१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जनप्रतिनिधि सुविधाभोगी, करदाता दुःखीः व्यवसायी

बुटवल — संघीयतासँगै तीन तहको सरकारका कारण आफूहरु दोहोरो करको मारमा  परेको र बृद्धि गरीएको कर पनि जनप्रतिनिधिकै सेवा सुविधामा खर्च गर्ने परिपाठी बढेको भन्दै यहाँका व्यवसायीले जनप्रतिनिधिको आलोचना गरेका छन्।

कर सप्ताहका अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रियाका सहभागीले जनताले तिरेको कर जनताकै हित र विकासमा खर्च गर्न माग गरे। करको दर बढाइए पनि सेवा सुविधामा वृद्धि हुन नसकेको र व्यवसायमैत्री कर प्रणाली निर्माण हुन नसकेको व्यवसायीको गुनासो छ। 

राष्ट्रपतिदेखि मेयरसम्मलाई करोडौका बिलासी गाडी खरीदमै जनताले तिरेको कर खर्च गर्ने हो भने विकास र समृद्धि नारामा मात्रै सिमित रहने छ।एकै पटक हजार प्रतिशत सम्म व्यवसाय कर बढाउने र त्यही पैसाबाट जनप्रतिनिधिले गाडी चढ्ने हो भने कसरी देशको अर्थतन्त्र बलियो हुन्छ? –व्यवसायी


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले कर तिर्ने व्यवसायीलाई दुःख दिएर कर लिने तर अबैध कारोबारबाट अकुत सम्पत्ति आर्जन गर्नेहरुलाई करको दायरामै नल्याउने अवस्था अन्त्य नभए सम्म मुलुकको समृद्धि सम्भव नभएको बताए। ‘एकै पटक हजार प्रतिशत सम्म व्यवसाय कर बढाउने र त्यही पैसाबाट जनप्रतिनिधिले गाडी चढ्ने हो भने कसरी देशको अर्थतन्त्र बलियो हुन्छ,’ श्रेष्ठले भने। 

संघका अध्यक्ष खिमबहादुर हमालले कर प्रणाली सरलीकरण गर्नु पर्नेमा जोड दिए। आर्थिक कारोबार बढे कर पनि बढने भन्दै उनले कर रहरले तिर्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिए।  कर तिर्ने उद्योगी व्यवसायीले मात्रै हो भन्ने सरकारी मानसिकतामा परिवर्तन गर्नुपर्ने खाँचो औल्याउदै उनले जनताबाट संकलित कर उत्पादनमूखी क्षेत्रमा खर्च गर्नु पर्नेमा जोड दिए। 

संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुले करको दायरा बढाउनुको साटो दोहोरो कर लगाएर उद्योगी व्यवसायीलाई समस्यामा पार्ने काम भइरहेको बताए। केन्द्र सरकारले लगाएको करमा स्थानीय तहले पनि कर लिदा व्यवसायी दोहोरो मारमा परेको भन्दै कसजुले न्यायोचित कर प्रणाली लागू गर्न आग्रह गरे। रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष माधव पौडेलले कर छलीलाइ रोक्दै करको दायरा बढाउन माग गरे। 
व्यवसायी बिष्णु जीसीले राष्ट्रपतिदेखि मेयरसम्मलाई करोडौका बिलासी गाडी खरीदमै जनताले तिरेको कर खर्च गर्ने हो भने विकास र समृद्धि नारामा मात्रै सिमित रहने बताए। ‘यस्तै अवस्था रहीरहे व्यवसायीले मात्रै कर तिरीरहन नसक्ने र व्यापार व्यवसाय बन्द हुने अवस्था आउछ,’ उनले भने।

कर बृद्धि गरिए पनि जनताकालागि सेवा सुविधा बढ्नुको साटो नेता तथा जनप्रतिनिधिको सेवा सुविधामा खर्च भइरहेको भन्दै यस बिषयमा गम्भिर हुन प्रदेश तथा केन्द्र सरकारलाइ उनीहरुले आग्रह गरेका छन। संघका सचिव कमल पौडेल, पूर्व उपाध्यक्ष जयप्रकाश गुप्तालगायतले कर को दर बढे पनि सोही अनुरुपको सेवा सुविधा बढन नसकेको भन्दै  र व्यवसाय मैत्री वातावरण सृजना गर्न प्रदेश र संघीय सरकारसँग माग गरे। करका कर्मचारी देख्दा व्यवसायी भाग्ने अवस्थाको अन्त्य गरी स्वच्छाले कर तिर्ने वातावरण बनाउनु पर्नेम उनीहरुले जोड दिए। आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख अर्जुन ढकालले करदाताले तिरेको कर सहि ठाउमा प्रयोग हुनुपर्ने अन्तर्राष्टिय मान्यता र सिद्धान्त भएको बताए। 

 

प्रकाशित: ४ मंसिर २०७५ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App