७ वैशाख २०८१ शुक्रबार
अन्य

मौसम सुध्रियो, फर्केन मनसुन

रामशरण तामाङ

काठमाडौं– बडादसैं नजिकिँदै गर्दा राजधानीबासी आफ्नो गृहजिल्ला प्रस्थानका लागि काठमाडौं उपत्यका छाड्दैछन् । यसपटकको लम्बिँदो मनसुनले भने उनीहरूलाई साथ दिइरहेको छैन ।

मनसुन लम्बिइरहँदा टाढा गाउँमा जानुपर्नेलाई मुस्किल पर्ने देखिएको छ । मनसुनका कारण पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेका समाचार आइरहेका छन् । दुई दिनदेखि भइरहेको वर्षाले दसैं मान्न घर जानेलाई थप चिन्तित तुल्याइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एकदुई दिनमा मौसममा उल्लेख्य सुधार भए पनि अहिलेकै जस्तो अवस्था भने रहनेछ । मौसममा सुधार भए पनि मनसुन भने टुंगिइहाल्ने छैन ।

‘अहिल्यै मनसुन कहिले सकिन्छ भन्न सक्ने अवस्थामा हामी छैनौं तर महाशाखाका अनुसार मनसुन निरन्तर भएका कारण अझै भारी वर्षा हुन सक्ने देखिन्छ,’ जलवायु विज्ञ सुवास रिमालले भने ।
सामान्यतः जेठ २८ मा मनसुन नेपालमा आउने गर्छ । तर यस वर्ष पाँच दिन ढिलो यसको आगमन भएको थियो । यही ढिलाइका कारण फर्कने समय पनि लम्बिएको रिमालले स्पष्ट पारे ।

नेपालमा मनसुन हट्न ढिलाइ भएको यो नै पहिलोपटक भने होइन । गत वर्ष जेठ ३१ मा सुरु भएको मनसुन असोज १८ मा मात्र हटेको थियो । महाशाखाका अनुसार मनसुन ढिलोसम्म रहन थालेको १८ वर्षयता हो ।

मौसमी प्रवृत्तिको विश्लेषणका आधारमा यस वर्षको मनसुन असोज १८ सम्म वा अझ अगाडिसम्म जान सक्ने रिमालले जानकारी दिए ।
 

प्रकाशित: १० आश्विन २०७३ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App