७ वैशाख २०८१ शुक्रबार
समाज

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी। तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

रौतामाई गाउँपालिकाले रौताको समग्र विकासका लागि पटक पटक छलफल गर्दै बृहत गुरुयोजना नै तयार गरिरहेको छ। रौताको धार्मिक तथा पर्यटकीय विकासमा सहयोग गर्न छिमेकी स्थानीयतहरू त्रियुगा नगरपालिका, लिमुचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिकाले पनि सहकार्य गर्नेगरी साझा कार्यक्रम अघि बढाउँदै गरेको अवस्था छ। स्थानीयतह पुर्नसंरचना हुनुअघि जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने क्रममा रहेको रौतापोखरीलाई गाउँपालिकाले प्रमुख प्राथमिक्तामा राखेर विकास र प्रवद्र्धन गर्न लागेको अध्यक्ष गजेन्द्र खड्काले बताए।

उदयपुरकै महत्वपूर्ण धार्मिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसको विकास र प्रवद्र्धनमा आफूहरू जितेर आएदेखि नै जनप्रतिनिधिहरु लागी परेको अध्यक्ष खड्का बताउँछन्। ‘धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीले सिंगो जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलको प्रतिनिधित्व गरिरहेको छ’ खड्काले भने ‘यसलाई थप आकर्षक र महत्व दिन गाउँपालिकाले प्रमुख प्राथमिक्ता दिएर कार्यक्रम अघि बढाएको छ। छिमेकी स्थानीयतहका जनप्रतिनिधिले पनि साथ सहयोग दिइरहेका छन्।’

गाउँपालिकाले रौता पोखरीको विकास र समृद्धिका लागि यसअघि गठन भएर क्रियाशिल रहेका रौतामाई धार्मिक विकास संस्था, रौता पर्यटन विकास केन्द्र, रौता धार्मिक तथा पर्यटन केन्द्र, रौता सामुदायिक विकास केन्द्रलगायत आधादर्जन बढी संघसंस्थासँग पनि सहकार्य गर्दै आएको छ। अध्यक्ष खड्काका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले ९ लाख लगानी गरेर रौता पोखरीको विकास र प्रवद्र्धनको खाका समेट्ने गरी गुरुयोजना तयार गरेको छ। त्यसमा रौता पोखरी र आसपासको भूगोल, वनस्पति, जलाधार, वन्यजन्तु आदिको विस्तृत अनुसन्धानसमेत गरेको खड्काले बताए।

रौतामाईसँग भूगोल जोडिएको त्रियुगा नगरपालिकाको अर्को पर्यटकीय सम्भावना बोकेकोस्थल वडा नं. १६ को बेलदोभानदेखि रौतापोखरीसम्म जोड्ने गरी दुवै स्थानीयतहले साझेदारी गरेर केबलकार जडान गर्ने विषयमा छलफल निश्कर्षनजिक पुगेको छ। बागनङ्ग्रे गुफा, बेलदोभान झर्ना र केराखेतीको प्रमुख स्थल बेलदोभानमा बरुवा खोला किनारमा ड्याम कसेर सिंगो नगरपालिकालाई कृषि, विद्युत र पर्यटकीयस्थलको रुपमा विकसित गर्दै त्रियुगाले बेलदोभानलाई पर्यटकीयस्थल बनाउन गतवर्ष नै प्रस्ताव पारित गरिसकेको छ।

त्रियुगाको सो योजनासँग जोडेर रौतामाईले बेलदोभानलाई आधारशिविर बनाएर रौतापोखरीसम्म जान आउन केबलकार जडान गर्ने अध्ययन थालेको अध्यक्ष खड्काले बताए। केबलकार जडान गर्नका लागि बेलदोभानदेखि रौतापोखरीसम्म करिब ६.५ किलोमिटर दूरी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। बेलदोभानदेखि रौतापोखरीसम्म केबलकार जोड्ने हो भने विद्यमान मूल्यमा करिब ५ अरब रुपैयाँ लगानी गर्नुपर्ने प्रारम्भीक अध्ययनको रिपोर्ट छ। बेलदोभान–रौतापोखरी केबलकार विस्तारका लागि त्रियुगा नगर प्रमुख बलदेव चौधरीको आग्रहमा गोसाइकुण्ड केबलकार प्रालिसँगको साझेदारीमा सम्भाब्यता अध्ययन भइरहेको जानकारी पनि अध्यक्ष खड्काले दिएका छन्।

नीजि साझेदारी मोडलमा केबलकार निर्माण गर्न कूल लागतको ७० प्रतिशत हिस्सा निर्माण कम्पनीले बेहोर्ने र ३० प्रतिशत त्रियुगा र रौतामाईले बेहोर्ने सुरुवाती सम्झौता भएको छ। ३० प्रतिशतलाई सय प्रतिशत मानेर ६० प्रतिशत त्रियुगा नगरपालिका र ४० प्रतिशत रौतामाई गाउँपालिकाले लगानी गर्ने पनि प्रारम्भीक सम्झौता भएको छ। अध्ययन सकिएपछि आउने विस्तृत परियोजना प्रतिबेदन अनुसार रौतापोखरीलाई गुरुयोजना अनुसार अघि बढाउने निर्णय गाउँपालिकाको वार्षिक अधिवेशनले गरेको  छ।  

गुरुयोजनाले रौतापोखरीको धार्मिक तथा पर्यटकीय महत्वलाई पुरानै अवस्थामा फर्काउन पोखरीवरपरको भौतिक संरचना हटार ५ सय मिटरभन्दा तलको भागमा सार्नुपर्ने सुझाव दिएको अध्यक्ष खड्काको भनाई रहेको छ। हाल पोखरीसम्म पुग्न बिभिन्न संरचना, मन्दिरमा बली दिएको पाठा, परेवा र हाँसको रगत पोखरीमा गएर मिसिनेजस्ता समस्या हटाउनुपर्ने विज्ञहरुको रायअनुसार पुरानै संरचनामा फर्काउनुपर्ने गुरुयोजनाको राय छ।

पुरातत्व विभागका पूर्व सचिव भारत राउतको विचारमा रौतापोखरीको माथिल्लो भागमा बृद्ध र रौता मन्दिर निर्माण गर्नु आवश्यक छ। धार्मिक र पर्यटन विकासको नाममा मन्दिर र वालमा सिमेन्ट प्रयोग गरेर प्राकृतिक स्वरुप बिगारेकोमा उनलाई चिन्ता लागेको छ।

रौतापाखेरी पूर्वको इलामभन्दा राम्रो पर्यटकीय क्षेत्र बन्ने संभावना बोकेको भन्दै स्थानीय अगुवा कललबहादुर राईले तर, गन्तव्य पहिल्याउन चाहिने पहिलो माध्याम सडक भएकलो पहिले सडक सुधार गर्न आवश्यक रहेको बताए। रौतामाई धार्मिक विकास संस्थाका अध्यक्ष गिरिराज खतिवडा प्राचिन महत्वको रोता पोखरीको वर्णन बिष्णुपुराणमा पनि गरेको पाइएको भन्दै यो क्षेत्र पर्यटकीयसँगै उत्तिकै धार्मिक महत्वको रहेको बताए।

प्रकाशित: ४ मंसिर २०७५ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App