । ‘चीनले नाका सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार तयार गरिरहेको छ,’ क्षेत्रीले भने, ‘नेपालतर्फ खाली छ ।’

चीनले सीमानजिकै बनाएको पूर्वाधार अत्याधुनिक र सुविधासम्पन्न छ । चीनले सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिएर भवन निर्माण गरेको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले बताए । पूर्वाधार अवलोकन गरेका तुलाचनका अनुसार नाका सञ्चालन गर्न चीन सकारात्मक भएकैले संरचना तयार गरेको हो ।

नेपाल सरकारले पनि क्वारेन्टाइन, ड्राइपोर्ट, भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि भवन बनाउन एक हजार रोपनी जग्गा अधिग्रहण गरेको छ । सो जग्गा सीमाभन्दा आठ किलोमिटर तल भएकाले उपयोगमा नआउने जानकार बताउँछन् ।

चीनले नाका सञ्चालन गर्न आवश्यक तयारी गरे पनि नेपालतर्फको तयारी भने शून्य छ । नेपाल सरकारले पनि क्वारेन्टाइन, ड्राइपोर्ट, भन्सार, अध्यागमन, सुरक्षा निकायका लागि भवन निर्माण गर्न करिब एक हजार रोपनी जग्गा अधिग्रहण गरेको छ । तर सो जग्गा सीमाभन्दा आठ किलोमिटर तल भएकाले उपयोगमा नआउने तुलाचन बताउँछन् ।
‘चीनले सीमा क्षेत्रमै पूर्वाधार बनाएकाले हामीले पनि दसगजानजिकै बताउनुपर्छ,’ उनले भने, ‘पहिले अधिग्रहण गरेको जग्गा उपयोगमा नआउने भएपछि फेरि सीमा क्षेत्रकै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएका छौं ।’

केही समयअघि प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीले सीमा क्षेत्रको अवलोकन गरेको थियो । भन्सार विभागका अधिकारीले पनि जग्गा अवलोकन गरेको तुलाचनले बताए ।

अघिल्लो महिना चिनियाँ पक्षसँग भएको छलफलमा नाका खोल्न सकारात्मक रहेको चिनियाँ अधिकारीले बताएका थिए । दुई देशका सरकारी अधिकारीबीच मुस्ताङमा सम्पन्न द्विपक्षीय बैठकमा कोरला नाका खोल्ने नेपाली पक्षको प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिँदै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको थियो ।

यो नाका व्यापारिक दृष्टिकोणले महत्वपूर्ण छ । नाका सञ्चालनमा आए प्रदेश नम्बर ४ मा सामान आयात गर्न सजिलो हुन्छ । अहिले चीनसँगको केरुङ नाकामात्र सञ्चालनमा छ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन ।

नेपालतर्फ पनि प्रहरी चौकी, भन्सार, क्वारेन्टाइन, ड्राइपोर्टलगायत पूर्वाधार निर्माण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । सीमा क्षेत्रसम्म चीनले पक्की सडक ल्याएको छ । नेपालतर्फ पनि बेनीदेखि जोमसोम हुँदै कोरलासम्म ग्राभेल सडक निर्माण भइसकेको छ ।

सुरक्षा संवेदनशीलता देखाउँदै यो नाका सन् २००३ मा बन्द भएको थियो । मुस्ताङसँग जोडिएको यो नाका व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भन्दै सञ्चालनमा ल्याउन संसद्को विकास समितिले यसअघि नै सरकारलाई निर्देशन दिएको थियो । सीमासम्मै यातायात सुविधा पुगेको र भू–बनोट हेर्दा कोरला तत्काल खोल्न उपयुक्त ठहर गर्दै संसद्को विकास समितिले प्रधानमन्त्रीलाई यसअघि नै प्रतिवेदन बुझाएको थियो ।

भारतको नाकाबन्दीपछि कोरला सञ्चालनमा ल्याउनुपर्ने बहस हुँदै आएको छ । प्रारम्भिक रूपमा तल्लो तहमा सहमति भएपछि नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएर उच्च तहबाटै कूटनीतिक पहल हुनुपर्ने सरोकारवाला बताउँछन् । नाका सञ्चालनमा आए विशेष गरी प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरालगायत क्षेत्रलाई सहज हुनेछ ।

नाका खोले कालीगण्डकी करिडोरबाट चीन र भारतबीच व्यापार हुन सक्छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर करिडोर निर्माणाधीन छ । भारतदेखि चीन पुग्ने छोटो सडक (कालीगण्डकी करिडोर) पनि निर्माणाधीन रहेकाले व्यापारिक दृष्टिकोणले कोरला उपयुक्त मानिन्छ । चीन–भारत जोड्न कोरला–जोमसोम–बेनी–बागलुङ–गुल्मी–पाल्पा हुँदै जाने कालीगण्डकी करिडोरको ट्र्याक स्तरोन्नति भइरहेको छ ।

दुईपटक सीमा क्षेत्रमा हुने व्यापार मेलाको अवसरमा नाका खुल्छ । अघिपछि बन्द हुन्छ । वर्षको दुईपटक सीमा क्षेत्रबाट तीन किलोमिटरको दुरीमा तिब्बततर्फ मेला लाग्दै आएकोमा सो मेला लोमान्थाङमा पनि सञ्चालन गर्न नेपाली पक्षले आग्रह गर्दै आएको छ । हरेक वर्षको असार र असोजमा लाग्ने मेलामा उपल्लो मुस्ताङका स्थानीयले वर्षभर पुग्ने सामान किन्छन् । मेलामा निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशुदाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायत सामान किनबेच हुन्छ । अरू बेला नाका बन्द रहे पनि व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाउँछन् ।

उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ ।

सीमा क्षेत्रमा चिनियाँ सेनाले सिसी क्यामेराबाट नेपाली भूमिको निगरानी गरिरहेको छ । सिसी क्यामेरा चलाउन सौर्य ऊर्जा प्रयोग गरिएको छ । कोरला नाका समुद्र सतहदेखि चार हजार ६ सय ५० मिटरको उचाइ छ ।

प्रकाशित: ५ मंसिर २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App