८ वैशाख २०८१ शनिबार
समाज

धमाधम क्रसर खोल्दै जनप्रतिनिधि

सिन्धुलीको सुनकोसी गाउँपालिकामा सञ्चालित एक बालुवा प्रशोधन केन्द्रले सुनकोसीबाट उत्खनन् गरी संकलन गरेको बालुवा गिट्टी। तस्बिर : अनिल/नागरिक

सिन्धुली – जनप्रतिनिधि निर्वाचित हुँनु अगाडि यहाँको सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्न मात्रै बालुवा प्रशोधन उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचिन भएको एक वर्ष नबित्तै आधादर्जनबाट डेढ दर्जन बढी क्रसर तथा बालुवा उद्योग खुलेका छन्।

आन्तरिक आयस्रोत बढाउन भन्दै जनप्रतिनिधिले धमाधम क्रसर उद्योग खोल्न दिएपछि यतिबेला सुनकोसीको किनारमा क्रसरै क्रसर भएका छन्। जनप्रतिनिधिकै आफ्ना आफन्तको नाममा धेरैजसो क्रसर उद्योग रहेको स्थानीय बताउँछन्। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा क्रसर खोल्न संलग्न  देखिएका छन्।

सुनकोसी क्षेत्रमा पछिल्लो समय अत्याधिक क्रसर खोलेर दैनिक सयौ ट्रिफर बालुवा बेच्ने काम भएको छ, सुनकोसी गाउँपालिकाका कपिल कोइरालाले भने,‘तत्काल नियन्त्रण नभएर क्रसरकै कारण विपी राजमार्ग समेत जोखिममा पर्छ।’ जनप्रतिनिधि निर्वाचित भएपछि मात्रै १८ ओटा भन्दा बढी क्रसर खुलेका छन्। वडा कार्यालय हुँदै गाँउपालिकाले क्रसर राख्न सिफारिस दिएपछि क्रसर खुल्ने क्रम बढेको स्थानीय बताउँछन्। जनप्रतिनिधि निर्वाचित हुँनुभन्दा अगाडिनै ठेकेदार र व्यवसायीनै निर्वाचित भएका हुन्, एक स्थानीयले भने,निर्वाचित भएपछि उनीहरूकै रोहबरमा सुनकोसी दोहन गरी विकराल अवस्था ल्याइएको छ, नियन्त्रण गर्न कसैले पनि ध्यान दिएनन्।

जनप्रतिनिधिले आफ्ना आफन्तको नाममा क्रसरका लागि अनुमति दिएका छन्। सुनकोसी गाउँपालिकाका ७ वडामै क्रसर राख्ने अनुमति दिएको र ७ मध्ये ६ ओटा वडामा क्रसर सञ्चालनमा आइरहेको छ। हामीले क्रसर खोल्न दिएका होइनाैं, बालुवा प्रसोधन उद्योगका लागि मात्रै सिफारिस भइरहेको छ, त्यही अनुसार खुलेका छन्, सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले भने,‘गाउँपालिकाभरी हाल करिब १७ ओटा बालुवा प्रशोधन उद्योग सञ्चालन भएका छन्, केही थप सञ्चालन गर्न सिफारिस लिएर गएका छन्।’

सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा प्रायजसो स्थानीय तहले बालुवा प्रशोधन उद्योग भन्दै क्रसरलाई अनुमति दिएका छन्। आन्तरिक आम्दानीको दरिलो स्रोत हुने भन्दै जथाभावी उत्खनन् गर्नका लागि धमाधम जनप्रतिनिधिले सिफारिस दिइरहेका छन्। यहाँको गोलञ्जोर गाउँपालिकाले पनि दुई ओटा बालुवा प्रशोधन उद्योगका लागि सिफारिस दिइसकेको छ। ति दुई उद्योगले काम सुरु गर्ने तयारीमा छन्। हामीले हालसम्म २ वटालाई मात्रै अनुमति दिएका छौ, गाउँपालिकाका सुचना अधिकारी तिर्थ भण्डारीले भने,‘खुलिसकेका छैनन् प्रक्रियामै छन्।’ नियमअनुसार बालुवा प्रशोधन उद्योगले गिट्टी प्रशोधन गर्ने तथा फुटाउने गर्न पाउँदैन तर अधिकांश बालुवा प्रशोधन उद्योग भन्दै खोलिएका उद्योगले गिट्टी र बालुवा दुबै बेचिरहेका छन्।

गाउँपालिका भित्र अत्याधिक क्रसर खुलेको भन्दै सुनकोसी गाउँपालिकाको चर्चा बढेपछि हाल नयाँ दर्तालाई सिफारिस बन्द गरिएको छ  हामीले नयाँ दर्ता बन्द गरिसकेका छौं, उपाध्यक्ष मोक्तानले नागरिकसँग भने। क्रसर र बालुवा प्रशोधन उद्योगमा फरक हो, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख नबराज राउतले भने,‘जिल्लाभर क्रसर ३ ओटा मात्रै छन् अन्य सबै बालुवा उद्योग हो। बालुवा उद्योग खोल्नका लागि आइ.इ.ई गर्नुपर्दैन, आइ.इ.ई गरेका खोला तथा नदीमा राख्न पाइने व्यवस्था छ तर क्रसर खोल्नका लागि आइ.इ.ई अनिवार्य छ।’

गाउँपालिकाबाट बालुवा उद्योग दर्ता गर्न सहज भएपछि अधिकांश स्थानीय तहमा बालुवा उद्योग दर्ता भएका छन्। बालुवा उद्योगको सिफारिस लिइ सोही अनुसार बालुवा उद्योगनै नामाकरण गरी उद्योग सञ्चालन गरेपनि क्रसरकै काम गरिहेको स्थानीयको गुनासो छ। मरिन गाउँपालिकाका सुचना अधिकारी राजकुमार गोले गाउँपालिकाले एउटा बालुवा प्रशोधन उद्योग खोल्न सिफारिस दिइसकेका बताउँछन्।

प्रकाशित: ४ मंसिर २०७५ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App