coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगरबाट शनिबारदेखि माउण्टेन फ्लाइट

विराटनगर– विराटनगरबाट माउण्टेन फ्लाइट सञ्चालनको तयारी गरिएको छ। मंसिर ८ गतेदेखि विराटनगरबाट माउण्टेन फ्लाइट सञ्चालन गर्न लागिएको विराट होलिडेडले जनाएको छ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराट होलिडेज प्रालिका अध्यक्ष भविशकुमार श्रेष्ठले शनिवारदेखि माउण्टेन फ्लाइट सञ्चालनको तयारी गरिएको जानकारी दिए। श्रेष्ठका अनुसार विराट होलिडेज प्रालिले यति एयरलाइन्सको विमान चार्टर गरेर माउण्टेन फ्लाइट गर्न लागेको हो। विराटनगरका पर्यटन व्यवसायीले बर्षौदेखि माउण्टेन फ्लाइट सञ्चालनका लागि सरकारलाई आग्रह गरे पनि आश्वासन बाहेक केहि पाएका थिएनन। जुन पर्यटन मन्त्री आए पनि आश्वासन दिने तर, कार्यान्वयन नगर्ने परिपार्टीले माउण्टेन फ्लाइट नै अन्यौलमा परे पछि निजी क्षेत्र आफैले माउण्टेन फ्लाइट सञ्चालन गर्ने तयारी गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले विराटनगरबाट माउण्टेन फ्लाइट चा“डै सञ्चालन गर्ने विराटनगरका व्यवसायीलाई आश्वासन दिएका थिए। अधिकारीले विराटनगरबाट पोखरा तथा पूर्वी पहाडी जिल्लामा पनि चाडै उडान सुरू गर्ने आश्वासन दिएका थिए। पर्यटन मन्त्रीको आश्वासन ७ महिना वितिसक्दा पनि कार्यान्वयनमा नआएपछि विराटनगरका पर्यटन व्यवसायी आफै माउण्टेन फ्लाइट सञ्चालनमा अग्रसर भएका हुन्।

विराटनगरबाट सञ्चालन हुने माउण्टेन फ्लाइट एक घण्टाको हुने छ। माउण्टेन फ्लाइटबाट पूर्वका मनोरम हिमाली दृश्य अबलोकन गर्न पाइने छ। विराटनगरबाट उडेको विमानले पूर्वको कन्चनजंघा देखि सगरमाथा हु“दै ल्होत्से हिमालसम्मको अवलोकन गर्न पाइने छ। माउण्टेन फ्लाइटका लागि ९ हजार ९ सय रुपैयाँ भाडा निर्धारण गरिएको विराट होलिडेजले जनाएको छ।

विराटनगरबाट हुने माउण्टेन फ्लाइटले पूर्वको पर्यटन व्यवसायलाई टेवा पुग्ने विराटनगरका व्यवसायीहरूको अपेक्षा छ। विराटनगरबाट हुने माउण्टेन फ्लाइटमा सिमावर्ती भारतीय सहरहरू र बंगलादेशका पर्यटकहरूले उडान भर्ने विराट होलिडेजका भागवत नेपालले बताए। माउण्टेन फ्लाइट मात्रै हैन पोखरा र लुक्ला उडानका लागि पनि निजी विमान कम्पनीहरूलाई आग्रह गरिएको विराट होलिडेजले जनाएको छ।

माउण्टेन फ्लाइटका लागि यति एयरलाइन्स तयार भइसकेको अन्य विमान कम्पनीलाई विराटनगर, पोखरा र विराटनगर लुक्ला उडानका लागि अनुरोध गरिएको व्यवसायीहरूले बताए। उनिहरूले चाडै विराटनगरबाट पोखर र लुक्ला उडान भर्न निजी जहाज कम्पनीहरू तयार हुने विश्वास व्यक्त गरे। प्रदेशको अस्थायी राजधानी भएर पनि विराटनगरबाट पूर्वी पहाडी जिल्लाहरूका विमान स्थलहरूमासमेत सरकारले उडान सञ्चालन गर्न सकेको छैन्।

प्रकाशित: ४ मंसिर २०७५ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App