८ वैशाख २०८१ शनिबार
अर्थ

नेवानिद्वारा २८० सिटे दुई एयरबस किन्न ग्लाेबल टेन्डर

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला आकार (वाइड बडी) जहाज खरिद गर्न सोमबार अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ।

सरकारले दुइटा वाइड बडी खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि बसेको निगम सञ्चालक समिति गत शुक्रबारको बैठकले ग्लोबल टेन्डर आह्वान गर्न व्यवस्थापनलाई निर्देशन दिएको हो ।

‘दुईथान वाइड बडी जहाज खरिद गर्न सोमबार (असोज १० गते) ग्लोबर टेन्डर आह्वान गर्दै छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, ‘सोमबार सार्वजनिक हुने टेन्डर भर्ने म्याद ४५ दिन (आगामी कात्तिक ९ गते) सम्म तोकिएको छ ।’

– एयरबसमा उत्पादिन २८० सिटसम्मका दुईथान ए३३०–२०० जहाजमा रोल्स रोयसका इन्जिन हुनुपर्ने
– जहाज निर्माता, बैंक, लिजिङ कम्पनी र वायुसेवा कम्पनी सहभागी हुन पाउने टेन्डरको म्याद ४५ दिन

उनका अनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका जेट जहाज हुनुपर्ने र तिनमा बेलायती जहाज इन्जिन निमार्ता कम्पनी

रोल्स रोयसमा उत्पादित इन्जिन जडान भएको हुनुपर्ने सर्त टेन्डरमा राखिएका छन् । जहाज निर्माता, बैंक, जहाज भाडामा दिने ‘लिजिङ कम्पनी’ र वायुसेवा कम्पनीहरूले टेन्डरमा सहभागी हुन पाउने शर्माले जानकारी दिए । ‘हामी सकेसम्म सन् २०१४ यता बनेका ए३३०–२०० जहाज लिन्छौं,’ उनले भने, ‘यसमा अर्को विकल्प के दिएका छौं भने जहाज १ हजार घन्टाभन्दा कम उडेको हुनुपर्ने छ ।’

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी, वायुसेवा कम्पनी र विदेशी ठूला बैंक पनि प्रतिस्पर्धामा उत्रिन सक्नेछन् । विदेशका ठूला बैंकले पनि यस्ता जहाज खरिद गरेर वायुसेवा कम्पनीलाई भाडामा दिने गरेका छन् ।
निगमले आगामी २०७४ असोजमा पहिलो वाइड बडी र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गराउने गरी काम गरिरहेको छ । एयरबसमा उत्पादित ए३३०–२०० सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने उसको योजना छ ।

वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ । निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्छ ।

दुईथान वाइड बडी जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले असोज ६ गते वायुसेवा निगमलाई यससम्बन्धी पत्र पठाएको थियो । जसमा दुईथान वाइड बडी जहाज खरिद गर्न चाहिने २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार रहेको उल्लेख छ ।
अर्थको जमानीपत्र आउनुअघि गत भदौ २९ मै कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुइटा वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो । कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि कोषले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ ।

सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ । यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ । सरकारी संस्थाबाहेक निजी क्षेत्रका ‘क’ वर्गका केही वाणिज्य बैंकहरूले पनि जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको बताउँदै आएका छन् ।

‘सञ्चय कोष ऋण दिन तयार छ र सरकार त्यसमा जमानी बस्न तयार भएपछि जहाज खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्न लागेका हौं,’ प्रवक्ता शर्माले भने, ‘निगम इतिहासमै पहिलो पटक यति ठूलो निर्णय भएको हो । अब भने दुईथान वाइड बडी जहाज काठमाडौं आउने निश्चित भयो ।’

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत ‘लङ हल’ गन्तव्यमा उडान गरिसकेको छ । दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ । यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ ।

निगमले यसअघि एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान जहाज खरिद गर्न सञ्चय कोषसँगै १० अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले गएको १५ महिनामा सावाँ र ब्याज गरी कोषलाई १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता गरिसकेको छ ।

निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो । कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो । त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिइरहेको छ ।

अब त्यसमा पनि घटाउँदै ९ प्रतिशतमा दिन कोष तयार रहेको छ । निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ । १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौताअनुसार हालसम्म पाँच किस्ता चुक्ता भएको छ । अब निगमले ५५ किस्ता तिर्न बाँकी छ ।

प्रकाशित: १० आश्विन २०७३ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App