१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘लडाकु’ बाट सेनामा रुपान्तरण

फाइल तस्बिर

काठमाडौं- तत्कालीन सरकार र माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते बृहत् शान्तिसम्झौता भयो । दिगो शान्तिका लागि देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्ने र मुलुकमा संविधानसभामार्फत नयाँ संविधानले लेख्ने सहमति भयो । तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु र हातहतियार व्यवस्थापन कार्यतालिका पनि बन्यो । त्यो बेलाका सात राजनीतिक दल र माओवादी बिद्रोहीबीच सहमति भएपछि शान्तिसम्झौतामो हस्ताक्षर भएको हो । सम्झौताले संविधानसभा निर्वाचन भएको छ महिनाभित्र माओवादी लडाकु र हतियार व्यवस्थापन गरिसक्ने स्वीका-यो । तर हतियार र लडाकु व्यवस्थापनमा छ वर्षभन्दा बढी समय लाग्यो ।

एक हजार तीन सय १३ लडाकुको नेतृत्व गरेर नेपाली सेनामा छिरेका यमबहादुर अधिकारी अहिले महासेनानी भएका छन् ।

दलीय सहमतिअनुसार २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भए पनि शान्तिप्रक्रियाको महŒवपूर्ण पक्षका रुपमा हेरिएको लडाकु समायोजन र हतियार व्यवस्थापनका लागि मुलुकले २०६९ असार २० सम्म कुर्नुप¥यो । लामो छलफल र बहसपछि दलीय सहमतिमा नेपाली सेनामा माओवादी लडाकु समायोजनका लागि २०६९ असार २० बाट छनोट प्रक्रिया सुरु भयो ।

शिविरमा राखिएका १९ हजारभन्दा बढी लडाकुमध्ये ३ हजार १ सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए । त्यसमध्ये १ हजार ३ सय १३ लाई मात्र समायोजनको बाटो खुल्यो । सैन्य कमाण्डर यमबहादुर अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठायो । समायोजनमा गएका अधिकारी हाल नेपाली सेनाको महासेनानी छन् । त्यस्तै लडाकुबाट छिरेका १३ सेनानी, ३० सहसेनानी र २४ उपसेनानी छन् । सेनामा लडाकुबाट गएका मध्ये अधिकृत ७०, पदिक ५९ र जवान १ हजार १ सय ८४ जना छन् । उनीहरु सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

माओवादी शान्तिप्रक्रियामा आएपछि लडाकुलाई सातवट मुख्य शिविरमा राखिएको थियो । अधिकारी इलाम चुलाचुली शिविरका कमान्डर थिए । उपसेनानीमा प्रवेश पाएका अधिकारी प्रमुख सेनानी हुँदै महासेनानी भएका हुन् । लडाकुबाटै नेपाली सेनामा छिरेका वासुदेव घिमिरे र पदम तामाङसमेत प्रमुख सेनानीमा कार्यरत छन् । प्रमुख सेनानीभन्दा माथिल्लो पदमा बढुवाका लागि मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने हुँदा सैनिक मुख्यालयले रक्षा मन्त्रालयमार्फत सिफारिस गरेको थियो । पूर्वसहमतिअनुसार समायोजित लडाकुमध्ये एकलाई महासेनानी र दुईलाई प्रमुख सेनानी बनाइएको हो । अधिकारी हाल नेपाली सेनाको राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन् । ‘जनयुद्ध’ मा ८१ वटा भिडन्तमा सरिक भएका अधिकारीले २६ वटा लडाइको कमाण्ड गरेका थिए । त्यसकै आधारमा माओवादीले अधिकारीकै नेतृत्वमा लडाकुलाई समायोजनमा पठाएको थियो ।

त्यस्तै पुष्पकमल दाहालका सुरक्षागार्ड रहेका वीरेन्द्र बुढामगर पनि उपसेनानी पदमा कार्यरत छन् । समायोजनपछिको तालिममा पुरुषतर्फ बाजुरा साप्पाटाका केशवराज धामी र महिलातर्फ सोलुखुम्बु कांगेलकी बिनाकुमारी बस्नेत उत्कृष्ट भएका थिए । तालिम पूरा गरी औपचारिक रुपमा सेवा सुरु गर्नेमध्ये वासुदेव घिमिरे र माधव घिमिरे सहोदर दाजुभाइ तथा रामबहादुर लामा र बिमला पन्त लामा श्रीमान–श्रीमती हुन् ।

सेनाले समायोजमा परेका लडाकुलाई वरिष्ठता, सेवाअवधि, शिक्षालगायत आधारमा पद दिएको छ । सेनाका अनुसार समायोजनपछि आधारभूत तालिम सकेका २५ जना उपसेनानीलाई थप ६ साताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइएको थियो । सहसेनानी र सेनानीका उम्मेदवारलाई ६ साताको प्रथम चरणको तालिमपछि सहसेनानी दर्जामा पदोन्नति गरिएको हो । छ साता कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स (सिसिएससी) तालिमको परिमार्जित सिलेबल्स र एक साता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जनालाई सहसेनानी र बाँकी १६ अधिकृतलाई सेनानी दर्जा दिई विभिन्न एकाइमा पठाइएको हो ।

सरकार र माओवादीबीच २०६३ मंसिर २० गते भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौतामा लडाकु हुनका लागि ०६३ जेठ ११ अघि भर्ती भएको र ०४५ जेठ १२ गतेभन्दा पहिले जन्मिएको हुनुपर्ने प्रावधान राखिएको थियो । सोही प्रावधानलाई टेकेर लडाकु समायोजन नीति तय गरिएको थियो ।

प्रकाशित: ५ मंसिर २०७५ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App