७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगन्जबाट चार महिनामा ५३ अर्ब राजस्व

वीरगन्ज भन्सार कार्यालयको ‘आइसिपी’ नाका। तस्बिरः रितेश/नागरिक

वीरगन्ज - देशको प्रमुख व्यापारिक सहर वीरगन्जस्थित दुई भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५३ अर्बभन्दा बढी राजस्व संकलन भएको छ । आइसिपी तथा साबिक भन्सार नाका गरी वीरगन्ज भन्सार कार्यालयबाट लक्ष्यको तुलनामा १४.४१ प्रतिशत बढी राजस्व उठेको छ । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ९९.२७ प्रतिशत राजस्व संकलन भएको छ। 

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको चार महिनामा ४३ अर्ब १९ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको त्यहाँका सूचना अधिकारी सन्तोष यादवले बताए । उनका अनुसार उक्त कार्यालयलाई ३७ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिइएको थियो । त्यसैगरी, सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई १० अर्ब ८५ करोड ४९ लाख रुपैयाँको लक्ष्य तोकिएकोमा १० अर्ब ७७ करोड ६६ लाख रुपैयाँ असुली गरेको यहाँका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए। 

वीरगन्ज भएर विभिन्न मालवस्तुको आयात बढेकाले यहाँका दुई भन्सार कार्यालयको राजस्व लक्ष्यको तुलनामा ११ प्रतिशत बढी उठेको हो । आर्थिक वर्षको सुरुमा निर्धारित लक्ष्यलाई भन्सार अधिकृतहरुले पूरा गर्न मुस्किल पर्ने बताएका थिए । अहिले भने असुलीलाई उनीहरुले सन्तोषजनक बताएका छन् । वीरगन्ज भन्सार भएर विभिन्न किसिमका कार, जिप भ्यानजस्ता गाडी, अन्य सवारी साधन, पेट्रोलियम इन्धन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, प्लास्टिकका सामान, औषधी र खाद्यान्न जस्ता वस्तुको आयात उल्लेखनीय छ । त्यस्तै सुक्खा बन्दरगाह भएर औद्योगिक कच्चा पदार्थको रुपमा मगाइने विभिन्न किसिमका फलाम, चिनी, हलुका येप, पोलिथिन दाना, कच्चा रक्सी, वाइन, मरिच र जिप–कार–भ्यानजस्ता सामानबाट राजस्व अधिक प्राप्त भएको छ। 

वीरगन्ज भन्सार कार्यालयले असोजमा अहिलेसम्मको बढी राजस्व संकलन गरेको छ । महिनाको लक्ष्य १२ अर्ब एक करोड २४ लाखको तुलनामा ३७.७५ प्रतिशत बढीले १६ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य पछ्याउँदै साढे ९९ प्रतिशत पु-याएको छ । दुई अर्ब ८८ करोड २९ लाख लक्ष्य रहेकोमा दुई अर्ब ७५ करोड २६ लाख संकलन गरेको छ । पछिल्लो समय अमेरिकी मुद्रा (डलर)को भाउ बढेर त्यसबाट समेत विदेशबाट आयातित मालवस्तुको राजस्वमा केही योगदान बढेको भन्सार अधिकृत बताउँछन्। 

प्रकाशित: ५ मंसिर २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App